हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ । गत बुधबार ताप्लेजुङ जिल्लाको तारेभिरमा भएको उक्त दुर्घटनमा परी मन्त्री अधिकारीका अतिरिक्त होनाहार पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पालगायत सातजनाको निधन भएको हो । तेह्रथुमको आठराई सुकेटारमा विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सिलसिलामा पर्यटनमन्त्री अधिकारीसहितको टोली बुधबार बिहान हेलिकोप्टरबाट प्रस्थान गरेको थियो । औपचारिक कार्यक्रम सकेर पाथिभरादेवीको दर्शन गर्ने तथा पाथीभरामा केवुलकारको संभाव्यता अध्यायन गर्ने सिलसिलामा उक्त टोली ताप्लेजुङ प्रस्थान गरेको समाचारमा जनाइएको छ । पर्यटन व्यवसायी शेर्पा दुर्घनाग्रस्त हेलिकोप्टरका मालिकसमेत हुन् । समाचारमा जनाइएअनुसार पर्यटन व्यवसायी शेर्पाले पाथीभरामा केबुलकार निर्माण गर्ने प्रक्रिया सुरु गरेका थिए । पाथीभराबाट काठमाडौं प्रस्थान गरेको केही समयमै हेलिकोप्टर दुर्घटनामा परेको हो । अत्यन्त खराब मौसमका बाबजुद हेलिकोप्टर उडान गरिएकोले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । सरकारले दुर्घटनाको छानबिनका लागि बुधबार नै समिति गठन गरेका कारण सत्यतथ्य छिटै बाहिर आउनेछ । ताप्लेजुङ क्षेत्रको भूगोल र मौसम हेलिकोप्टर उडानका लागि निकै जोखिमपूर्ण रहेको कुरा यसअघि पनि पटक पटक पुष्टि भइसकेको छ ।
दुर्घटना आफैँमा ज्यादै दुःखद् हुन्छ । कसैको निधन त्यो भन्दा पनि दुखद हुन्छ । तर कुनै दुर्घटना तथा कसैको निधनले समाज र राष्ट्रलाई धेरै नै ठूलो क्षति पुर्याउँछ । जुन क्षति अपूरणीय हुन्छ । बुधबार हेलिकोप्टर दुर्घटनाका कारण भएको मन्त्री अधिकारी तथा पर्यटन व्यवसायी शेर्पाको निधन मुलुक र नेपाली समाजका लागि अपूरणीय क्षती हो । अधिकारी केवल मन्त्री मात्रै थिएनन्, उनी ज्यादै ठूलो सुझ–बुझ र क्षमता भएका युवा नेता थिए । भविष्यमा मुलुकको बागडोर सम्हाल्ने हैसियतमा उनी पुग्ने र उनले मुलुकका निम्ति केही गरेर देखाउने अनुमान राजनीतिक विश्लेषकहरूले गर्थे । जनताबीच ज्यादै लोकप्रिय थिए । यसैगरी, शेर्पाको योगदान नेपालको पर्यटन व्यवसाय तथा हवाई उडानको क्षेत्रमा अतुलनीय छ । पर्यटन तथा हवाई उडानका क्षेत्रमा राज्यको सामथ्र्यले समेत नसक्ने काम शेर्पाले सम्पन्न गरेका थिए ।
मानिसको काबुबाहिरको परिस्थितिले दुर्घटना निम्त्याउ“छ । परिस्थितिलाई काबुबाहिर जान नदिनु नै दुर्घटनाबाट बच्न सकिने मुख्य उपाय हो । तर, यो उपाय अवलम्बन नगरिएकोले बुधबार हेलिकोप्टर दुर्घटना भएको हो कि जस्तो देखिन्छ । मालिक शेर्पा आफैँ सवार रहेका कारण हेलिकोप्टरमा प्राविधिक गडबडी थियो कि ? भनेर अनुमान गर्न सकिन्न । पहिलो कुरा त मौसम अत्यन्त खराब थियो । प्राविधिकहरूका अनुसार चार हजार मिटरभन्दा अग्ला पहाडहरू भएको ठाउ“मा कुहिरो लागेको वेला हेलिकोप्टर चलाउनु भनेको दुर्घटनाको जोखिम मोल्नु हो । यो जोखिम पाइलटले मलेको देखिन्छ । यसैगरी, हेलिकोप्टरको उडान भनेको अत्यावश्यकीय अवस्थामा बाहेक छोटो दुरीका लागि हो । तर, उक्त हेलिकोप्टर निकै लामो दूरीका लागि प्रयोग गरियो । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश भट्टराईले दुर्घटनालगत्तै सामाजिक सञ्जालमा लेखेका छन्, ‘भिआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरूले । तर, आज मौसम खराब हुँदाहुँदै सात जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ जे नहुनुपर्ने थियो त्यो भइसकेको छ । पछुताएर वा शोक गरेर बस्नुभन्दा अबका दिनमा हवाई उडानको सुरक्षातर्फ राज्य संयन्त्र सचेत बन्नु जरुरी छ ।
प्रतिक्रिया