नेपाल बहुभाषा, बहुधर्म, बहुसंस्कृतिजस्तै बहुकलाले समेत सुसज्जित छ । परम्परादेखि नै मूर्तिकलाको क्षेत्रमा साधनारत मूर्तिकारले सिर्जना गरेका मूर्ति नै नेपाली कलाको मुख्य पहिचानको रूपमा देश विदेशमा परिचित छ । काठ र ढुंगामा कुँदिएका मूर्ति तथा तिनमा प्रयुक्त विभिन्न बुट्टाले विश्वका मानिसको ध्यान तान्दै आइरहेको पाइन्छ ।
मनमोहक मूर्ति किनेर लैजानु, विदेशबाटै माग गर्नु र किन्न नमिल्ने मूर्ति चोरी हुनुले पनि नेपाली परम्परागत मूर्तिको महत्व निकै हुने गरेको छ । यसले नेपाली मूर्तिको ओजलाई विश्वमा चिनाउन र चिन्न निकै टेवा दिएको छ । नेपालमा मूर्तिकलाको विकास २५ सय वर्ष अघिदेखि भएको पाइन्छ । लुम्बिनी, कपिलवस्तु, मुस्ताङ तथा अन्य स्थानमा भेटिएका मूर्तिले नेपालको ऐतिहासिक वैभवतालाई विश्वमान चित्रमा चिनाउन सकेका छन् ।
विश्व समाजमा आधुनिक मूर्तिकलाको सुरुआत २०औँ शताब्दीतिर भए पनि नेपालमा ठाकुरप्रसाद मैनाली भारतबाट आफ्नो अध्ययन सकेर नेपाल फर्किएपछि ०१८ सालपछि मात्रै आधुनिक मूर्तिकला नेपालमा भित्रिएको पाइन्छ । मूर्तिकारलाई आधुनिक मूर्तिको बारेमा बुझाउँदै जाने क्रमसँगै नेपालमा आधुनिक मूर्तिकला केही विस्तार हुन गयो । त्यही संघर्ष र साधनाको परिणाम हो आजको नेपाली आधुनिक मूर्तिकला । ०१८ सालमा बहादुर भवनमा पहिलोपटक मूर्तिकला प्रदर्शनी भएको थियो ।
आधुनिक मूर्तिकलाका प्रणेता ठाकुरप्रसाद मैनालीका आधुनिक मूर्तिहरू भृकुटीमण्डपको बगैँचा, विभिन्न दूरसञ्चारका कार्यालयहरू, कृषि विभाग र टिचिङ अस्पताल आदि विभिन्न ठाउँहरूमा प्रतिस्थापन गरिएका छन् । नेपालका केही मूर्तिकारले नेपाली आधुनिक मूर्तिकलालाई विश्वसामु पस्कनुपर्छ साथै आफूलाई थाहा नभएको ज्ञान विदेशी मूर्तिकारहरूसँगबाट ग्रहण गर्न जरुरी ठानी आधुनिक मूर्तिकार ओम खत्रीको संयोजकत्वमा सन् २००५ मा टेक्नोलोजीमा विश्वमा अग्रस्थानमा रहेको देश जापानसँग नेपालमा दुई देशका मूर्तिकारहरू मिलेर प्रस्तर मूर्तिकला कार्यशाला गर्ने सम्झौता भयो ।
त्यतिवेला नेपाली आधुनिक मूर्तिकला बारे धेरै मूर्तिकारहरू नै अनभिज्ञ थिए । उक्त कार्यशालाले नेपाली आधुनिक मूर्तिकारलाई धेरै कुरा ज्ञान हुनुको साथै मूर्ति बनाउन प्रयोग हुने विभिन्न औजारका बारेमा समेत राम्रो जानकारी प्राप्त भएको थियो ।
नेपाली ललित कलाकारको अथक प्रयास र ०६२÷६३ सालको जनआन्दोलनपश्चात् स्थापना भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मूर्तिकला विभाग बन्यो । त्यतिवेला नै विभागीय प्रमुखले मूर्तिकलाको विकास र विस्तारका लागि मूर्तिकारका समस्याहरू र निराकरणका उपायका बारेमा प्रतिष्ठानमा छलफल भएको थियो ।
प्रतिष्ठानले गर्नुपर्ने कामको बारेमा अध्ययन गर्दा एउटा मूर्तिकला स्टुडियो बनाउनुपर्ने, मूर्ति निर्माणका मुख्य–मुख्य सामान किन्नुपर्ने साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मूर्तिकला कार्यशाला गर्नुपर्ने देखियो । विश्वका जुनसुकै देशमा पनि मूर्तिकार अन्य कलाको भन्दा मात्रात्मक रूपमा कम नै हुन्छन् ।
त्यही परिस्थिति त्यतिवेला नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषद्मा पनि भयो । नौ जनाको कार्यसमितिमा दुई जना मात्रै मूर्तिकार हुँदा परिषद्का सदस्यलाई मनाउन पनि केही समय लाग्यो अन्ततः प्राज्ञपरिषद्ले मूर्तिकला स्टुडियो निर्माण गर्ने निर्णय गरी ०६८ सालमा सो कार्य सम्पन्न भयो । सोही निर्णयबमोजिम ठुल्ठूला मूर्ति बनाउन सकिने स्टुडियोको निर्माण भयो । त्यस किसिमको स्टुडियो निमार्ण हुनु नेपाली मूर्तिकारका लागि एउटा गौरवको विषय हो ।
हाल धेरै क्षेत्रमा सफ्टवेयरको विकासले काम गर्न निकै सजिलो भएको छ । यसको प्रयोगबाट आजको युगमा मूर्तिकारले पनि मूर्ति निर्माणमा निकै फड्को मारेका छन् । २१औँ शताब्दीको सुरुदेखि नै अन्य मुलुकका मूर्तिकारले यस सफ्टवयर्स प्रयोगमा ल्याएका छन् । माया यस्तो सफ्टवयर्स हो जसले आफूले चाहेको मूर्तिको आकार कसरी काट्ने, कुन ठाउँमा राख्दा राम्रो देखिन्छ, कसरी राख्दा राम्रो देखिन्छ, कुन रंगमा राम्रो देखिन्छ भन्ने पूर्व दृश्यावलोकन गर्न सकिन्छ ।
यही ज्ञान नेपालका केही कलाकारले गर्दै आए तापनि धेरै मूर्तिकारलाई यसका बारेमा राम्ररी जानकारी थिएन । त्यस अवसरबाट वञ्चित भएको कुरालाई मध्यनजर गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले १५ जना मूर्तिकारको सहभागितामा ०६८ सालमा तीन दिने माया सफ्टवयर्स कार्यशाला गरेको समेत थियो ।
त्यसवेला नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको मूर्तिकला विभागले नेपालका विभिन्न जिल्लामा काम गरिरहेको मूर्तिकारलाई काठमाडौंमा बोलाएर प्रतिष्ठानकै स्टुडियोमा पाँच दिने आवासीय सेरामिक्स कार्यशाला गरेको थियो । जसले मूर्तिकारहरू बीचमा भएको खाडल सम्याउने काम भएको थियो भने मूर्तिकारले आफूले जानेका कुराहरू सिकाउने र नजानेका कुराहरू सिक्ने मौका मिलेको थियो । त्यस कार्यशालाले मूर्तिकारलाई एकता पनि बनायो । यसरी नै उक्त विभागले ढलोटको कार्यशाला पनि सम्पन्न गरेको थियो ।
मूर्तिकलाको विकास र विस्तारकै लागि ०६९ सालमा हर्नामाडी–७ मकवानपुरमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । यस कार्यशालाको आयोजना नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन भई भव्यरूपमा सम्पन्न भएको थियो ।
त्यस कार्यशालामा सहभागी कलाकार जापानका सुगिमोतो जुनीचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुङ सु फ्रान्सकी लेतिचिया दी बजालरे ल्यू योङ चीनलगायत नेपालका १८ जना मूर्तिकारहरू क्रमशः ओम खत्री, नागेन्द्र राजभण्डारी, सुदर्शनविक्रम राणा, नरेन्द्रप्रसाद भण्डारी, राजु पिठाकोटे, विष्णुप्रसाद श्रेष्ठ, वैकुण्ठमान श्रेष्ठ, शारदामान श्रेष्ठ, राजन काफ्ले, गोविन्द चौधरी, बुद्ध थारू, ओमभक्त भण्डारी, बाबुलाल वाइबा, गंगाधर सारू, पूर्णकाजी शाक्य, लक्ष्मण भुजेल, प्रकाश शाक्य, चन्द्रश्याम डंगोल र १० जना कलेजका विद्यार्थी सहयोगीहरू (एसिस्टेन्ट) ¬लगायत स्वयंसेवक रहेका थिए ।
त्यस कार्यशाला नेपालको पहिलो अन्तर्राष्ट्रिय कार्यशाला भएकाले त्यतिवेला कलाकार तथा सम्पूर्ण नेपालीकै ध्यान त्यसै कार्यशालामा गइरहेको थियो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, पर्यटन आदि सबै क्षेत्रबाट हेर्दा त्यो कार्यशाला एकदमै सफल भएको पाउन सकिन्छ । नेपाली मूर्तिकारले विदेशी मूर्तिकारको सीप, शैली, ज्ञान र मेसिनरी औजारका बारेमा नजिकबाट सिक्ने र अनुभव गर्ने मौका मिलेको थियोे । नेपालीले विदेशी संस्कार, रहनसहन, बानी र व्यवहार बुझ्ने मौका मिलेकोका खुसी व्यक्त गरे भने विदेशी मूर्तिकार पनि नेपाली संस्कार, संस्कृति, व्यवहार, वातावरण र हाउभाउदेखि मनै गद्गद् भएको कुरा व्यक्त गरेका थिए । त्यस अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा विभिन्न देशका कलाकार सहभागी हुनुले पर्यटक संख्या अझ बढ्ने कुरामा दुइमत नै छैन ।
यसरी नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला ः पोखरामा अन्तर्राष्ट्रिय, चितवनमा राष्ट्रिय, इटहरीमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गरी विभिन्न ठाउँमा भएका छन् । यसै क्रममा हालसालै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको मूर्तिकला विभागद्वारा अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा सम्पन्न भयो । जहाँ ७ देशका विदेशी मूर्तिकार ११ जनाका २३ वटा कलाकृति र नेपाली कलाकारहरू ४४ जनाका ८४ वटा कलाकृति प्रदर्शन रहेका थिए ।
मूर्तिकला खर्चिलो (समय र धन), गाह्रो विधा, शारीरिक तथा मानसिक शक्ति पनि धेरै चाहिने भएकाले यस क्षेत्रमा लाग्ने (संलग्न हुने) कलाकार एकदमै कम छन् । त्यसमा पनि महिला कलाकार त औँलामा गन्न सकिने मात्रै रहेका छन् । सिर्जित मूर्तिको स्टोर गर्न पनि धेरै ठाउँ लाग्ने भएकाले पनि मूर्तिकार नयाँनयाँ सिर्जनाहरू गर्नबाट पछि हट्छन् । यही कारणले मूर्तिकला विधामा मूर्तिकारको प्रतिस्पर्धा कम हुने गरेको छ ।
हाम्रो देशमा राष्ट्रियस्तरको मूर्तिकला संग्रहालय नहुनु कला पारखी र सम्पूर्ण मूर्तिकारको दुःखद् पक्ष हो । यदि, सरकारले यसप्रकारको संग्रहालय खोल्दा एकातर्फ रोजगारीको सिर्जना हुन्छ भने अर्कोतर्फ कलाकार राम्राराम्रा मूर्ति बनाउन उत्सुक भई नयाँनयाँ कलाकृति सिर्जना हुन्छन् । यसले गर्दा पर्यटक भ्रमण गर्ने भएकाले हाम्रो राष्ट्रिय आम्दानी वृद्धि हुन जान्छ । तसर्थ, सरकारले जतिसक्दो चाँडो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय र मूर्तिकारलाई स्टुडियो बनाउनैपर्ने भएको छ ।
अन्त्यमा, नेपाली मूर्तिकलाको विकास र विस्तारका लागि राज्यस्तरबाट मूर्तिकारसँगको छलफलमा योजनागत रूपमा कार्य गर्नुपर्ने हुन्छ । नेपाल र नेपालीको शिर उँचो राख्नका लागि हिजो पनि नेपाली मूर्तिकारको योगदान महत्वपूर्ण रह्यो साथै भोलिका दिनमा पनि नेपाली मूर्तिकला विश्वमा जगमगाउने नै छ ।
प्रतिक्रिया