पूर्वराजा ज्ञानेन्द्र शाह विगत दुई महिनादेखि मध्य तथा पूर्वी तराईको भ्रमणमा छन् । गण्डकी प्रदेशको एक महिने भ्रमण सम्पन्न गरी गत माघको पहिलो साता पूर्वराजा शाह मध्य तथा पूर्वी तराईमा निस्केका हुन् । यतिवेला उनी झापास्थित आफ्नो निजी चिया बगानमा रहेको दरबारलाई मुकाम बनाएर प्रदेश–१ का विभिन्न भेगमा भ्रमण गरिरहेका छन् । यसअघि उनले सिमरास्थित आफ्ना नातेदारको दरबारलाई मुकाम बनाएर प्रदेश–२ का विभिन्न क्षेत्रको लामो भ्रमण गरेका थिए । त्यस क्रममा उनी यही चैत–२ गते एक रात जनकपुरको होटल सीता शरणमा बसे । सोही दिन नेपालस्थित भारतीय राजदूत मन्जिभसिंह पुरी पनि अचानक जनकपुर गएर सीता शरण होटलमै बसे । होटलको चौथो तलामा पूर्वराजा शाह बसेका थिए भने तेस्रो तलामा भारतीय राजदूत पुरी पनि बसेका थिए । उनीहरूबीच गोप्य भेटघाट भएको समाचार बाहिर आयो । यो गोप्य भेटघाटलाई सरकारले गम्भीर रूपमा लिएपछि भारतीय दूतावासले आफ्ना निकटका एक पत्रकारलाई बोलाएर समाचारको खण्डन ग¥यो । भारतीय राजदूत पुरीस“ग भेटघाटको समाचार आउनु र पूर्वराजा शाहको भारत भ्रमण तय हुनु संयोग मात्रै होइन । यसैगरी, अरू दिन पूर्वराजा शाह सिराहा र सप्तरीका भित्री गाउ“को भ्रमण गरी बेलुका बस्नका लागि आफ्नै मुकाम सिमरा पुग्ने गर्दथे । तर, त्यस दिन जनकपुरमै बसे । त्यसै दिन राजदूत पुरी पनि अचानक जनकपुर भ्रमणमा निस्केका थिए ।
पूर्वराजा शाहको देश भ्रमण अभियान राजतन्त्र पुनवर्हालीका लागि माहोल तयार गर्न नै हो भन्ने कुरामा कोही पनि भ्रममा नपरे हुन्छ । गुमेको सत्ता प्राप्त गर्ने ध्येय सबै पूर्वशासकलाई हुन्छ । पूर्वराजा शाह त्यसको अपवाद हुन सक्दैनन् । तर, पूर्वराजा शाहको गतिविधि संवैधानिक भए पनि गतिविधिको उद्देश्य संविधानविपरीत छ । संविधानले वंशवादका आधारमा कुनै व्यक्तिले शासनसत्ता सञ्चालन गर्ने प्रणालीतिर फर्कन बर्जित गरेको छ । लोकतान्त्रिक शासन प्रणालीलाई संविधानले अपरिवर्तनीय प्रावधानअन्तर्गत राखेको छ । पूर्वराजा शाहले आवधिक निर्वाचनमार्फत शासन सत्तामा आउने उद्देश्य राखेका छैनन् । विगतको जस्तै सधै“का लागि वंशवादमा आधारित शासनसत्ता सञ्चालन गर्ने उनको उद्देश्य छ । यस्तो उद्देश्य बोकेर गतिविधि गरिरहेका व्यक्तिलाई विदेशी कूटनीतिक नियोगका प्रमुखले गोप्य रूपमा भेट्नु भनेको आन्तरिक मामिलामाथिको हस्तक्षेप हो । कूटनीतिक मर्यादा विपरीत हो । यसप्रति सरकार सचेत हुनुपर्छ ।
गणतन्त्र स्थापना भएको समय जति–जति बित्दै छ त्यति–त्यति पूर्वराजा शाहप्रतिको जनआकर्षण पनि बढिरहेको छ । पछिल्ला दिनहरूमा पूर्वराजा शाहको भ्रमणमा साथ दिनेहरूको संख्या पनि उल्लेख्य बढेको छ । यस्तो हुनुका मुख्यतः कारण छन् । पहिलो कारण हो, ‘शाही शासनकालमा भएका ज्यादती जनताले बिर्सदै जानु ।’ दोस्रो कारण हो, ‘पूर्वराजा शाह कस्ता व्यक्ति रहेछन् ? प्रत्यक्ष देख्ने चाहना जनतालाई हुनु ।’ तेस्रो कारण हो, ‘सरकारका गतिविधिमाथि जनताको असन्तुष्टि बढ्दै जानु ।’ पहिलो र दोस्रो कारणको निदान गर्ने सामथ्र्य सरकार तथा राजनीतिक दलहरूस“ग छैन । तर, तेस्रो कारणको निदान गर्ने भनेको सरकार र मुख्य राजनीतिक दलहरूले नै हो । सरकार र राजनीतिक दलहरूको कमी कमजोरीको निसानामा शासन व्यवस्था परेको छ । जनताले विकल्प खोज्न थालेका छन् । विकल्पका रूपमा जनताले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई र पूर्वराजा शाहलाई हेर्न थालेका छन् । चन्द नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि गरेका कारण प्रतिबन्ध लगाएरै सरकारले नियन्त्रणको प्रयास थालेको छ । सरकारको यो प्रयासलाई मुलुकको सचेत वर्गले साथ दिएको अवस्था पनि छ । तर, पूर्वराजा शाहको गतिविधि विल्कुल शान्तिपूर्ण छ । उद्देश्य गलत भए पनि गतिविधि शान्तिपूर्ण भएका कारण प्रतिबन्ध लगाउने र बल प्रयोग गर्ने अवस्था छैन । पूर्वराजा शाहको गतिविधिप्रति जनसमर्थन बढ्न रोक्ने हो भने एक मात्रै उपाय छ । त्यो उपाय हो ‘सुशासन ।’ त्यसैगरी, पूर्वराजा शाहले पनि तत्कालका लागि आफ्नो लोकप्रियता बढेको कुरा नसोचे पनि हुन्छ । यो त उनको भ्रम मात्रै हो । यो भीडमा सामेल भएका मध्ये धेरैजसो तमासे हुन् । पूर्वराजा शाहको अनुहार हेर्नका लागि मात्रै सामेल भएकाहरूको संख्या अधिक छ ।
प्रतिक्रिया