काठमाडौं । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरूले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरूले बढी रकम तिरेर कालोबजारीमा औषधि किन्नुपरेको गुनासो गरेका छन् ।
सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिई मूल्य वृद्धि गरेपछि बिरामीले बाध्य भएर महंगोमा औषधि किनेर डायलासिस गर्नुपरेको गुनासो गरेका हुन् । मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलासिस गर्ने प्रविधि सिएपिडि फ्युडको मूल्य प्रति प्याकेट ४ सय ८ निर्धारण गरेको तर बिक्रेताले ४ सय ३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिको बढी मूल्य तिर्नुपरेको बताए ।
उक्त औषधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डिके मेडी सेल्सले सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसक्ने भनेर बिक्री रोकेपछि ज्यान जोगाउन बाध्य भएर बिरामीले पैसा तिर्नुपरेको उनले बताए । सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट स्वीकृतपत्र लिएर बिक्रेताबाट निःशुल्क औषधि लिँदै आएका बिरामीले औषधि नपाएपछि सोझै कम्पनीसँग सरकारले दिने रकमबाट प्रति प्याकेट थप २२ तिरेर औषधि किन्नुपरेको सुवेदीले जानकारी दिए ।
प्रति बिरामी दैनिक तीन प्याकेट औषधि लाग्नेमा निःशुल्क प्राप्त हुनुपर्ने औषधिलाई बिरामीले दैनिक ६६ का दरले मासिक एक हजार ९ सय ८० थप तिर्नुपरेकाले अस्पतालबाटै निःशुल्क औषधि दिने व्यवस्था गर्न सरकारसँग बिरामीले माग गरेका छन् ।
मिर्गौलाको उपचार हुँदै आएको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले यहाँबाट औषधिको व्यवस्था गर्न नसक्ने भन्दै सबै बिरामीलाई पत्र पठाउँदै केन्द्रका प्रमुख डा.पुकारचन्द्र श्रेष्ठ सम्मिलित आरोग्य फाउन्डेसनद्वारा सञ्चालित निदान अस्पतालमा पठाएपछि बिरामीले थप मूल्य तिर्नुपरेको गुनासो गरेका छन् । बिरामीले बिक्रेताबाट महंगोमा औषधि किनेर निदान अस्पतालमा जानुपर्ने बाध्यता आएको र निदानले पनि उपचार गर्न नसक्ने भनेर केही दिनयता बिरामीलाई फर्काइदिएपछि बिरामी अलपत्र परेका मिर्गौला पीडित रेनुका भट्टराईले बताइन् ।
मिर्गौला पीडित सरोकार समितिले जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी समस्याका बारेमा जानकारी गराउँदै थप रकम तिर्नुपर्ने बाध्यता हटाउन माग गरे पनि बिरामीको माग सम्बोधन नभएको समितिका अध्यक्ष सुवेदीले गुनासो गरे । एक सातासम्म बिरामीको माग सम्बोधन नभए मिर्गौला पीडितहरूले स्वास्थ्य मन्त्रालयमा धर्ना दिई आन्दोलन गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा मिर्गौला बिरामी कोपिला बस्नेतले बिरामीलाई औषधि किन्न धोबीघाट जानुपर्ने र उपचारका लागि निदान जानुपर्ने बाध्यता हटाउँदै भक्तपुरबाटै औषधि र उपचार दिने व्यवस्था मिलाइदिन आग्रह गरिन् । औषधि बिक्रेताका प्रतिनिधि सञ्जय अधिकारीले भने सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसकिने भएकाले बाध्य भएर महंगोमा औषधि बिक्री गर्नुपरेको बताए ।
मेसिनबाट गराउने हेमोडायलोसिसभन्दा यो प्रविधि सहज भएकाले हाल एक सय ७० भन्दाबढी बिरामीले सो प्रविधिबाट मिर्गौलाको डायलासिस गराउँदै आएका छन् ।
प्रतिक्रिया