नेपालमा लामो संघर्षपछि राजनीतिक स्थिरता कायम भएको देखिएको छ । विगतमा प्रत्येक नाैँ महिनामा सरकार फेरिने अवस्थाबाट अलिक माथि उक्लिएर पाँच वर्ष टिक्नेगरी सरकार निर्माण भएको छ । देशले स्थिर सरकार पाए पनि राजनीतिक दल भित्रका संरचना भने अहिले सबैभन्दा बढी बेथितिमा पुगेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा अहिलेसम्म एकता हुन सकेको छैन । पार्टीका शीर्ष नेतृत्वमा एकता भए पनि तल्ला तथा जनवर्गीय संगठन अहिलेसम्म एकता नहुँदा निष्क्रिय जस्ता भएका छन् । विपक्षी दल नेपाली कांग्रेसको अवस्था त नेकपाभन्दा पनि नाजुक रहेको छ । महाधिवेशन आउन एक वर्ष बाँकी रहँदा पनि सभापति शेरबहादुर देउवाले विभागहरूलाई पूर्णता दिएका छैनन् । जिल्ला र स्थानीय तहमा हुने इकाइ अहिलेसम्म गठन पनि हुन सकेको छैन । जनवर्गीय संगठनहरूको अवस्था त झनै नाजुक छ । महाधिवेशन गर्न नसकेपछि नेविसंघको कार्यसमिति नै विघटन गर्नुपर्ने अवस्थामा पुगेको छ । तराई केन्द्रीय राष्ट्रिय जनता पार्टीको अवस्थामा पनि उस्तै छ । वैशाखमा एकता महाधिवेशन गर्ने भनिए पनि नेतृत्वका विषयमा नै लफडा जारी छ ।
राजनीतिक दल लोकतन्त्रका आधारस्तम्भ हुन् । आधारस्तम्भमै खराबी वा गडबढी भए भवन टिकाउ वा दिगो हुन सक्दैन । दल भनेका जनताका संगठन पनि हुन् । जनताका संगठनमा खराबी आए यसका अनुयायीमा वितृष्णा पैदा हुन्छ । वितृष्णाको उदाहरण खोज्न अन्त जानु पर्दैन । गायक पशुपति शर्माका गीतले वाहवाही पाउनु भनेको राजनीतिक दल र तिनका नेताप्रति जनताको वितृष्णा नै हो । दलहरू चलायमान नहुँदा खाली ठाउँ हुन्छ । त्यो खाली ठाउँमा लोकतन्त्रका विरोधीले खेल्न ठाउँ पाउँछन् । भारतका समाजवादी नेताका रूपमा प्रसिद्ध राममनोहर लोहियाले यसै विषयमा लेखेका छन्, ‘पार्टीलाई जीवन्त र ऊर्जावान् बनाउने भनेको तिनका कार्यकर्ताले हो । सक्रिय कार्यकर्ता नै पार्टीका प्राण हुन् । त्यसैले, कार्यकर्तालाई सक्रिय बनाइराख्न नेतृत्वले ध्यान दिनुपर्छ । कार्यकर्तालाई सक्रिय बनाइराख्न खाल्डो खन्ने र पुर्ने भए पनि कार्यकर्तालाई काम दिइरहनुपर्छ । यसले उनीहरू सक्रिय भइरहन्छन् ।’ अन्यभन्दा सक्रिय र चलायमान भनेको कम्युनिस्टको संगठन हो । तर, यही संगठनका कार्यकर्ताले काम पाएका छैनन् । पार्टी गतिविधि शून्य प्रायः छ । कांग्रेस गत निर्वाचनमा विपक्षमा परेस“गै माथि उठ्न सकेको छैन । यस्तो अवस्थामा कार्यकर्तामा निराशा आउनु स्वाभाविक हो ।
लोकतन्त्रमा सत्ता सञ्चालन गर्ने भनेको राजनीतिक दलले नै हो । आवधिक निर्वाचन, मानव अधिकार, सामाजिक न्याय लोकतन्त्रका सुन्दरता हुन् । अन्य कुनै पनि व्यवस्थामा यस्तो स्वतन्त्रता जनताले पाउ“दैनन् । त्यसैले, लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । अन्य कुनै पनि व्यवस्थाले यसको ठाउँ लिन सक्दैन । दलका नेताका निकम्मा पनका कारण दलहरूको आन्तरिक जीवन खलबलिएको अवस्था भएकाले धमिलो पानीमा माछा मार्ने चलखेल बढेको अनुभूति हुँदै छ । त्यसैको परिणामस्वरूप लगानी सम्मेलनको पूर्व–सन्ध्यामा देशैभरीजस्तै एनसेलका टावरमा बम विस्फोट गराइनु सबै उस्तै हुन् भन्ने कुरालाई प्रोत्साहन गर्ने खालको पशुपति शर्माको गीतले बजारमा हल्लीखल्ली मच्चाउनु संयोग हुन सक्दैन । भित्रभित्रै लोकतन्त्रका विरुद्ध खतरनाक चलखेल भइरहेको प्रस्ट संकेत हो । यसलाई मुख्य राजनीतिक दलले समयमै बुझेर निराकरण गर्न लाग्नु अब ढिलो भइसकेको छ ।
प्रतिक्रिया