मोडलिङ र अभिनय एक साथ

                                                                                  सरिता विष्ट

ताप्लेजुङको दुर्गम गाउँमा जन्मिएर हुर्किएकी सरिता विष्टलाई मोडलिङ गर्ने सानैदेखि रहर थियो । तर, गाउँ दुर्गम ठाउँमा भएर राम्रोसँग यस क्षेत्रमा लाग्न अवसर भने उनले पाइनन् । संकटकालका वेला ताप्लेजुङबाट झापामा बसाइँ सरेर गएपछि उनको ईच्छामा केही सहता हुँदै गएको उनी सम्झिन्छिन् । आफ्नी जन्मदिने आमाको ईच्छा थियो, ‘छोरीलाई मोडलिङ क्षेत्रमा राम्रोसँग जमेको देख्न चाहनु र आमाको ईच्छासँगै उनको रहर पनि यसै क्षेत्रमा करिअर बनाउने र देशमै चिनिने थियो ।’

उनले आफ्नो रुचिको क्षेत्रमा भने ०७१ सालबाट जोडिने अवसर पाइन् । जब उनी त्यसवेला काठमाडौं आएर ‘बिरानो ठाउँमा’ लोकदोहोरी गीतको भिडियोबाट आफ्नो करिअर सुरु गरिन् । त्यही भिडियोबाट उनलाई केही आर्थिक आम्दानीसमेत भएको उनले सुनाइन् । आफूले पहिलोपटक मोडलिङबाट प्राप्त गरेको उक्त रकम उनले भगवान्को नाममा चढाएको बताइन् ।

उनी भन्छिन् ‘आफूले आँटेर मात्रै हुँदैन आँटसँगै भगवान्को आशीर्वाद पनि चाहिन्छ । त्यसैले, मेरो ठूलो आस्था छ भगवान्प्रति ।’ त्यसपछि यस क्षेत्रमा आफू राम्ररी जम्दै जान थालेको सुनाउँदै उनले भनिन्, ‘तर, मैले बीचैमा २ वर्षजति मोडलिङबाट ओझेलमा पर्न बाध्य भएँ ।’  कलाकारिताको क्षेत्रमा लागे पनि जीवनका ओकाली ओरालीमा कहिलेकाहीँ रोकिनुपरे पनि पछि उनले यसमै आफूलाई समर्पित गर्दै अगाडि बढिनन् ।

सुरुबाटै निरन्तर यस क्षेत्रलाई अगाडि बढाउन नपाएकी विष्ट भन्छिन् ‘घरमा मेरो भाउजू साह्रै बिरामी हुनुभयो, उहाँको पाँच महिनाको बच्चा मैले नै दुई वर्षसम्म हुर्काउन प¥यो । बीचैमा ओझेल परेँ, जब बच्चा केही ठूलो र आफूले पहिला सुरु गरेको करिअरलाई अघि बढाउनुपर्छ भन्ने मान्यताले क्रमशः यसैलाई निरन्तरता दिन थालेँ ।’

हालसम्म आधा दर्जनको हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरिसकेको सरिताले जानकारी दिइन् । काठमाडौंको बागबजारस्थित पुष्कर लामाद्वारा सञ्चालित वृहस्पति नृत्यकला स्कुलबाट नृत्य सिकेकी उनले आफ्नो प्रेरणाको स्रोत भने आफ्नी आमा र पुष्कर लामालाई दिन्छिन् । अहिले आमा नभए पनि आमाको सपना पूरा गर्ने लक्ष्य लिएर यही क्षेत्रमा मिहिनेत गर्दै अगाडि बढिरहेको उनले बताइन् ।

घर परिवारबाट साथ र सहयोग मिलेकै कारण उनी यस क्षेत्रमा अगाडि बढ्न सहज भएको बताउँदै थपिन्, ‘हर मानिस आफूले ईच्छाएको क्षेत्रमा सफल हुन पारिवारिक सहयोग महत्वपूर्ण हुन्छ । मेरो करिअर सफल बनाउनका लागि मेरो परिवारको पनि मलाई सक्दो सहयोग र भरोसा मिलेको छ ।’

लोकदोहोरी गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनले अन्य विविध गीतमा समेत अभिनय गरेकी छन् । उनले गायक प्रमोद खरेलको ‘तिमी र म सँगसँगै’ बोलको आधुनिक गीतमा समेत अभिनय गरेकी छन् । आफूले मोडलिङ गरेका म्युजिक भिडियोमध्ये उक्त गीतको भिडियोलाई लाखौँ दर्शकस्रोताले मन पराएको उनले बताइन् ।

मोडलिङ क्षेत्रमा सुरुआतका दिनमा उनले केही अप्ठ्यारो महसुस गरेको भए पनि काम गर्दै जाँदा सहज भएको अनुभव उनले सुनाइन् ।  पहिले–पहिले गीत संगीतका क्षेत्रमा लाग्ने कलाकारप्रति गाउँ समाजमा राम्रो दृष्टिकोणले हेर्ने चलन थिएन । पछिल्लो समय यो क्षेत्र व्यावसायिक रूपमा अघि बढेपछि धेरै कलाकारको कमाइको आधार नै यही क्षेत्र बनेको छ । सरिताले भने समाजले कसरी हेर्छभन्दा पनि आफ्नो प्रतिभामार्फत करिअर बनाउने ध्याउन्नमा आफू लागेको बताइन् ।

उनी भन्छिन् ‘कुरा काट्ने कोही भएन र पछाडिबाट खुट्टा तान्ने भएनन् भने आफू कसरी अगाडि बढ्ने ? समाजमा यस्ता व्यक्ति पनि चाहिन्छन् । जसले कलाकारलाई झन् सशक्त भएर अगाडि बढ्न उत्प्रेरित गर्छ ।’ पहिलाको तुलानामा अहिले गाउँ समाज पनि परिवर्तन हुँदै गएको महसुस आफूले गरेको उनको भनाइ छ । अहिले उनको कामप्रति समाजले समेत गर्व गर्न थालेकोमा उनी खुसीसमेत रहेको धारणा व्यक्त गरिन् ।

आफ्ना साथीहरूबाट पनि उनले साथ सहयोग र वाह वाह पाएकी छन् । पछिल्लो समय उनी मोडलिङमा मात्रै नभई टेलिभिजनबाट प्रसारण हुने अधिकार, शंका, आशंका र उपद्रो लगायतका टेलिसिरियलमा समेत अभिनय गर्न थालेकी छन् । आफूलाई अनुभव भएको कुनै पनि कामबाट पछि हट्न हुँदैन भन्ने मान्यता लिएकी सरिता भन्छिन्, ‘मोडलिङ कहिलेकाहीँ मात्रै काम हुन्छ । अभिनयमा समेत मेरो रुचि भएका कारण यस क्षेत्रमा लागेकी हुँ ।’

अन्य पेसाभन्दा कलाकारिता क्षेत्रबाट छिटो र सजिलै देशमा चिनिने उद्देश्यले यस क्षेत्रमा होमिएकी उनलाई आगामी दिनमा समाजसेवासमेत गरेर आमाको ईच्छा पूरा गर्ने लक्ष्य रहेको बताइन् । ‘यो संसारमा मेरी आमा हुनुहुन्न । आमाले बोलेका कुरा र उहाँका इच्छा, सपना मेरो मन मस्तिष्कमा बसिरहेको छ, तिनै कुराको स्मरण गर्दै यस क्षेत्रमा मिहिनेत गरिरहेकी छु,’ उनले भनिन् । असली नाम सरिता भए पनि आजभोलि सबैले समीक्षाको नामले बोलाउने गरेको उनले सुनाइन् ।

प्रतिक्रिया