कांग्रेस महामन्त्रीको सनक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यका पक्षमा निरन्तर कुरा उठाउँदै आएका छन् । गत बुधबार आफ्नो निवासमा आयोजित होलीपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पनि महान्त्री कोइरालाले हिन्दू राज्यका पक्षमा जनमत संग्रह हुनुपर्ने माग गरे । उनको भनाइ थियो, ‘नेपालमा धरैजसो हिन्दूको बसोबास छ, सदनदेखि मतदातासम्म हिन्दूको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र हुनुपर्छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन म सबैलाई आह्वान गर्छु ।’ कांग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको मुद्दामा पनि जनमत संग्रह हुनुपर्ने कुरा बताउँदै आएका छन् ।

डा. कोइराला महामन्त्री मात्रै नभएर नेपाली कांग्रेसमा निकै प्रभाव राख्ने हैसियतका नेता हुन् । तर, उनले यो कुरा अन्तर्मनदेखि नै भनेका हुन् या परम्पराको पक्षधर जनमतलाई आफ्नो पार्टीको सेरोफेरोभन्दा बाहिर जान नदिने रणनीतिअन्तर्गत यो कुरा बोलिरहेका हुन् ? स्पष्ट हुन सकेको छैन । दुई महिनाअघि सम्पन्न महासमितिको बैठकमा करिब ७ सय सहभागीहरूले हिन्दू राज्यको पक्षमा पार्टी उभिनुपर्ने भन्दै हस्ताक्षर बुझाएका थिए । तर, उक्त हस्ताक्षरमा महामन्त्री कोइराला सहभागी भएनन् । उनी सक्रिय सहभागी भएको भए हिन्दू राज्यमा जाने एजेन्डा महासमितिमा प्रवेश गथ्र्यो । यो एजेन्डामा बहुमत पुग्ने सम्भावना पनि थियो । तर, उनले खासै चासो दिएनन् । एक चौथाइ महासमितिका सदस्यहरूले हस्ताक्षर गरेर बुझाएको विषय बैठकको एजेन्डा बन्ने वैधानिक प्रावधान छ । तर, त्यो हस्ताक्षरलाई बैठकको एजेन्डासमेत बनाइएन । महामन्त्री कोइरालाले साथ दिएको भए उक्त हस्ताक्षर बैठकको एजेन्डा बन्ने थियो । निर्णायक घडी तथा सन्दर्भ आउ“दा पछि हट्ने तर, असान्दर्भिक समयमा बोलिरहनुको कुनै अर्थ छैन । एक हिसाबले भन्नुपर्दा यो त राजनीतिक बेइमानी हो । यस्ता गतिविधिले डा. कोइराला स्वयंको उचाइ घटिरहेको छ । नेपाली कांग्रेसभित्र प्रभावशाली हैसियत राखे पनि डा. कोइरालाको व्यक्तिगत राजनीतिक साइज तथा योगदान छोटो छ । दूरदर्शी राजनेता बिपी कोइरालाको छोरा तथा नेपाली कांग्रेसजस्तो गौरवशाली इतिहास बोकेको पार्टीको निर्वाचित महामन्त्री बनेकै कारण उनी अग्लो देखिएका हुन् ।

बिपी कोइरालाले मुलुकको राजनीतिमा सर्वाधिक उचाइ प्राप्त गर्नुको मुख्य कारण उनले प्रस्तुत गरेको अग्रगामी मार्गचित्र नै हो । ०३६ सालको जनमत संग्रहका वेला बहुदलको पक्षमा भोट माग्ने सिलसिलामा बिपी कोेइरालाले भनेका छन्, ‘नेपाललाई हिन्दू अधिराज्य भन्नु झेली कुरा हो, नेपाल हिजो पनि हिन्दू अधिराज्य थिएन, भोलि पनि रहने छैन ।’ यसैगरी, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनआन्दोलन ०६२–०६३ को उपज हो । त्यो आन्दोलनको अगुवाइ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । जनआन्दोलन ०६२–०६३ को परिणामलाई उपलब्धि मान्ने हो भने संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई विवादमा ल्याउनु हुन्न । निक्र्योल भइसकेका एजेन्डालाई विवादमा ल्याउ“दा राजनीतिक अस्थिरता उत्पन्न हुन्छ । भोलि कम्युनिस्ट पार्टीहरूले बहुदलीय लोकतन्त्र स्वीकार्दैनौँ ? भन्ने अवस्था आयो भने के हुन्छ ? उदाहरणका लागि यतिवेला प्रतिनिधि सभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको करिब–करिब दुईतिहाइ बहुमत छ । दुईतिहाइ भनेको संविधान संशोधन गर्न पुग्ने बहुमत हो । संविधान नै संशोधन गरी बहुदलीय संसदीय व्यवस्था परिवर्तन गर्नेतर्फ सत्तारूढ कम्युनिस्ट पार्टी गयो भने के होला ? सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भनेका हाम्रो मुलुकको वर्तमान शासन व्यवस्थाका एउटा रथका दुई पांग्रा जस्तै हुन् । एउटा पांग्राको स्थान सर्यो भने रथ नै ढल्छ । गति लिइसकेको रथ ढल्यो भने अकल्पनीय दुर्घटना हुन्छ । त्यसैले, प्रभावशाली नेताले सनकको भरमा बोल्नु हुँदैन ।

प्रतिक्रिया