बैतडीमा कांग्रेस धुलिखेलमा नेकपा

बैतडी । बैतडीका तीन वडामा भएको वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । तीन वडा मध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने एक वडामा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार विजयी भएका छन् ।

शनिबार बिहान सात बजेदेखि सञ्चालन भएको उपनिर्वाचन साँझ पाँच बजे सम्पन्न भएको थियो । जिल्लाको पुर्चौडी नगरपालिका–४ मा १ हजार ९ सय ९ जना मतदाता मध्ये १ हजार ३ सय ३० मत खसेको थियो । त्यसै गरी दोगडाकेदार गापा–४ मा १ हजार ८ सय ८ जना मतदाता मध्ये १ हजार ९८ मत खसेको थिए र सुर्नया गाउँपालिका–१ मा पनि ६ सय १९ मतदाता मध्ये ४ सय ३८ मत खसेका थिए । समग्रमा कुल मतदाताको ६६ दशमलव ९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

दोगडाकेदार–४ मा नेपाली कांग्रेस, नेकपा, राप्रपा, सुर्नया–१ मा नेपाली कांग्रेस, नेकपा र पुर्चौडी नगरपालिका–४ मा नेपाली कांग्रेस, नेकपा र एक जना स्वतन्त्रबीच प्रतिष्प्रर्धा भएको थियो । जसमध्ये दोगडकेदार र सुर्नया गाउँपालिकाको वडामा नेपाली कांगेसका र पुर्चौडी नगरपालिकाको वडामा नेकपाका उम्मेदवारले विजयी हासिल गरेका छन् । दोगडाकेदार–४ मा सय मतले नेकपाका उम्मेदवार नरेन्द्रप्रशाद भट्टलाई पछि पार्दै नेपाली कांग्रेसका सुरेन्द्र भट्ट विजयी भएका हुन् । खसेको मतको सुरेन्द्रले ५ सय ८४ मत र नरेन्द्रले ४ सय ८४ मत पाएका थिए भने राप्रपा संयुक्तले ६ र २४ मत मदर गएका थिए ।

सुर्नया–१ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले नेकपाका धनबहादुर चन्दलाई चार मतले पछि पार्दै विजयी हासिल गरेका छन् । जम्मा खसेको मतको धनबहादुर चन्दले २ सय १५ र गजेन्द्र चन्दले २ सय १९ मत हासिल गरेका थिए भने चार मत बदर गएका थिए । यसै गरी पुर्चौडीमा नेकपाका शैलेन्द्र धानुकले नेपाली कांग्रेसका गोविन्दवहादुर धामीलाई १ सय ५ मतले पछि पार्दै विजयी हासिल गरेका छन् । खसेको मतको धामीले ५ सय ५८ र धानुकले ६ सय ६३ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवारले ३५ र ७४ मत बदर गएका निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ । मतगणना शनिबार राती नै सम्पन्न गरिएको थियो ।

त्यसैगरी काभ्रेको धुलिखेल नगरपालिका–२ को उपचुनावमा ८ सय ६७ मतका साथ नेकपाका उम्मेदवार देवप्रसाद कोइराला वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार द्रोणबहादुर खत्रीले ५ सय ८२ मत ल्याएका थिए । शनिबार भएको मतदानमा १ हजार ८ सय ७७ मतदातामध्ये १ हजार ५ सय २ मत खसेकोमा राजपाले १५, राप्रपाले ६ मत प्राप्त गरे भने ३२ मत बदर भएको थियो ।

तत्कालीन नेकपा पार्टी बन्नुअघि एमालेबाट उम्मेद्वार भएर विजयी भएका स्व.राजन कोइरालाले ८ सय ६६ मत ल्याएका थिए । उपचुनावमा १ हजार ५ सय २ मत खसेको थियो । जसमा महिला ७ सय ५८ जना रहेका छन् भने पुरुष ७ सय ४४ जना रहेका छन् । १ हजार ८ सय ७७ मतदाता मध्ये ८० प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले जानकारी दिए ।

धुलिखेल नगरपालिका–२ को निर्वाचनका लागि सेतिदेवी मावी माझथुममा (क) र (ख) दुई वटा मतदान केन्द्र कायम गरिएको थियो । (क) बुथमा क्रमशः १ देखि ९ सय ५२ सम्म र ९ सय ५३ देखि १ हजार ८ सय ७७ मतदाताले (ख) बुथमा मतदान गरका थिए । सो वडामा वडाध्यक्षका लागि चार दलले उम्मेदवारी दिएका थिए । नेकपाबाट विजयी देवप्रसाद कोइराला ८ सय ६७, र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट दर्णबहादुर खत्रीले ५ सय ८२, राष्ट्रिय जनता पार्टी नेपालका कृष्णबहादुर तामाङले १५ मत र राप्रपा संयुक्तका बासु थापाले ६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया