१० वर्ष लामो सशस्त्र द्वन्द्वमा मुलुक पिल्सिएका वेला शान्तिको धिपधिपे दियो बाल्न सफल सिक्लेसमा शान्ति सम्झौता प्रतिविम्बित हुनेगरी शान्ति स्तम्भ निर्माण गरिएको छ । टलक्क टल्कने चाँदीको हिमालजस्तै देखिने एउटै ढुंगामा कँुदिएको स्तम्भमा द्वन्द्वताकाको अवस्था झल्काइनुका साथै त्यसयता विकसित राजनीतिक घटनाक्रमलाई समेटिएको छ । हिमाल, पहाड र तराईको समग्र भूभागलाई एउटै थलोमा समेट्दै द्वन्द्वकालीन घटनाका सम्झनालाई प्रतीकात्मक रूपमा यसमा प्रस्तुत गरिएको छ । परिकल्पना गर्न झण्डै २० दिन र निर्माणमा अढाइ महिनाको अवधि खर्चिएको स्तम्भका निर्माता एवं परिकल्पनाकार नारदमणि हार्तम्छाली (कलाङ) ले जानकारी दिए ।
उनका अनुसार स्मारक परिसरमा निर्माण गरिएको त्रिभुज आकारको स्तम्भको सबैभन्दा माथिल्लो भागमा रातो, पहँेलो र नीलो रङका तीनवटा बत्ती जडान गरिएको छ जसलाई संघर्ष, प्रतिवाद र संवादको रूपमा लिइएको छ । द्वन्द्वकालीन संघर्ष, रगत, पसिना, आँसु र रातो विम्बका रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी सो स्तम्भको पिँध पोखरी परिसरमा द्वन्द्वको समयमा मृत्युवरण गर्ने पाँच महिला र १० पुरुषको टाउको देखाइएको छ । यहाँ द्वन्द्वमा महिलाको सहभागिता रहेको समेत झल्काउन खोजिएको छ ।
स्तम्भमा पीडा एवं श्रमलाई दर्शाउन पहेँलो र आँसुलाई बुझाउन नीलो रङ प्रयोग गरिएको छ । स्तम्भमा दुई पक्षबीच हात मिलाएर अंकमाल गरिएको र दीगो शान्तिको प्रतीकको रूपमा परेवाको चित्र कोरिएको छ ।
विस्तृत शान्ति सम्झौता १२ वर्ष पुगेको अवसरमा निर्माण गरिएको यो स्तम्भलाई १२ बुँदे सम्झौताको सम्झनाका रूपमा तीनवटै कोणमा चार/चार गरी कुल १२ वटा धारासमेत निर्माण गरिएको कलाकार कलाङ बताउँछन् । प्रविधि जडित धाराबाट पानी निरन्तर प्रवाह भइरहने व्यवस्था मिलाइएको छ ।
द्वन्द्वका अवसरमा ज्यान गुमाएका युवा, महिला, पुरुष एवं मुकुण्डो, द्वन्द्वकालीन टोपी, हेलमेट, कुखुरी, हँसिया र तरवारलगायतका विभिन्न घरेलु हतियार स्तम्भमा चित्रित छन् । स्तम्भभित्रै तरवार र हँसिया भाँचिएको देखाउँदै युद्धको अन्त्य र शान्तिको प्रारम्भ भएको संकेत देख्न सकिन्छ ।
द्वन्द्वकालीन अवस्थामा ज्यान गुमाएका करिब १७ हजार जनताको पोखरीभित्र सांकेतिक विम्बहरूको दृश्य रहनाका साथै शान्ति र क्रान्तिका विविध पक्ष दर्शाइएको छ । तत्कालीन सरकार र विद्रोही माओवादीबीच शान्ति सम्झौता गरिएको संकेत स्वरूप सरकार, माओवादी र राजनीतिक दलको त्रिकोणात्मक सन्तुलनलाई पनि स्तम्भमा समेटिएको छ ।
ललितकला, वास्तुकला, मूर्तिकला र चित्रकलासहित चारवटै विधि प्रयोग गरिएको बताउँदै कलाकार कलाङले भने, ‘स्तम्भ निर्माणमा ढुंगा, हतौडा, छिनो, ग्रील र ड्रिल मेसिनजस्ता औजार प्रयोग गरिएको हो ।’ मादी गाउँपालिकाको–७ तप्राङ भेडिखर्कबाट ठूलो मिहिनेतका साथ जेसिभी र ट्रयाक्टरको प्रयोग गरी ल्याइएको उक्त ढुंगाबाट पाँच फिट तीन इन्च उचाइ र ३७ इन्च चौडाइको स्तम्भ निर्माण गरिएको हो ।
भोजपुरको षडानन्द गाउँपालिका–११ मा आजभन्दा ६० वर्ष अघि जन्मिएका जोशिला र पूmर्तिला कलाकार कलाङले यसअघि पेरिस डाँडामा सहिद तथा बेपत्ता स्मृति स्तम्भ बनाइसकेका छन् भने इटहरी तथा भीमफेदीमा पनि यस्तै प्रकारका स्तम्भ निर्माण गरिसकेका छन् ।
०६२ सालको जेठ महिनामा तत्कालीन माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री एवं वार्ता समितिका संयोजक कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा भएको पहिलो भेटवार्तापछि विकसित राजनीतिक घटनाक्रमले देश वर्तमान अवस्थासम्म आइपुगेको हो । जोखिम मोलेर देशलाई शान्ति प्रक्रियामा डो¥याउन महत्वपूर्ण योगदान गरेका पूर्वप्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता सिटौलाले शान्ति स्तम्भको यही मंसिर २४ गते सामूहिक रूपमा अनावरण गरेका हुन् ।
नेपालकै मध्यविन्दु मानिने पर्यटकीय गाउँ सिक्लेसमा करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको सो स्तम्भका लागि गाउँपालिकाको १० लाख अनुदान र ५ लाख रुपैयाँ बराबरको स्थानीय जनश्रमदान परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार स्तम्भ निर्माण गरिसकेपछि सिक्लेसमा आफूले पाएको स्नेह र त्यहाँको वातावरणले प्रभावित भई कलाकार कलाङले आफूले पाउने पारिश्रमिकबाट २ लाख रुपैयाँ उपभोक्ता समितिलाई सहयोग गरेका थिए । उनलाई कुल ४ लाख रुपैयाँ पारिश्रमिक दिने सहमति भएको थियो ।
शान्ति प्रक्रियाको थालनीको प्रारम्भ सिक्लेस भएकै कारण त्यसको संस्मरणमा शान्ति स्तम्भ निर्माण गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) बताउँछन् । उनका अनुसार प्राकृतिक संरक्षण कोष (एनटिएनसी) को हातामा निर्माण गरिएको स्तम्भले सिक्लेस गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा यसअघि स्वागतद्वार, भ्युटावर र संग्रहालय लगायतका विभिन्न भौतिक संरचना निर्माण गरिसकिएको छ ।
स्तम्भको निर्माणपछि अब यस गाउँलाई शान्ति प्रक्रियाको अध्ययन अवलोकन गर्ने थलोको रूपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने सिक्लेस युवा क्लबका सल्लाहकार देवीजङ गुरुङको विश्वास छ । सिक्लेस होमस्टे व्यवस्थापन समितिका अध्यक्ष टाइमाया गुरुङ स्तम्भ निर्माणपछि थप पर्यटक आकर्षित हुनेमा आशावादी छन् ।
उनका अनुसार गाउँका २२ वटा घरमा एक सयभन्दा बढी पाहुना राख्न सक्ने क्षमता छ । शुक्रबार आन्तरिक पर्यटकको भिड लाग्ने गरेका कारण समितिले थप कोठाको व्यवस्था गर्ने तयारी गरिरहेको छ । असोज, कात्तिक र मंसिर महिनामा पर्यटकको संख्यामा वृद्धि भएको र तीन महिनामा लगभग ६ लाख रुपैयाँ बराबरको आम्दानी भएको नमस्ते गेस्ट हाउसका सञ्चालक कुमारी गुरुङले बताए ।
यहाँ अर्गानिक चामल, साग, भट्ट, अचार र लगायतका विभिन्न परिकारसहित साँझको चिया, बिहानको नास्ता, खाना र बासको १ हजार र मासु खानामा थप २ सय पर्छ । समुद्री सतहबाट २ हजार मिटरको उचाइमा अवस्थित उक्त पर्यटकीय गाउँसम्म पुग्ने लगभग ४० किलोमिटर काहुँखोला–सिक्लेस सडक आगामी दुई वर्षभित्र निर्माण गरिने प्रदेशसभा सदस्य मनबहादुर गुरुङ बताउँछन् ।
प्रतिक्रिया