हाजिरपछि दैनिक आन्दोलन

काठमाडौं । आममानिसमा चलन नै छ, ‘जागिर होस् त सरकारीजस्तो’ । सेवा सुविधा र कामका हिसाबले सरकारी जागिर निजी कम्पनीको जागिरभन्दा सजिलो हुन्छ । निर्धारित समयभन्दा केही ढिलो पुग्ने र समय सकिनु अगावै कार्यालयबाट हिँड्नु, अधिकांश सरकारी कर्मचारीको दिनचर्या यस्तै हुन्छ ।

तर, सेवा सुविधाका विषयमा भने सरकारी कर्मचारी एकजुट हुने गरेका छन् । उनीहरू सानोभन्दा सानो मागमा पनि आन्दोलनमा उत्रिहाल्छन् । यस्तै काम पछिल्लोपटक सरकारी चिकित्सकहरूले गरेका छन् । विभेदकारी, अन्यायपूर्ण, अवैज्ञानिक चिकित्सक समायोजन भएको भन्दै चैत्र २२ गतेबाट सरकारी चिकित्सक संघ नेपालमा आबद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूको आन्दोलनले बिरामी चर्को मारमा परेका छन् । तर, सरकारी चिकित्सक भने दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिएका हुन् । यद्यपि, उनीहरू दैनिकरूपमा हाजिर भने गरिरहेका छन् ।

बिहान कार्यालय समयमा अस्पताल उपस्थित हुने हाजिर गर्ने र आन्दोलन गर्ने । यस्तै दिनचर्या छ चिकित्सकको । वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, प्रसूति गृहसहित देशभरका सरकारी अस्पताल अहिले बेहाल अवस्थामा छन् । ती अस्पतालमा पुगेका बिरामी अहिले नजिकैका निजी क्लिनिकमा महँगोमा उपचार गर्न बाध्य भएका छन् । कतिपय बिरामीले सरकारी अस्पतालमा भेटिने चिकित्सक नै अहिले निजी क्लिनिकमा भेटिएको गुनासो गर्न थालेका छन् ।

कानुनतः सरकारी अस्पतालमा काम गर्ने चिकित्सक सोही समयमा निजी अस्पतालमा काम गर्न पाउँदैन् । बिहान नौ बजे पछाडि र दिउँसो दुई बजे अगाडि सरकारी चिकित्सकले निजीमा काम गर्न नपाउने नियम छ । तर, उनीहरू त्यसलाई समेत बेवास्था गर्दै निजी क्लिनिक गइरहेको बिरामीले आरोप लगाइरहेका छन् । यसविषयमा सरकारले समेत कुनै उचित कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया