ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पहिलोपटक मुत्रथैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा बिहीबार बिहान डाक्टर महेश्वर गोसार्इंको नेतृत्वको टोलीले जिल्लाकै मिक्वाखोला गाउँपालिका खोक्लिङका एक ३५ वर्षीय पुरुषको सफल शल्यक्रिया गरेको हो ।
अस्पतालका निमित्त प्रमुख डाक्टर सर्णिम लामाका अनुसार शल्यक्रियाका लागि करिब दुई घण्टा समय लागेको थियो । सिस्टोलिथोटोमी बिधिबाट ठूलो रुद्राक्षको दाना जत्रो पत्थर निकालिएको अस्पताल प्रशासनले जनाएको छ । यसभन्दा अघि यस्तो शल्यक्रिया ताप्लेजुङमा भएको थिएन । अबका दिनमा भने यस्तो खालको शल्यक्रिया जिल्लामा नै गर्न सकिने निमित्त प्रमुख लामाले बताए ।
‘मुत्रथैलीमा रहेको पत्थरको सफल शल्यक्रिया गरेका छौँ’, निमित्त प्रमुख लामाले भने, ‘मिर्गौलामा भएकोलाई शल्यक्रिया गर्ने प्रविधि हामीकहाँ छैन तर मुत्रथैलीको चाहिँ गर्न सक्छौँ ।’ हाल ती पुरुषको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । शल्यक्रिया टोलीमा डाक्टर महेश्वर गोसाईंका साथै डाक्टर अशोककुमार यादव, डाक्टर सर्णिम लामालगायत समावेश थिए ।
प्रतिक्रिया