चट्याङ लागेर ६ जनाको मृत्यु

काठमाडौं । हावाहुरीसँगै आएको चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । दाङ र रुपन्देहीमा मंगलबारमात्र ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकमध्ये तीन जना बालक रहेका छन् ।

दाङको राप्ती गाउँपालिका–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रूखमा चढेका बेला चट्याङले तीन बालकको ज्यान लिएको हो । चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाटका ११ वर्षीय रमित चौधरी र विनास चौधरी, १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।

जामुनाको रूखमा चारजना खेली रहेका वेला चट्याङ परेको थियो । तीनजनाको घटना स्थलमै मृत्यु भएको र एक जना घाइते भएका छन् । चट्याङ लागेर घाइते हुनेमा मृतक विनाशका भाइ ८ वर्षका अविनाश चौधरी रहेका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । उनिहरुलाई साँझ साढे ६ बजेतिर परेको चट्याङले लागेको थियो ।

उता, रुपन्देहीमा पनि मंगलबार साँझ परेको चट्याङले तीन जनाको ज्यान लिएको छ । सैनामैना–७ आमी भन्ने स्थानका ६२ वर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका–२ फुलबारीका ६० वर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका–७ वर्बदैयाका २५ बर्षका भागवत दास लोधको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागेर घाइते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । यस्तै अर्यालको पनि घर नजिकै गाइवस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको हो । लोधको भने तरकारी बारीमा जाने क्रममा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

मौषमविज्ञहरुले असार साउनको महिनामा अत्याधिक चट्याङ पर्ने भएकाले सजग रहन आग्रह गरेका छन् । चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट हो । हुरी बतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ ।

यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । चट्याङबाट बच्नका लागि विद्युतीय सामग्री नचलाउने, ठुला रूखको मुनि, खुल्ला चौरमा बस्न नहुने विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया