भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी साउन–भदौदेखि सञ्चालनमा आउने घोषणा सरकारले गरेसँगै सर्वसाधारण जनतामा उत्साह छाएको छ । उक्त विमानस्थल निर्माणको काम सम्पन्न भए पनि भारतले विमान नेपाल प्रवेश गर्ने हवाई रुट थप नगरेसम्म नेपालले खासै ठूलो आर्थिक लाभ लिन नसक्ने प्राविधिकहरूको भनाइले सर्वसाधारण नेपालीहरूमा केही खिन्नता ल्याएको थियो । हाल भारतले नेपाललाई सिमरा नजिकबाट एक मात्रै हवाई रुट दिँदै आएको छ । यो एक मात्रै हवाई रुटले काम चल्न कठिनाइ भएकोले नेपालले विराटनगर, भैरहवा र महेन्द्रनगर थप तीन ठाउँबाट हवाई रुट दिन भारतसँग धेरै पहिलेदेखि पहल गर्दै आएको थियो । यसमा भारतले सहमति जनाएपछि नै नेपालले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाएको हो । तर, विमानस्थल निर्माण सम्पन्न हुन लाग्दासमेत भारतले हवाई रुट थप नगरिदिएका कारण अन्योलता बढेको थियो । गत असारको पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर भएको पनि थियो । यसलाई केपी शर्मा ओली नेतृत्वको सरकारले भारतस“ग सम्बन्ध थप सुमधुर भएको प्रमाणका रूपमा लिनुपर्ने जनाएको थियो तर, लिखित सहमतिबाट पछि हट्दै भारतले नेपाललाई पूर्व र पश्चिमतर्फ हवाई रुट दिन अस्वीकार गर्यो । गतसाता पर्यटनमन्त्री रवीन्द्र अधिकारी सँगको भेटमा भारतीय पर्यटनमन्त्री सुरेश प्रभुले भैरहवाको सीमा नजिकबाट हवाई रुट दिने सहमति जनाएका छन् । यो सहमतिका कारण अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकै सजिलो र सस्तो पर्ने निश्चित छ । तर, समस्या भने समाधान भएको छैन ।
नेपालको प्राथमिकता भैरहवा सीमा क्षेत्रको हवाई रुट होइन । महेन्द्रनगर सीमा क्षेत्र र विराटनगर सीमा क्षेत्रबाट नेपालले हवाई रुट मागेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतबाट नेपाल प्रवेश गर्ने हवाई रुट भैरहवा भन्दा महेन्द्रनगर या विराटनगर उपयुक्त हुने प्राविधिक तथा सुरक्षा विज्ञहरूको भनाइ छ । हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाका अनुसार प्रवेश स्पेस विमानस्थलभन्दा करिब सय ‘नउटिकल माइल’ बाट चाहिन्छ । किनकि, विमान अवतरणका क्रममा २७ हजार फिटबाट उचाइ कम गर्न (ओर्लिन) सुरु गर्नुपर्छ । अहिले भारतीय एयर स्पेसबाट ओर्लिनु पर्दा उसैको एयर ट्राफिक कन्ट्रोलरलाई सोध्नुपर्छ । त्यसको कन्ट्रोेल कोलकताले गरिरहेको छ । अहिले नेपाल आउने विमानले ‘म अब ओर्लिन लागेँ है’ भनेर कोलकतासँग क्लियरेन्स माग्नुपर्छ । उसले ‘क्लियर टु ल्यान्ड, क्लियर टु डिसेन्ट’ भनेर अनुमति दिनुपर्छ । भैरहवाबाट एयर स्पेश लि“दा पनि यो अवस्था कायमै रहनेछ । किनभने भैरहवा भारतको सीमा नजिकै छ । भैरहवाबाट एयरस्पेस लिँदा विमान अवतरण गर्ने अन्तिम समयसम्म पनि सबै कन्ट्रोल भारतको कन्ट्रोलरले गर्नुपर्छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरण आफ्नै देशको नियन्त्रणमा रहने गरी भारतले हवाई रुट दिएको छ । नेपाल–भारत सम्बन्ध अझै पनि सुमधुर भएको छैन भन्ने प्रमाण हो यो । नेपालको भूगोल नै उत्तर दक्षिण साँघुरो छ । पूर्व पश्चिम फराकिलो छ । भारतले यदी नेताललाई महेन्द्रनगर र विराटनगरबाट हवाई रुट दिने हो भने नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्न भारतीय अनुमति चाहिने थिएन । ठूला जहाज अवतरण गर्नसक्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सकिने ठाउँ नेपालमा तराई क्षेत्र बाहेक अन्यत्र छैन । तर, तराई क्षेत्र भारतीय सीमाबाट धेरै नै नजिक छ । अवतरणका क्रममा ‘सय नटिकल माइल’ दुरीबाटै विमानलाई निकै तल झार्दै ल्याउनुपर्ने भएकोले समस्या हुने प्राविधिकहरूको भनाइ छ । भैरहवाको रुट पोखरामा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत उपयुक्त नभएको प्राविधिकहरू बताउँछन् ।
प्रतिक्रिया