‘लुटिङ फ्यासिलिटी कसैलाई छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले जनप्रतिनिधिलाई लुटिङ फ्यासिलिटी दिनलाई नपठाएको बताएका छन् । उनले भ्रष्टाचार र लुटतन्त्र मच्चाउनका निम्ति शासन सत्तामा नपु¥याएको बताउँदै भ्रष्टाचारप्रति शून्य सहनशिलता बोलीमा होइन व्यवहारमा अपनाएको उद्घोषसमेत गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार गर्ने कसैलाई पनि छुट नहुने स्पष्ट पारे । ‘शासनमा रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटिङ फ्यासिलिटी दिएको भन्ने होइन । त्यो चिजको सुविधा हुँदैन,’ उनले भने, ‘स्वच्छता, पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्नेबितिक्कै मैले भन्ने गरेको छु कि – म यसमा कसैको अनुहार हेरेर निर्णय गर्दैन ।’ भ्रष्टाचारको आरोप लागेपछि सञ्चारमन्त्रीले राजीनामा दिएको केही समयपछि आयोजित कार्यक्रममा उनले कसैको पनि अनुहार नहेर्ने बताएका हुन् ।

‘सुशासनका निम्ति चाल्न पर्ने कदम यहाँहरूले देख्नै भएको छ । सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिचकिचाउँदिनँ,’ उनले भने, ‘अप्ठ्यारा त आउँछन्, अवश्य आउँछन्, कठिनाइ अवश्य आउँछन् । कहिले कहिले मान्छेहरूले भन्ने गर्छन् तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यही चालले’ मलाई त्यसको चिन्ता होइन ।’ आफू प्रणाली स्थापना गर्नका लागि काम गरिरहेको उनको दाबी थियो । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने भन्दा पनि आफ्नो मुख्य उद्देश्य भनेको एउटा प्रणाली स्थापित गर्ने हो ।

प्रधानमन्त्री ओलीले कसैले पनि लामो समय शासन नगर्ने र आफू पनि त्यस पक्षमा नरहेको बताए । उनले भने, ‘हजार वर्ष कसैले शासन गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय शासन गर्न दिँदै दिँदैन । जस्तै राम्रो गरे पनि धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन ।’

प्रतिक्रिया