स्तरोन्नतिसँगै अस्पताल भवन निर्माण दु्रत गतिमा

कालिकोट । आव ०७४-७५ मा संघीय सरकारको स्वास्थ्य मन्त्रालयमार्फत छुट्याइएको २० करोडको लागतमा भवनको निर्माण भइरहेको छ ।

भवन निर्माणको ठेक्का पाएको सुपरस्टार निर्माण सेवाले भवन समयमै सम्पन्न गर्न निर्माण कार्य दु्रत गतिमा गरिरहेको छ । तीन महिनामा भवनको निर्माण सम्पन्न गर्नुपर्ने भएता पनि दुई वर्षमै सम्पन गर्ने लक्ष्य राखेको निर्माण सेवाका सञ्चालक तारा शाहीले बताइन् ।

कालिकोट जिल्लाको एक मात्र जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति हुने भएको छ । १५ शय्याको अस्पताललाई छिट्टै ५० शय्याको बनाउँदै विभागीय विशेषज्ञ डाक्टर सहितको सेवा सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला अस्पताल स्रातले जनाएको छ ।

५० शय्यामा स्तरोन्नति गरेसँगै दरबन्दी सेवा सुविधा र आधुनिक उपकरण थप गरिनेछ । त्यसका लागि संघीय सरकारका स्वाथ्य मन्त्रालयको टोलीले आवश्यक स्थलगत अध्ययन गरी स्तरोन्नति प्रक्रिया अघि बढाउन कार्यदेशसमेत दिइसकेको छ । अहिले प्रदेश मातहतमा गइसकेपछि थप स्तरोन्नतिका लागि प्रदेश सरकारको सामाजिक मन्त्रालयले पनि अस्पतालको स्तरोन्नति गर्दै स्वाथ्य सेवालाई प्रभावकारी र सहज बनाउने तयारी गरिरहेको छ ।

अस्पताललाई थप सेवा सुविधा सम्पन्न बनाउन प्रदेश सरकारको सहयोगमा स्तरोन्नति हुन लागेको हो । खाडाचक्र नगरपालिकाको जनघनत्व बढ्दै गएको र स्थानिय तह पुनर्संंचनापछि बाक्लिँदै गएकोले स्वाथ्य सेवा सुलभ बनाउन अस्पताललाई विशेषज्ञ डाक्टर सहितको स्तरोन्नति गर्न लागिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज खड्काले बताएका छन् । उनका अनुसार, १५ शय्याको अस्पतालवाट जनतालाई सेवा दिन कठिनाई भएको जनगुनासो आएपछि अस्पताललाई स्तरोन्नति गर्न लागिएको हो ।

सरकारले कर्णालीका पाँच वटा जिल्लामा रहेका १५ शय्याका अस्पताल ५० श्ययामा स्तरोन्नति गर्ने र स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था भएको हुनाले १५ शय्याको जिल्ला अस्पतालाई ५० शय्याको स्तरोन्नति गर्न लागिएको हो । खड्काका अनुसार, अस्पतालको स्तरोन्नतिको लागि आवश्यक मापदण्ड पुगे नपुगेको विषयमा अध्ययन गर्न स्वाथ्य मन्त्रालयको नेतृत्वको टोलीले अध्ययन गरी स्थितिबारे चासो राखेको बताए ।

जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा गइसकेपछि अस्पतालको स्तरोन्नतिमा गइरहेको अस्पतालका डा.भीष्म पोख्रेलले बताए । उनका अनुसार, पहिले अस्पतालमा विशेषज्ञ डाक्टर थिएनन् आवश्यक उपकरणको अभावमा धेरैको ज्यानसमेत गएको थियो । अहिले सुधारात्मक अवस्थामा छ । त्यसका लागि अघिल्लो सरकारले ३३ करोडको लागतमा भवनको निर्माण अघि बढिरहेको छ । आवश्यक उपकरण पनि खरिदका लागि माग गरिसकेका छौँ । चालु आवभित्रै अस्पतालको पूर्वाधार निर्माण हुन सके आगामि वर्षको सुरुदेखि नै कालिकोटवासिले ५० शय्याको अस्पतालबाट उपचार सेवा पाउने भएका छन् ।

प्रतिक्रिया