जलमार्गको सम्भावना

सप्तकोसी नदीको महेन्द्रनगरदेखि बहुचर्चित धार्मिक तीर्थस्थल बराहक्षेत्र मन्दिरसम्मको २१ किलोमिटर क्षेत्रमा करिब सयजना यात्रु क्षमताका जेटबोट सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रमा विगत एक दशकदेखि २५ देखि ३० जना यात्रु बोक्ने जेटबोटहरू सञ्चालनमा छन् । तर, सानो क्षमतामा यी जेटबोटहरूले भाडा महंगो लिएको भन्दै उपभोक्ताद्वारा गुुनासो आउन थालेपछि ठूलो क्षमताका दुईवटा जेटबोट ल्याइएको हो । यी जेटबोटहरू छिटै सञ्चालनमा ल्याउने मारिन एन्ड रिसोर्ट प्रालिका नविनकुमार पौडेलले जनाएका छन् । जेटबोट भनेको इन्जिनबाट चल्ने डुंगा हो । तर नेपाली जनजिब्रोद्वारा जेटबोटलाई पानीजहाज भन्न थालिएको छ । सय जना यात्रु बोक्न सक्ने ठूला जेटबोटलाई पानीजहाजभन्दा फरक नपर्ने मारिन एण्ड रिसोर्ट प्रालिका पौडेल बताउ“छन् । ठूला जेटबोटहरू छिटै सञ्चालनमा ल्याउने तयारी गरे पनि भाडादर भने निर्धारण गरिएको छैन । अहिले चतरास्थित कोशीपुलको केही दक्षिणी क्षेत्रबाट बराह क्षेत्र मन्दिर हुँदै भोजपुरको सिम्लेसम्म साना जेटबोटहरूले सेवा दिइरहेका छन् । सिम्लेसम्मको करिब ५० सय किमी दूरीको भाडा ४ सय रुपैया लिने गरिएको छ । पैदल हि“डेर २ दिन लाग्ने ठाउमा जेटबोटबाट २० मिनेटमै पुगिने भएका कारण यस क्षेत्रमा यात्रुहरूले खासै गुनासो गरेका छैनन् ।

सप्तकोसी तथा यसका केही सहायक नदीहरूका जेटबोट चल्नसक्ने पुष्टि भइसकेपछि केही थप कम्पनीहरू पनि दर्ता भएका छन् । सुनकोसी नदीको मार्ग भएर चतरादेखि काभ्रेको दोलालघाटसम्म जेटबोट सञ्चालन गर्ने गरी सरकारले केही कम्पनीलाई इजाजत दिएको छ । सुनकोशी नदीको बीचमा रहेका ढुंगाहरू धमाधम पन्छाएर जेटबोट सञ्चालनका लागि योग्य बनाउने काम धमाधम भइरहेको छ । मार्गमा कुनै अवरोध नहुने हो भने जेटबोटको गति प्रतिघण्टा १ सय किलोमिटर हुने दावी सञ्चालकहरूको छ । यस हिसाबले चतराबाट करिव ३ घण्टामा काभ्रेको दोलालबाट पुग्न सकिने संभावना रहन्छ । अर्थात राजधानी काठमाडौं र धनारनको दुरी एक बिहानको मात्रै हुन्छ । भूपरिवेष्टित मुलुक नेपालमा पनि जलयातायातको प्रचुर सम्भावना रहेछ भन्ने कुरा अब पुष्टि भएको छ । हाम्रो मुलुकमा जलयातायातको यति ठूलो सम्भावना रहेछ । तर यो संभावना पहिल्याउन नसक्दा हामीले निकै कष्ट बोहोररहेका छौं । उदाहरणका लागि काभ्रेको दोलालघाटका बासिन्दा धरानजानु पर्दा राजधानी काठमाडौं –मुग्लिङ– नारायणगढ हुँदै १५ घण्टा लाग्ने सडक यातायातको प्रयोग गरिरहेका छन् । तर जलमार्गबाट ३ घण्टामै पुग्न सकिने अवस्था रहेछ । ‘माल पाएर पनि चाल नपाउनु’ भनेको यही हो ।

ठूला क्षमताका जेटबोटलाई पानी जहाज भन्ने वा नभन्ने कुरा आफ्नो ठाउँमा छ । तर नेपालका नदीहरूमा जलयातायात व्यवसायिक रूपमा चल्न सक्छ भन्ने उद्घोष प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहँदा धेरैले खिसी गरे । गहन अध्यायन विनाखिसी गर्ने कमजोरी नेपालीहरूको छ । २०४७ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजधानी काठमाडौंमा मेलम्चीको पानी ल्याउने उद्घोष गर्दा पनि यसरी नै खिशी गरिएको थियो । तर तत्कालीन प्रधानमन्त्री भट्टराईले असम्भव कुरा बोलेका होइन रहेछन् भन्ने कुरा पुष्टि भयो । अहिले पनि प्रधानमन्त्री ओलीले गरेको नेपालका नदीहरूमा पानीजहाज सञ्चालन गर्ने उद्घोष असंभव रहेनछ भन्ने कुरा पुष्टि भएको छ । गंगानदी हुँदै कोशी व्यारेजसम्म र गण्डकी व्यारेजसम्म २–३ सय यात्रु बोक्ने क्षमताका पानीजहाज चल्नसक्छन् भन्ने कुरा पुष्टि भएको छ । हालै सरकारले पानीजहाज सञ्चालन गर्ने कार्यलय समेत स्थापना गरेको छ । अब कार्यन्वयनमा ढिलाई गर्नुहुन्न । हु त छिमेकी मुलुक भारतले आफ्नो भूभागमा पर्ने नदीहरूमा जलमार्गका सञ्चालनमा नल्याएसम्म नेपालले गंगानदी हुँदै कोलकातासम्म पानी जहाज सञ्चालन गर्नसक्ने अवस्था छैन । तर यो काम भारतको तर्फबाट निकै धीमा गतिमा भइरहेको छ । नदीमार्फत जलयातायात सञ्चालन गर्ने संझौता नेपाल भारतबीच २०५३ साल भदौं १ गते सपन्न भएको हो । त्यो सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी भन्छन्–‘ पाँच वर्षभित्रै जलयातायात सञ्चालन गर्न सकिने प्रतिवद्धता भारतले त्यतिबेला जनाएको थियो , तर २२ वर्ष वितिसक्यो, अझै पनि त्यो संझौता भाषणमा मात्रै सीमित छ ।’

प्रतिक्रिया