डा.यादव र गच्छेदारवीच भेटबार्ता

काठमाडौं, २२ असार । राष्ट्रपति डा.रामवरण यादवसँग मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले भेटबार्ता गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ वजेट, राष्ट्रिय सहमतिलगायतका बारेमा छलफल भएको उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष गच्छेदारले जानकारी दिए । उनले भने, ‘भेटमा समग्र राजनीतिक विषयमा कुराकानी भएको छ ।’
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै गच्छेदारले राष्ट्रपति डा.यादव अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार बजेट ल्याउन पक्षमा रहेको आफूले पाएको बताए । उनले भने, ‘राष्ट्रपतिले अन्तरिम संविधान भन्दा बाहिर गएर कुनै काम गर्दिन भन्नु भएको छ ।’
उप–प्रधानमन्त्री गच्छेदारले सरकार सहमतिमै बजेट ल्याउने तयारीमा रहेको भन्दै दलहरुसँग परामर्श जारी राखेको दाबी गरे ।
प्रमुख दलका शीर्ष नेताहरुलाई भेटगर्दै आएका राष्ट्रपति डा.यादवले मधेसी मोर्चाका घटक फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया