प्रधानमन्त्रीले बोलेका कुरा एमाओवादीका हुन्

काठमाडौं, १३ असार । एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्री बाबुराम भट्टराईले ब्राजिलबाट फर्केर एयरपोर्टमा दिएको अभिव्यक्ति नै पार्टीको बटमलाइन भएको दाबी गरेका छन् ।
‘प्रधानमन्त्री भट्टराईको भनाइबाट पार्टीमा कोही असन्तुष्ट छैन,’ उनले भने, ‘अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेको भन्ने कुरा हल्लामात्र हो ।’
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कार प्रवक्ता शर्माले पार्टीकै म्याण्डेट अनुसार भट्टराईले धारणा राख्ने गरेको बताए ।
आफूले तत्काल राजीनामा नदिने भन्दै भट्टराईले दलहरुलाई ‘बालहठ’को संज्ञा दिएपछि अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएको भन्ने समाचार सार्वजनिकका थिए ।
‘मुुलुकलाई अस्तव्यस्त पारेर संवैधानिक संकट निम्तने गरी प्रधानमन्त्रीले राजीनामा दिँदैनन्,’ उनले भने, ‘विकल्प तयार नगरी सडकमा कुर्लिएको भरमा राजीनामा आउँदैन ।’
उनले राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन नसक्ने भन्दै सहमतिका लागि आह्वान गर्न मात्रै सक्ने बताए ।
शिक्षमन्त्री समेत रहेका शर्माले सेना समायोजन विशेष समितिको बैठक असार–१६ गते बसेर बाँकी प्रक्रिया अघि बढाने बताए । विपक्षी दलहरुले भने विशेष समिति बैठक बहिष्कार गर्ने जनाई सकेका छन् ।

प्रतिक्रिया