नियमित स्वास्थ्य सेवा गर्ने सम्झौता

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनमा रहेको स्थानीय स्वास्थ्यचौकी र सिनामंगलमा रहेको नोबेल अस्पतालले वडामा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन प्रालि (नोबेल अस्पताल), मण्डनदेउपुर–१० तथा पर्यावरणीय लोकतन्त्रका लागि दक्षिण एसियाली संवाद काठमाडौंबीच सो सम्झौता भएको हो ।

सम्झौता अनुसार सो अस्पतालले गाउँमा प्रत्येक १५÷१५ दिनमा एकपटक स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिने तथा महिनाको एकपटक विभिन्न विधामा ख्यातीप्राप्त डाक्टर पठाई आवश्यक सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । अस्पतालले विरामीलाई निशुःल्क औषधि उपलब्ध गराउनेसम्मको सम्झौता गरिएको सो वडाका वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी गराए ।

गाउँमा रहेका कुनै पनि रोगका बिरामीलाई सकेसम्म गाउँमै उपचार गराउने र गाउँमा सम्भव नभए अस्पतालले रिफर गरेको अस्पताल पठाउन वडाबाट सिफरिस दिइने पनि सम्झौता भएको छ । साथै अस्पतालका दक्षचिकित्सक तथा अध्ययनरत विद्यार्थी सम्बन्धित वडामा गई त्यहाँका नागरिकको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न चाहेमा वडाले सहयोग गर्ने, तथा गाउँबाट रिफर गरी अस्पताल आउनुपर्ने बिरामीका लागि अस्पतालले पनि सेवासुविधा तथा औषधिमा १० देखि ३० प्रतिशतसम्म छुट दिने विषयमा उल्लेख्य सहमति भएको छ ।

साथै समयसमयमा दुवैपक्षबीच समन्वयात्मक बैठक बसी कार्यक्रमको समीक्षा गर्ने र आवश्यकताअनुसार सेवा सुविधा थप गर्नुपर्ने भएमा सो कार्यक्रम पनि गर्न सकिने गरी अस्पताल तथा वडा स्वास्थ्यचौकीबीच सम्झौता भएको छ । सेवासम्बन्धी सम्झौता प्रत्येक वर्ष नवीकरण हुनेछ ।

यहि सम्झौताअनुसार आगामी १७ फागुनमा वडाको कटहरेचौरस्थित स्वास्थ्यचौकीमा स्वास्थ्य शिविर सञ्चालन हुँदै छ । सो शिविरमा जनरल स्वास्थ्य जाँच (स्त्री तथा बालरोग), सुगर तथा प्रेसर जाँच तथा निःशुल्क औषधि वितरण हुनेछ । साथै आवश्यकताअनुसार भिडियो एक्स–रे सेवा पनि उपलब्ध हुने बताइएको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट अस्पताल निर्देशक सन्तोषमणि न्यौपाने तथा वडाध्यक्ष विष्णुमणि नेपाल र कार्यक्रम संयोजक रामशरण सापकोटाले हस्ताक्षर गरेका हुन् । स्मरणीय छ सो वडामा नवनिर्मित पाँच कोठाको दुई वटा स्वास्थ्यचौकी भवन हालै मात्र स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ । सो स्वास्थ्यचौकीबाट प्रसूतिसम्मको सेवा उपलब्ध हुने पनि बताइएको छ ।

प्रतिक्रिया