राप्रपाको एकीकरण

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच गत शुक्रबार एकीकरण भएको छ । एकीकरणपछि पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको छ । हिन्दू अधिराज्य तथा संवैधानिक राजतन्त्र पुनर्वहालीलाई मुख्य एजेन्डा बनाउने सहमतिपछि यी दुई पार्टीबीच एकीकरण भएको हो । गत आमनिर्वाचन अघि नै यी दुई पार्टीबीच एकीकरणको प्रयास भएको थियो । तर, पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक)ले संवैधानिक राजतन्त्र पुनस्र्थापनाको मुद्दालाई घोषित एजेन्डा बनाउन स्वीकार नगरेका कारण एकीकरण सम्भव भएको थिएन । यसैगरी, कमल थापाले नेतृत्व गरिरहेको राप्रपालाई समेत एकीकरण गराएर पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने प्रयास पनि चुनाव अघि नभएको होइन । तर राजतन्त्र पुनस्र्थापनाको एजेन्डा तथा नेतृत्व कसले गर्ने ? भन्ने बिवादले एकीकरण सम्भव भएन । शुक्रबार एकीकरण घोषणा गरेका दुई राप्रपाले राजतन्त्र पुनर्वहालीको एजेन्डा अघि सारेका कारण कमल थापा नेतृत्वको राप्रपा पनि एकीकरणमा सामेल हुने सम्भावना बढेको छ ।

तीनवटै राप्रपा राष्ट्रिय मान्यता प्राप्त गरेका राजनीतिक दल होइनन् । गत आमनिर्वाचनमा प्राप्त मतको आ“कडा हेर्ने हो भने पनि मुलुकको राजनीतिमा राप्रपा नाम गरेका पार्टीहरूको खासै हैसियत देखि“दैन । १ करोड भन्दा बढी मतदाताले भाग लिएकोमा एकीकृत राप्रपा (राष्ट्रवादी) ले करिब २७ हजार , राप्रपा (प्रजातान्त्रिक)ले करिब ७८ हजार मत प्राप्त गरेका छन् । यी दुवै पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जितेका छैनन् । कमल थापा नेतृत्वको राप्रपाले करिब २ लाख मत प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ १ सिट जितेको छ । यदी, यी तीनवटै पार्टी एउटै भएर चुनाव लडेको भए राष्ट्रिय मान्यता प्राप्त गर्न सक्ने रहेछन् भन्ने कुरा चुनावी परिणामले देखाएको छ । फुटकै कारण राप्रपाहरूले राष्ट्रिय मान्यता गुमाएका हुन् । यदी समयमै जुटेर संगठन निर्माण थाल्ने हो भने आगामी निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलका रूपमा राप्रपा स्थापित हुन सक्छ भन्ने कुरा अहिलेसम्मका चुनावी परिणामले देखाउ“छ । जुन जुन वेला एउटा मात्रै राप्रपा चुनावी मैदानमा खडा भएको छ त्यसवेला राम्रो हैसियत प्राप्त गरेको छ । जुनवेला विभाजित भएर चुनाव लडेको छ त्यतिवेला अस्तित्वको संकट बेहोरेको छ । यो धरातलीय यर्थाथतालाई राप्रपाका नेताहरूले आत्मसात गर्नै पर्छ ।

नेपालमा तीनवटा राजनीतिक शक्ति छन् । लोकतान्त्रिक शक्तिको प्रतिनिधित्व नेपाली कांग्रेसले गरेको छ । वामपन्थी शक्तिको प्रतिनिधित्व नेकपाले गरेको छ । दक्षिणपन्थी शक्तिको प्रतिनिधित्व भने तीन वटा राप्रपामा छरिएको छ । जसमध्ये दुईवटा राप्रपा गत शुक्रबार एक ठाउँमा आएका छन् । अब एउटा राप्रपा आउन बा“की छ । मुलुकमा यसै पनि दक्षिणपन्थी जनमत अत्यन्त कम छ , त्यसमा पनि विभिन्न ब्यानरमा एक अर्काको खुट्टा तान्दै अघि बढ्ने हो भने राप्रपा नाम गरेका पार्टीहरू मुलुकमा हुनु र नहुनुको खासै अर्थ राख्दैन । राप्रपाबीचको एकीकरण युगको माग पनि हो । परिवर्तनकारी शक्तिहरूलाई गलत काम गर्नबाट रोक्नका लागि खबरदारी गर्ने शक्ति मुलुकमा दक्षिणपन्थी बाहेक अर्को छैन भन्दा फरक पर्दैन । हुनत, मधेसीदलहरू पनि छन् । तर, उनीहरूको संगठन निश्चित ससमुदायमा मात्रै छ । राप्रपाको सञ्जाल भने अहिलेसम्म सबै जिल्लामा छ । ३० वर्ष पञ्चायतमा काम गरेका प्राय नेता तथा कार्यकर्ताहरू संगठित भएका कारण मुलुकका प्राय पालिकाहरूमा राप्रपाको केही न केही अस्तित्व छ । तर एकीकरण गरी पार्टीलाई चलयामान गराउन नसक्ने हो भने यो अस्तित्व धेरै वर्ष टिक्न सक्ने अवस्था छैन । पञ्चायतमा काम गरेका राजनीतिक नेता तथा कार्यकर्ताहरूको व्यक्तिगत रूपमा जनतास“ग राम्रै सम्बन्ध थियो । यही सम्बन्धको जगमा राप्रपा अस्तित्वमा आएको हो । पञ्चायत ढलेको पनि ३० वर्ष नाघिसक्यो । यो अवधिमा धेरै जसो पञ्च नेताहरू दिवंगत भइसके । बाँकी रहेकाहरु पनि बुढा भइसके । नयाँ पुस्ता पार्टीमा आकर्षित छैनन् । पञ्चहरुका छोरा नातीको बलमा मात्रै पार्टी संगठन अघि बढाउन सजिलो छैन । तर अहिलेसम्म पञ्चका छोरा नातीहरुले गाउ“–गाउ“मा र टोल–टोलमा राप्रपाको उपस्थिति जनाइरहेका छन् । हिन्दू अधिराज्य तथा राजतन्त्र नै ठिक भन्ने परम्परावादी जनमतलाई संगठित गर्न राप्रपाले सक्ने अवस्था पनि छ । पार्टीलाई अघि बढाउन आवश्यक पर्ने आर्थिक स्रोत साधन पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार तथा उनका नातागोतासँग प्रचुर छ । यो सबै सम्भावनालाई सदुपयोग गरी एउटै झण्डामुनि संगठित रूपमा एक ढिक्का हुने हो भने राप्रपाको भविष्य अन्धकार छैन ।

प्रतिक्रिया