अवैध पाकिस्तानीलार्इ प्रवेश नदेउ

बाँके । भारतले नेपालको सिमाबाट अवैध रूपमा पाकिस्तानी नागरिक प्रवेश गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाललाई यसविषयमा जानकारी गराए पनि खासै ठूलो प्रगति हुन नसकेको समेत आरोप लगाएको छ ।

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपाल नाका भएर पाकिस्तानी नागरिकको अवैध प्रवेश नियन्त्रण हुन नसकेको प्रति सार्वजनिक कार्यक्रममै गहिरो चिन्ता प्रकट गरेका छन् ।नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतीय बजार रूपैडिहामा निर्माण हुन लागेको एकीकृत भन्सार जाँच चौकीको सोमबार शिलान्यास गर्दै गृहमन्त्री सिंहले यस्तो चिन्ता जाहेर गरेका हुन् ।

नेपालगञ्ज रूपैडिहा संयुक्त एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न केन्द्रीय गृहमन्त्री सिंह सोमबार सीमावर्ती क्षेत्ररूपैडिहा आएका थिए । भारततर्फको एकीकृत भन्सार जाँचचौकी शिलान्यास गर्दै गृहमन्त्री सिंहले नेपालको बाटो हुँदै पाकिस्तानी नागरिकको अवैध प्रवेश भइरहेको गुप्तचर विभागको गुनासो आएकोले यसलाई दुवै पक्ष मिलेर नियन्त्रण गर्नुपर्ने बताए । उनले नेपालका तर्फबाट यसलाई रोक्न विशेष पहल हुनुपर्ने जिकिरसमेत गरेका छन् ।

नेपालगञ्ज रूपैडिहा संयुक्त एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न केन्द्रीय गृहमन्त्री सिंह सोमबार सीमावर्ती क्षेत्ररूपैडिहा आएका थिए

‘नेपालको बाटो हुँदै पाकिस्तानी नागरिक अवैध रूपमा भारत प्रवेश गर्ने गरेको छन्,’ कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न दुवै देशले विशेष पहल गर्नुपर्ने देखिन्छ ।’ भारतमा हुने विभिन्न आतंकवादी हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएका वेला त्यस्ता पाकिस्तानी नागरिकले नेपाली बाटो प्रयोग गरेको सार्वजनिक रूपमै भनेको हो ।

यद्यपि, सिंहले अवैध प्रवेशको विषय उठाए पनि नेपालसंगको मित्रता भने घनिष्ठ रहेको उल्लेख गरे । एकीकृत भन्सार जाँच चौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको भनाइ छ । आफ्नो सामथ्र्य बिर्सेर भारतमाथि आँखा लगाउने गरेको भन्दै गृहमन्त्री सिंहले पाकिस्तानको भने चर्को आलोचना गरे ।

एकीकृत भन्सार जाँचचौकी निर्माण सम्पन्न भएपछि नेपालसँगको व्यापार अझ विस्तार हुने गृहमन्त्री सिंहले विश्वास लिएको बताए । नेपालगञ्ज र रूपैडिहामा एकीकृत जाँचचौकी निर्माण भइरहेको छ । १ सय ४२ एकडमा निर्माण हुन लागेको जाँच चौकीका लागि दुई सय करोड लाग्ने अनुमान गरिएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ ।

‘सुख्खा बन्दरगाह’ निर्माणमा ढिलाइ
नेपालगञ्ज नाकाका लागि अत्यन्तै महत्वपूर्ण मानिएको भारतसँगको सीमावर्ती क्षेत्रमा प्रस्तावित एकीकृत सुरक्षा चेकजाँच चौकी (आइसिपी) निर्माण कार्य औपचारिक रूपमै सोमबारदेखि सुरु भएको छ । सोमबार एक भव्य समारोह बीच भारत सरकारका प्रभावशाली प्रतिनिधि, केन्द्रीय गृहमन्त्री सिंहले आइसिपीको औपचारिक शिलान्यास गरेका हुन् ।

झण्डै डेढ दशकदेखि वीरगञ्ज र नेपालगञ्जमा सुख्खा बन्दरगाहका रूपमा आइसिपी निर्माणको कुरा चल्दै आएपनि नेपालगञ्जमा काम प्रभावकारी रूपले सुरु हुन सकेको थिएन । वीरगञ्जमा केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै सुख्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । नेपालगञ्ज नाकाको रूपैडिहा नजिकै प्रस्तावित निर्माण स्थलमा भने गतवर्षदेखि पहिलो चरणको काम सुरु भएको थियो ।

भारततर्फको निर्माण सुरु भईसकेकोले लगत्तै नेपाल तर्फ पनि आइसीपीको काम सुरु हुने विश्वास गरिएको छ । भारततर्फ पूर्वाधार निर्माणको आधारभूमि तय गरिसकिए पनि नेपालतर्फ भने जग्गा अधिग्रहण गर्ने बाहेकका कुनै काम अगाडि बढेका छैनन् । एक दशकदेखि अलपत्र निर्माण कार्य भारत सरकारले आफ्नो तर्फ अगाडि बढाइरहँदा अधिग्रहण गरेको ९० बिघा क्षेत्रफलको जग्गा चौरमा परिणत भएको छ ।

जयसपुरमा अधिग्रहण गरिएको जग्गामा सम्पूर्ण पूर्वाधार भारत सरकारले आफ्नै खर्चमा निर्माण गरिदिने प्रतिबद्धताअनुसार ठेक्कासमेत गरेको समाचार प्रकाशमा आए पनि काम अगाडि बढ्न सकेको छैन । नेपाल सरकारले आफ्नो काम पूरा गरेर भारतीय प्रतिबद्धता कार्यान्वयनको पर्खाइमा बसेको एक दशक भइसकेको छ ।

सुख्खा बन्दरगाहका रूपमा मानिएको आइसिपी निर्माण भएपछि भारतबाट आयात हुने सामान सजिलो र सहुलियतमा नेपालगञ्जसम्म आइपुग्ने छ । त्यसका लागि फोरलेन सडक र ब्रोडगेज रेल्वे लाइन आइसिपीसम्म निर्माण हुनेछ । सुख्खा बन्दरगाहपछि कार्गोको सहज निकासदेखि चेकजाँचका नाममा हप्तौँ हुने झन्झट मुक्त हुने विश्वासका साथ निजी क्षेत्रले निर्माण कार्य सुरु गर्ने दबाब दिँदै आएको हो ।

प्रतिक्रिया