किराँत समुदायमा उधौली पर्वको तयारी

नेपालीहरूको आआफ्नै जातीय धर्म, संस्कृति र पर्वहरू छन् । सबैले आफ्नो संस्कार र संस्कृति भुल्न सक्दैनन् । जब आफ्ना संस्कृतिका पर्व आउँछन् सबैको ध्यान त्यसमा जान्छ । यस्तै किराँतीहरूको महान् चाड उधौली पर्व इलामसहित पूर्वी नेपालका जिल्लाहरूमा धुमधामका साथ मनाउने गरिन्छ । यो वर्ष पनि सो पर्व मनाउने तयारी हुँदै छ । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौली यसवर्ष पनि विभिन्न किराँतजन्य समुदायले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छन् ।

राई, लिम्बू, याख्खा र सुनुवार जातिले विशेषगरी उधौली पर्व आआफ्नै शैलीमा मनाउने तयारी गरेका छन् । राई जातिले उधौली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा र सुनुवार जातिले फोलस्याँदर नामले यो पर्व मनाउने गरेका छन् । यी जातिहरूले मंसिरे पूर्णिमाका दिनमा आफ्ना दिवंगत पुर्खा र आआफ्ना आस्थाका भगवान्लाई आफूले भित्र्याएको नयाँ अन्न चढाएर न्वागी पूजा गर्ने चलन रहँदै आएको छ ।

यो वर्ष लिम्बू समुदायले इलाम नगरपालिकाको माइखोलामा सामूहिक पूजापाठ, गालीश्राप बहन्ती, सांस्कृतिक कार्यक्रम तथा वनभोज कार्यक्रको (ताम्भुङचा) तयारी गरेको जनाएको छ । कार्यक्रममा यालाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच), लिम्बू खानपिन, लिम्बू सांस्कृतिक प्रस्तुति, खेलकुदका कार्यक्रम जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई स्वागत तथा शुभकामना आदानप्रदानसमेत हुने किराँत याक्थुङ चुम्लुङका अध्यक्ष गायत्री थेगिमले जानकारी दिइन् । यसैगरी साँझ घरघरमा तङसिङ गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई किराँती समुदायले आफ्नै शैलीमा सामूहिक माङहिम र सार्वजनिक स्थलमा भेला भई मनाउन थालेका छन् ।

यस पर्वमा आपसमा भएका रिसराग, ईष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयताका साथ लिम्बू दाजुभाइ तथा दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्दै यस पर्व मनाउने गर्छन् । विभिन्न किसिमका मीठा–मीठा खाद्यपरिकार बनाएर खाने र आफन्त एवं पाहुनालाई खुवाइ सेवा सत्कारसमेत गर्छन् उनीहरू । यस समुदायका चेलीबेटीहरू हुक्वा (आफैँले बनाएको शोभित) र अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइतीघर आउनेजाने प्रचलन रहिआएको छ ।

पर्वको अवसर पारेर युवाहरू सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो हान्ने खेल), सामूहिक रूपमा केलाङ (च्याब्रुङ) बजाएर ‘छुइ छुइ हा, सरलाइमा सर’ भन्दै ताल लिएर नाच्दै रमाइलो गर्छन् । एक आपसमा नाता नपर्ने तरुण तन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउँदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धान नाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारेलगायत गीत गाएर मनोरञ्जन गर्छन् ।

यस्तै, किराँत राई समुदायले साकेला नाच, मौलिक पोसाकहरूको प्रदर्शनी र पूजाआजा गरी विभिन्न कार्यक्रमहरूका साथ इलाम नगरपालिका–७ ओपिधारामा साकेला थानमा पूजापाठ र सांस्कृतिक कार्यक्रम आयोजना गर्दछन् । किराँत सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवास्थित स्यादरथानमा पूजा गरेर बुरसिल नाचलगायत कार्यक्रमहरू गरी मनाउने जानकारी गराएका छन् । याक्खा समुदायले माइजोगमाई गाउँपालिकाको नामसालिङमा देवीदेवताको पूजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै मनाउँदै छन्, यो पर्व ।

विशेषतः यो पर्व किराँतीहरूको बाहुल्यता रहेका इलामसहित पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेहथुम, संखुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा भव्यताका साथ मनाउने गरिएको छ । यो वर्ष पनि त्यसले निरन्तरता पाउँदै छ ।

उधौली पर्वलाई मानिस, जनावर तथा चराचुरुङ्गीमा चिसो बढ्दै गएका कारण लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने वेला वैशाख पूर्णिमाको वेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौली पर्वको नामाकरण भएको मानिन्छ । यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उधौली पर्वलाई न्वागी पूजा पनि भनिन्छ । अन्नबाली पाकेको वेला आफ्ना देवीदेवता र पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पूजा गर्ने गरिन्छ । विभिन्न जातिले आफ्नो जाति, स्थान र संस्कारअनुसार यो पर्व मनाउने आआफ्ना शैली भने फरक–फरक छन् ।

यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन रहेको छ । यस चाडलाई विशेषतः मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । वर्षभरिमा कसैसँग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बन्द रहेका बोलचाल सुरुआत गर्ने चलनका रूपमा समेत मनाउने गर्दै आइएको छ ।

साइनोमा जेठोले आफ्नो घरमा आएकोलाई माया र आदर गर्ने र सानाले पनि ठूलालाई सम्मानका रूपमा भेटन जाने गर्दछन् । यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

भाषा, संस्कार र संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभरि छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाउँ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आआफ्नो संस्कृति भल्काउने पोसाकहरू लगाएर आआफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।

लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कस्रक्पालगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धान नाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङगे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै, सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन् । याख्खाहरू हात समाएर चाबाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्दै यो पर्वको मनाउने गरिन्छ ।

प्रतिक्रिया