महाधिवेशनलाई धकेलेर फाइदा हुँदैन: नेता थापा

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई, अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम सुरु गर्नुपर्नेमा जोड दिए ।

‘कांग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उनले भने, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।

नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताए ।

“अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उनले भने, “तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उनिहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गरे । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, उनले भने, “अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ ।

नेता थापाले अहिलको कांग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क छ । “शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नुहुन्छ”, उनले भने, “यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।

प्रतिक्रिया