अस्थायी शिक्षकलाई अन्तिम मौका

भक्तपुर । स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिलेसम्म पनि केही शिक्षकहरूले आवेदन नबुझाएपछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अन्तिम ताकेता गरेको छ । सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेर केन्द्रले साउन १५ गते भित्र आवश्यक कागजातसहित आवेदन गर्न ताकेता गरेको हो । यसअघि पनि केन्द्रले पटकपटक ताकेता गर्दै आइरहेको थियो ।

केन्द्रले आइतबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै साउन १५ गते भित्र आवश्यक कागजात सहित आवेदन गर्न अन्तिम पटक ताकेता गरेको हो । सम्बन्धित इकाइहरूले आफ्नो जिल्ला भित्रका अवकास प्राप्त शिक्षकहरूलाई तोकिएको म्यादभित्र आवेदन नगरी सेवा सुविधाबाट वञ्चित भएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने केन्द्रले स्पष्ट पारेको छ ।

उक्त अवधिमा जम्मा भएका फाइललाई समयमै विद्यालय शिक्षक कितावखानामा पठाउने व्यवस्था मिलाउन पनि केन्द्रले निर्देशन दिएको छ । शिक्षा ऐनको नवौं संशोधनले कार्यरत अस्थायी शिक्षकलाई परीक्षा र सुविधाको मौका दिएको थियो । ऐनमा परीक्षामा सामेल नभएका र भएर फेल भएकाले पनि सुविधा प्राप्त गर्ने व्यवस्था छ ।

अवकाशित अस्थायी शिक्षकहरू भने सुविधाको फारम नभरी सडक र कानुनी लडाइमा देखिन्छन् । केही अस्थायी शिक्षकहरू भने साउन १५ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने अस्थायी शिक्षकका दर्जन मुद्दाको फैसला कुरेर बसेका छन् ।

प्रतिक्रिया