बाँके । नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालमा निर्माण गर्ने भनिएको इन्डोर ब्लकको मंगलवार शिलान्यास गरिएको छ । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ३२ करोड ३१ लाख ३ हजार ७ सय ९३ लागतमा निर्माण हुने इन्डोर ब्लकको शिलान्यास गरेका हुन् ।
अस्पतालमा मंगलबार आयोजित एक कार्यक्रमकाबिच मन्त्री राईले अस्पताल परिसरमा निर्माण सम्पन्न भएको नर्सिङ आवास भवनको उद्घाटनसमेत गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री राईले इन्डोर ब्लक निर्माण सुरु भइसकेकोले अस्पतालमा आउने बिरामीले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुननपर्ने बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासमा प्राथमिकतामा राखेपछि सहरी विकास मन्त्रालयले कार्यान्वयनलाई तीव्रता दिनेछ ।’
धेरै पटकको प्रयासपछि भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न सफल भएको भन्दै मन्त्री राईले यस क्षेत्रको विकासका लागि धेरै चुनौतीको सामना गर्नुपरेको जिकिर गरे । इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएपछि उत्साहित भएको स्मरण गर्दै मन्त्री राईले भेरी अस्पताललाई प्रदेशकै नमुना अस्पतालका रूपमा विकास गरिने बताए ।
अस्पतालको पूर्वाधार विकासमा संघीय सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले भने, ‘पूर्वाधार निर्माणमा ढिलासुस्ती नहोस् । समयमै काम सक्न निर्माण कम्पनीले ध्यान दिनुपर्छ । विशेषज्ञ सेवा प्रदान गर्न संघीय सरकार प्रतिबद्ध छ ।’
प्रतिक्रिया