एजेन्सी, अमेरिका । फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफमा रहेको थाइल्यान्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समूह एफबाट प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । स्वीडेनले ३ गोल पहिलो हाफमै गरेको थियो । भने बाँकी एक गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमै १ गोल पनि खाएको थियो ।
छैटौं मिनेटमा लिन्डा सेमब्रान्तले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । कोसभरे एसलेनले १९औँ मिनेटमा दोस्रो गोल गर्दै सुरुमै २–० को अग्रता दिलाइन् । स्वीडेनविरुद्ध गोल फर्काउने प्रयास गरे पनि थाइल्यान्डले ४२औं मिनेटमा तेस्रो गोल खान पुग्यो । यतिवेला स्वीडेनकी फ्रिडोलिना रोल्फोले गोल गरेकी थिइन् । पहिलो हाफमा ३–० को अग्रता बनाएको स्वीडेनले दोस्रो हाफमा पनि गोल गर्न सफल भयो ।
८१औं मिनेटमा लिना हर्टिङले टिमका लागि चौथो गोल गरिन् । ९१औं मिनेटमा थाइल्यान्डका लागि कन्जनाले एक गोल फर्काउँदै गोल अन्तर ४–१ मा झोरकी थिइन् । पराजित भएको थाइल्यान्ड एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि अमेरिकासँग १३–० ले पराजित भएको थियो । आइतबारै राति अमेरिका र चिली भिड्दैछन् । अमेरिका विजयी भए चिली पनि प्रतियोगिबाट बाहिरिने छ ।
प्रतिक्रिया