सगरमाथाको काखमा सडक

सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ ।

अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार अहिले माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको बुम्बुरीसम्म सडक पुगिसकेको छ भने खरिखोला पुग्न करीब चार किलोमिटर बाँकी छ । सगरमाथाको काखमा सडक पुग्यो भन्दा फरक पर्दैन, प्रवक्ता शेर्पाले भने, “सदरमुकाम सल्लेरीदेखि बुम्बुरीसम्म सवारीसाधन सञ्चालन भइसकेको छ ।

उनका अनुसार माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । ट्र्याक खोल्न दुई गाउँपालिकाले रु ३९, ३९ लाख लगानी गर्ने सहमतिपत्र नै तयार गरेर काम अघि बढाइएको छ ।

रकम अपुग भए पुनः खर्च विवरणअनुसार दुवै गाउँपालिकाले बराबरी लगानी गर्ने सहमति भएको माप्यदूधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिए । विकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडि बढ्ने सहमति भएको उनको भनाइ छ ।

सरदमुकाम सल्लेरीदेखि ३० किलोमिटरमा रहेको माप्यदूधकोशी–२ अँधेरीसम्म यसअघिनै सडक पुगिसकेको थियो भने वडा नं १ हुँदै खुम्बुपासाङल्हामुको वडा नं १ को बुक्सासम्म ४० किलोमिटर सडक यस वर्ष निर्माण गरिनेछ । लुक्लासम्मको बाँकी करीब ३० किलोमिटर सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने प्रवक्ता शेर्पाले बताए ।

प्रतिक्रिया