भारतीय वायुसेनाका क्याप्टेन अभिनन्दन वर्तमानकी वृद्ध आमाले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिरमा पूजा गर्दै गरेको समाचार गत शनिबार सामाजिक सञ्जालमा विश्वव्यापी भयो । वायुसेनाका क्याप्टेन अभिनन्दनलाई दुई दिन अघिदेखि पाकिस्तानले आफ्नो कब्जामा लिएको थियो । पकिस्तानी आकाशमा प्रवेश गरेर लडाकु विमानबाट बम वर्षा गरिरहँदा क्याप्टेन अभिनन्दनलाई त्यहाँको सेनाले कब्जामा लिएको थियो । आक्रमण गर्दै गर्दा कब्जामा परेको शत्रुपक्षको क्याप्टेनलाई सामान्यतया जिउँदाे छाडिन्न । यसरी नै पक्राउ परेका यस अघिका भारतीय सेनाका अधिकृतहरूको लाशसमेत फर्केको थिएन । त्यसैले जिउँदो फर्कने कुरामा क्याप्टेन अभिनन्दनका परिवारले आशा मारिसकेका थिए । तर, शनिबार बिहान पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्मा सम्बोधन गर्दै भने, ‘हामी युद्ध होइन शान्ति चाहन्छौ“, त्यसैले कब्जामा रहेका भारतीय वायुसेनाका क्याप्टेनलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएका छौँ ।’ पाकिस्तानी प्रधानमन्त्री खानको यो सम्बोधनको समाचार प्रसारणसँगै भारतमा एकाएक खुसी छायो । खासगरी क्याप्टेन अभिनन्दनको परिवारका लागि योभन्दा खुसीको कुरा अर्को थिएन । भारतका लागि पनि यो खुसीको समाचार थियो । त्यति मात्रै होइन यो समाचार सारा विश्का लागि पनि खुसीको कुरा हो । विश्वको एउटा ध्रुवले पाकिस्तानलाई हेरिरहेको नकारात्मक दृष्टिकोणलाई प्रधानमन्त्री खानको उदार कूटनीतिक कदमले आश्चर्यचकित बनाएको छ । आफ्नो जमानाका कुशल क्रिकेट खेलाडी खानले राजनीति र कुटनीतिमा पनि ‘छक्का हानेर’ विश्वलाई चकित बनाइदिएका छन् । भारत र पाकिस्तानबीच गत मंगलबारदेखि सुरु भएको अघोषित युद्ध तत्कालका लागि स्थगित भएको छ । यो उपलब्धिमा पाकिस्तानी प्रधानमन्त्री खानको भूमिका प्रसंसनीय छ ।
दुवै आणविक शक्तिसम्पन्न देश भएकोले भारत र पाकिस्तानबीच हुने तनाव साराा विश्वकै लागि चिन्ताको विषय हुने गर्छ । संयोग हो या ‘डिजाइन’ हो, जब–जब भारतमा आमनिर्वाचनको माहोल सुरु हुन्छ तब–तब कस्मिरको मुद्दालाई लिएर पाकिस्तान सँग तनाव सुरु हुन्छ । यसपटक पनि त्यस्तै भयो । पाकिस्तान शासित कस्मिरमा रहेका आतंककारीहरूले आफ्नो भूमिमा प्रवेश गरी ४० जना सुरक्षाकर्मी मारेको दाबी गर्दै भारतले पाकिस्तानमाथि हवाई आक्रमण सुरु ग¥यो । आक्रमणका क्रममा आतंककारीहरूको गढ ध्वस्त बनाइएको दाबी भारतले गर्यो । यस क्रममा दुई सय ४० जना आतंककारी मारिएको भारतीय दाबी थियो । भारतको यो दाबीलाई पाकिस्तानले स्वीकार गरेको छैन । तर, भारतका दुईवटा लडाकु विमान खसालिएको र एक जना क्याप्टेनलाई कब्जामा लिइएको भन्ने पाकिस्तानी दाबी भने सत्य ठहरिएको छ । विगतमा भएका आक्रमणमा भारतको पल्लाभारी हुने गर्दथ्यो भने यसपटकको आक्रमणमा पाकिस्तानको पल्लाभारी भएको देखिएको छ । सामारिक र नैतिक दुवै दृष्टिकोणले पाकिस्तानको पल्लाभारी हुनु भनेको चुनावको सन्मुख रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि निकै ठूलो राजनीतिक जोखिम हो । निर्वाचनमा लोकप्रियता बढाउने हत्कण्डाका रूपमा बालाकोट आक्रमणलाई प्रयोग गर्न खोजेका मोदीका लागि सोही निर्णय कतै आत्मघाती हुने त होइन भन्ने आशंका बढ्न थालेको छ ।
पाकिस्तानी प्रधानमन्त्री खानले भारतसँग वार्ताका लागि आह्वान गर्दै आफ्नो मुलुकले गरेको कारवाही ‘बाध्यात्मक’ रहेको बताएका छन् । उनले युद्धको परिणाम कसैले आँकलन गर्न नसक्ने भन्दै शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न आफू तत्पर रहेकोसमेत पस्ट पारेका छन् । अब भारतका तर्फबाट पनि यस्तै प्रतिबद्धता आयो भने मात्रै दक्षिण एसियामा शान्ति कायम हुन्छ । यसका लागि भारतले पनि सदासयता अपनाउनुपर्छ । समस्याको मुख्य जड भनेकै कस्मिर हो । कस्मिरको तनावका कारण विगत ५० वर्षदेखि भारत र पाकिस्तानले आफ्नो बजेटको उल्लेख्य अंश सैन्य क्षमता वृद्धिका लागि खर्च गररहेका छन् । यी दुवै देशका जनताको आर्थिक अवस्था अत्यन्त दयनीय छ । करोडौ“ जनता ‘बिहान खाए बेलुका के खाउ“’को अवस्थामा छन् । नवजात शिशुले पेटभरी दूध खान नपाइरहेको अवस्थामा अनावश्यक युद्धका लागि देशको ढुकुटीबाट हरेक वर्ष अरबौ“ रकम खर्च गरिनु भनेको अमानवीयताको पराकाष्ठा हो । यो पराकाष्ठालाई दुवै देशले अविलम्ब रोक्नुपर्छ । जनतालाई स्वनिर्णयको अधिकार दिएर कस्मिरको स्वतन्त्रता पुनर्वहाली गर्नु नै यो समस्या समाधानको उपयुक्त मार्गचित्र हो ।
प्रतिक्रिया