काभ्रेका पाँच भूकम्प पीडितले गरे अनुदान फिर्ता

भूकम्पले भत्काएको घर बनाउन लिएको अनुदान रकम काभ्रेका पाँच जनाले फिर्ता गरेका छन् । भूकम्प पिडितको नाम लिस्टमा परेका लाभग्राहीहरूले घर नबनाई पहिलो किस्ता वापत लिएको ५० हजार रूपैयाँ फिर्ता गरेका हुन् । ०७२ सालको भूकम्पले घर क्षति बनाएका कारण लाभग्राहीको सूचीमा परे पनि विभिन्न कारणले घर निमार्ण गर्न नसकेको भन्दै उनीहरूले रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख लोकनाथ रेग्मीले राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नु पर्ने भनी समयसीमा तोकिएर सबै लाभग्राहीहरूलाई आग्रह गरेपछि जिल्लामा पाँच जना लाभग्राहीले निर्माण गर्न नसकेको कारण जनाउँदै निवेदनसहित रकम फिर्ता गरेको बताए ।

जिल्लाको रोशी गाउँपालिका–४ महादेवटारका मानबहादुर लामा र धनबहादुर तामाङ, पनौती नगरपालिका–५ बाँसघारीका शैलेन्द्रकुमार थापा, भुम्लु गाउँपालिका–१ का अर्जुन महत र सोही गाउँपालिका–५ का शिवबहादुर खड्काले रकम फिर्ता गरेका हुन् । कार्यालयका प्रमुख रेग्मीका अनुसार महादेवटारका लामा दाजुभाई भएको र उनीहरूको गाउँमा बाहेक भक्तपुरमा पनि घर भएको कारण रकम फिर्ता गरेको बताइएको छ ।

भुम्लु गाउँपालिका–५ का खड्काको भने कारण फरक छ । खड्काको आम्दानीको स्रोत केही नभएको र आफू एक्लै घरमा भएका कारण बनाउन नसक्ने भएको भन्ने निवेदनमा खुलाएका छन् । त्यही कारण सरकारले तोकेको समयमा निर्माण गर्न नसकेको रकम फिर्ता गरेको हो । सम्झौता गरी घर नबनाएकाहरूले कि त तोकिएको समयमा बनाइसक्नुपर्ने, कि त रकम फिर्ता गर्नुपर्ने भनी सार्वजनिक रूपमा सूचना आह्वान गरेपछि कसरी रकम फिर्ता गर्न के गर्नुपर्छ भनेर सल्लाह लिन आउनेको संख्या बढिरहेको कार्यालय प्रमुख रेग्मीले बताए ।

काभ्रे जिल्लामा ८२ हजार ८ सय ३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेका ६८ हजार ८ सय २६ जनाले पहिलो किस्ता रकम बुझिसकेका छन् । त्यस्तै, १४ हजार ७ जनाले अनुदान सम्झौता नै गर्न बाँकी रहेको जनाएको छ ।

रेग्मीले सबै अधिकार स्थानीय तहलाई नै दिइसकेको कारण लाभग्राहीमा नपर्नुपर्ने मान्छे परेको, नपर्ने मान्छेले पहिलो किस्ता लिएको छ भने त्यस्ता व्यक्तिहरूको हकमा सबैलाई सार्वजनिक रूपमा सूचना दिइसकेको हुनाले सम्बन्धित गाउँपालिका नगरपालिकाले फिर्ता लिनुपर्ने र फिर्ता लिन नसकेमा जिल्ला प्रशासन कार्यालयमा सरकारी बाँकीसरह असुलउपर गर्ने भनेर लेखेर पठाउने भन्ने उल्लेख भएकोले त्यही अनुसार हुने रेग्मीले बताए । उनले भने, ‘नबनाउनेहरूले जसरी भए पनि फिर्ता पर्नैपर्छ, फिर्ता गर्ने क्रम पनि चलिरहेको छ ।’

केन्द्रको निर्देशन अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेले सम्झौता गरी घर नबनाएकाहरूलाई सार्वजनिक रूपमा सूचना आह्वान गरी आगामी पुस १५ गतेभित्रमा रकम फिर्ता गर्न आग्रह गरेको छ । त्यससँगै जिल्लामा आंशिक क्षतिमा परेका भूकम्प लाभग्राहीहरूमध्ये १३ जनाले घर प्रबलीकरण गरी रकम लिइसकेको जनाएको छ ।

कतिपय मानिसहरू रकम फिर्ता गर्दा कालो सूचीमा पर्ने पो हो की भन्ने डर मानिरहेका छन् । कतिपय ठाउँहरूमा रकम फिर्ता गरे नेपाल सरकारबाट आउने कुनै पनि सेवासुविधाबाट वञ्चित हुने भन्ने समेत हल्ला फैलिएको छ । तर, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेका प्रमुख लोक नाथ रेग्मीले घर नबनाएका लाभग्राहीले रकम फिर्ता गर्दा कालो सूचीमा पर्ने हैन बरु इमान्दारीमा गनिने बताएका छन् ।

कुनैपनि कुराको भरमा नपरी घर नबनाई रकम फिर्ता गर्न चाहने महानुभावले ढुक्कसँग रकम फिर्ता गर्न आग्रहसमेत रेग्मीले गरेका छन् । उनले भने, ‘घर बनाउन नचाहनेले रकम फिर्ता गर्ने त कालो सूचीमा हैन इमान्दारमा कहलिन्छन् ।’

प्रतिक्रिया