आलेख : ओझेलमा सिन्जा

गमगढी सडकखण्डअन्तर्गत सिन्जा हुँदै मुगु रारा ताल पुगिन्छ । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिन्जा सभ्यता । सरकारले नयाँ गन्तव्यका रूपमा राखेको सिन्जा नेपाली खस भाषा र खस सभ्यताको उद्गम थलो पनि हो । तर, अहिले सरकारी उदासिनताका कारण सिन्जा सभ्यता संकटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराटदरबार, कनका सुन्दरी मन्दिरलगायत ढुंगाले कुँदिएका विभिन्न आकृति अलपत्र छन् । तिनको भग्नावशेष मात्रै भेटिन्छन् । संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन ।

१४५५ सालमा राजा जालन्धरले सिन्जा राज्य स्थापना गरेका थिए । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शी’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिन्जा नाम राखेको जनविश्वास छ । ‘जालन्धरकी रानी वृन्दाले बास गरेको’ भनी सिन्जामा आज पनि पूजा गरिने देवीलाई ‘वृन्दावासिनी’ भनिन्छ । पुराणमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको छ ।

यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा ‘बिन्नैनी’ भनी उच्चारण गर्ने गरिन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा नगरमा करिब ३ सय वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिन्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ । यिनै खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गडवालसम्मका तमाम राज्यलाई आफ्नो साम्राज्यभित्र गाभेको पाइन्छ ।

देशले विभिन्न कालखण्ड पार गरे पनि सिन्जा नेतृत्वको उपेक्षामा परिरह्यो । विगतमा प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट, डा. हर्क गुरुङ र शताब्दी पुरुष सत्यमोहन जोशीले कर्णालीको जनजीवनबारे लेखे । यसमा रत्नाकर देवकोटा छुटाउनै नहुने नाम हो । यो सूचीमा शौभाग्य शाह पनि पर्दछन् । अहिले कर्णाली र सिन्जा सभ्यताबारे डा. दीपेन्द्र रोकाया र डा. कलबहादुर रोकायाले पनि कलम चलाइरहेका छन् ।

सिन्जा सभ्यता विकासको लामो शृंखला छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान र सिन्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार, राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मण कार्यरत रहेको इतिहास भेटिने गरेको छ ।

राज्यको राजधानी रहेको सिन्जा आफैँमा महत्वपूर्ण स्थान हो । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की र सन्न्यासी मस्टो मान्ने भएकाले यिनीहरू प्रकृति पुजक हुन् जुन तराईका ब्राह्मण र क्षेत्रीले मान्ने देवताभन्दा सर्वप्राचीन हुन् भनेर विद्वान्हरूले लेखेका छन्् । यसबाट कर्णालीका खस आदिवासी हुन् भन्न सकिन्छ ।

तत्कालीन खस राज्यको राजधानी रहेको कनका सुन्दरी गाउँपालिका हाडसिन्जाका ८१ वर्षीय धनलाल हमालले ‘सिन्जा सभ्यता’ ओझेल पर्दै गएको प्रति चिन्ता व्यक्त गरे । हमाल मात्रै होइन, सिन्जा सभ्यता संकटमा पर्दै गएको भन्दै सिन्जा सिमपाटीका ४५ वर्षीय भैरव बोहोरा पनि चिन्तित छन् । यहाँ विराट् दरबारको भग्नावशेष मात्रै भेटिन्छ । त्यसको संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन ।

‘उहिले मेरा दिन थिया र खिर खा भन्या खाइन, अहिले मेरा दिन गया र मैको पानी पाइन (उहिले मेरा दिन राम्रा थिए, खीर खा भन्दा खाइनँ, अहिले मेरा दिन गए, मोही पनि पाइनँ)’ भने जस्तै सिन्जा उपत्यकाको विकास गर्न नसकेकामा स्थानीय बासिन्दा पछुताएका छन् ।

सिन्जा सभ्यताका अनुसन्धानकर्ता सिन्जा लुड्कु–९ का वासुदेव उपाध्याय पनि यस्तै गुनासो गर्छन् । ‘हामी आफैँले सिन्जा सभ्यताको संरक्षण, प्रवद्र्धन र जगेर्ना गर्न आवश्यक छ, सिन्जा राज्य शक्तिशाली भएको वेला अपेक्षित विकास गर्न सकेनौँ,’ प्रतिप्रश्न गर्दै उनले भने, ‘अब यहाँको विकास गर्ने को छ र ?’ नेपालमा बोलिने सम्पूर्ण भाषा सरकारले संरक्षण गरे पनि नेपाली भाषाको उत्पत्ति भएको खस भाषाका विषयमा सरकारले सुन्न पनि नचाहेको उनी बताउँछन् ।

‘खसिया आखर’ शब्दकोश
कर्णाली प्रदेशको प्रमुख केन्द्र सिन्जा नेपाली खस भाषाको उद्गम स्थल हो । यहाँबाट सुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आइएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बुढापाकाले खस भाषा बोल्ने गर्दछन् । युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ ।

चार दरा रहेको जुम्लाको सिन्जा दरामा खस साम्राज्य भएको वेला बोलिने खस भाषा बोलिन्छ । ब्राह्मण, क्षेत्रीलगायतको बाहुल्य रहेको ठाउँमा अलि फरक शैलीमा बोलिन्छ । असी दरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा रहेको छ भने चौधबीस दरामा तिब्बती र भोटे भाषासँग खस भाषा प्रभावित छ ।

तत्कालीन सिन्जाबाट जारी ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस वेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिन्जालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्ययनकर्ता रमानन्द आचार्य बताउँछन् । एक दशकदेखि ‘खसिया आखर’ शब्दकोश लेखिरहेका छन्, उनी । जुम्लाका एक मात्र संस्कृतिसम्बन्धी जानकारसमेत हुन्, आचार्य । उनले तत्कालीन जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश लेख्न सुरु गरेका थिए ।

आचार्य खस साम्राज्य रहेका कर्णालीका दैलेख, बाजुरा, मुगु, हुम्ला, डोल्पा र कालीकोट गएर पहिले बोलिने शब्द संकलन गरेको बताउँछन् । उनका अनुसार शब्दकोशमा १० हजार शब्द संग्रहित हुनेछन् । अहिले शब्दकोश टाइप भइरहेको उनले बताए ।

प्रतिक्रिया