काठमाडौं । संघीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ ।
गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक सहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत् वितरण गर्ने नीति बनेपछि ढिलाइ भइरहेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि निःशुल्क पाइने नीति भए पनि गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा २० वटा पाउन पनि मुस्किल हुने गरेको स्वास्थ्य सहायक सुशील घिमिरेले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा ५ सय ५ं३ र स्वास्थ्यचौकीमा ३ सय ५ं३ औषधि निःशुल्क वितरण गर्ने सरकारको नीति छ । प्रसूति सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा थप तीन प्रकारको औषधि वितरण हुन्छ । प्रसूति सेवाको सुविधा नभएका केन्द्रमा ५५ र स्वास्थ्यचौकीमा ३५ औषधि निःशुल्क वितरण हुन्छ ।
केन्द्रमा भएका औषधि पनि चिकित्सकले मेडिकलबाट किन्न भन्ने गरेको बिरामीको गुनासो छ । केन्द्रमा उपचारका लागि आएका घनश्याम श्रेष्ठले स्वास्थ्य डा. कुशल गौतमले भएको औषधि पनि किन्न भनेको बताए । केन्द्रमा भएकै औषधि खरिद गर्न भन्नुको तीन कारण हुन सक्ने सेवाग्राही श्रेष्ठले बताए ।
पहिलो आएको औषधि बाहिर बेच्छन् भन्ने गुनासोको पुष्टि, दोस्रो नगरपालिकाले औषधि पठाएन भनी सन्देश दिने र तेस्रो केन्द्रको नजिकमा सञ्चालन भइरहेका मेडिकलको व्यापार वृद्धि गर्नेमध्ये हुन सक्ने उनको भनाइ छ । कति औषधि केन्द्रमा आउँछन् । कहाँ÷कहाँ जान्छन् । यहाँ कति प्रकारका औषधि छन् भनेपछि श्रेष्ठले स्टोर शाखामा बुझ्न भन्ने गरेका बिरामीको भनाइ छ । नगरपालिकामा औषधि माग गरी फारम भरेर पठाएको महिनौँ बित्दा पनि नआएको स्थास्थ्य सहायक घिमिरेको दुखेसो छ ।
जनशक्ति अभाव
केन्द्रमा स्वास्थ्यकर्मीको पनि अभाव छ । १२ जनाको दरबन्दी भए पनि हाल आठ जना मात्र कार्यरत छन् । तीमध्ये केन्द्र प्रमुख डा. लक्ष्मी बोगटीलाई हालै समायोजन गरेर नुवाकोट पठाइएको छ । स्वास्थ्य सहायक दुई जनाको दरबन्दी भए पनि हरिप्रसाद उपाध्याय वर्षौँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काजमा खटिएको छ ।
केन्द्रमा एउटै स्टाफ नर्सको दरबन्दी छ । दरबन्दीमा झुमा मैनालीको नाम भए पनि उनीसमेत दुई वर्षदेखि टोखाको प्राथमिक स्वास्थ्य केन्द्रमा काजमा छन् । अहेब दुइजना, अनमी तीनजना, ल्याब सहायक एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् । एकजना कार्यालय सहयोगी पनि भद्रबास स्वास्थ्यचौकीमा काज बसेका छन् ।
कर्मचारी घर पायक मिलाएर काजमा बसेपछि केन्द्रमा आउने बिरामीले सेवा पाउन मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ । सरोकार भएका निकायले कर्मचारीको राजधानीकै नजिक काज अनुमति दिने र दरबन्दी भएकै पदमा करारमा पठाउने गरेको स्वास्थ्य सहायक घिमिरेले बताए । केन्द्र प्रमुखको दरबन्दीमा डा. बोगटी कार्यरत रहँदारहँदै मन्त्रालयले डा. गौतमलाई करारमा पठाएको उनले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर बस्नेत जिल्ला जनस्वास्थ्य कर्यालयले बोलपत्र गरेर खरीद गरी पठाउने गरेको औषधि स्थानीय तहले खरिद गर्ने व्यवस्था गरेको पहिलो वर्ष भएकाले केही समय ढिलाइ भएको स्वीकार गरे । नगरपालिकाले सम्झौता गरेपछि पहिलो चरणमा किनिएको औषधि सबै स्वास्थ्य संस्थामा पठाइसकिएको उनले जानकारी दिए ।
स्वास्थ्य शाखामा कर्मचारी अभाव
नगरपालिकाको स्वास्थ्य शाखामा पनि कर्मचारीको अभाव छ । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा स्वास्थ्यचौकी र एउटा सहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थापन गर्ने जनशक्ति जम्मा दुई जनाका भरमा चलेको छ । नगरपालिकाअन्तर्गत गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र, सुन्दरीजल, नयाँ पाटी, बालुवा र जोरपाटीमा स्वास्थ्यचौकी छन् ।
यसैगरी, विकट स्थानमा रहेको नगरपालिका–३ स्थित तारेभिरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । स्वास्थ्यचौकी र सहरी स्वास्थ्य केन्द्रमा पनि कर्मचारीको अभाव छ । नगरपालिकाले जनशक्ति व्यवस्थापनका लागि समायोजन कुरेर बसेको शाखा प्रमुख बस्नेतले बताए । स्वास्थ्य शाखामा जनशक्ति अभाव भएकाले प्रशासन शाखाले नै औषधि खरिद गरेर वितरण गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया