संघ र प्रदेश प्रहरीको पोसाक एउटै हुने

काठमाडौं । प्रहरी कर्मचारीलाई संघ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । यस्तै प्रदेश र संघको पोसाकसमेत एउटै हुने भएको छ ।

लामो समयको छलफलपछि संसदीय- समितिले प्रहरी समायोजनमा देखिएको अन्यौलता हटाएको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुबीच यसअघि प्रस्तुत विधेयकमा भएको व्यवस्थालाई नै यथावत् राख्नेमा सहमति जुटेको हो ।

समायोजनका लागि मात्रै बनेको विधेयक भएकाले यसमा बढुवाको व्यवस्था नराखी ग्रेड थपको व्यवस्था राखिएको छ । विधेयकको दफा ७ को उपदफा २ मा समायोजनमा जाने प्रहरी कर्मचारीलाई खाईपाई आएको तलब वृद्धि (ग्रेड)मा दुई तलब वृद्धि (ग्रेड) थप गरिने उल्लेख छ ।

यस्तै प्रदेश प्रहरी र नेपाल प्रहरीको पोसाक अलगअलग नभई एउटै राख्ने विषयमा समेत सांसदहरुबीच सहमति जुटेको छ । समायोजनमा प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीहरु पर्ने छन् । प्रहरी उपरीक्षक र वरिष्ठ प्रहरी उपरीक्षक भने समायोजनका क्रममा संघबाट खटाइने सहमति भएको छ । समायोजनमा प्रदेश प्रहरीको नेतृत्व भने प्रहरी नायब महानिरीक्षकले गर्ने यसअघि नै सहमति जुटिसकेको छ ।

समायोजन गर्दा सिफारिस समितिमा प्रदेशको प्रतिनिधिसमेत रहनेछन् । अहिलेसम्म छलफलमा आएका विषय र सहमतिका विषयहरुलाई समावेश गरेर ल्याउन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । संशोधनसहित आएको विधेयकलाई समितिमा एक चरण छलफल गरेर सदनमा प्रतिवेदन बुझाउने समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया