काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन स्वास्थ्यसचिव डा. पुष्पा चौधरीको सरुवालाई गैरकानुनी ठहर गर्दै पुनर्बहाली गर्न सरकारका नाममा आदेश जारी गरेको छ । अदालतले सचिव चौधरीको पक्षमा यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
डा. चौधरीलाई यसअघि दिएको अन्तरिम आदेश खारेज गरिपाउँ भन्दै सरकारका तर्फबाट दायर भ्याकेट माथि सुनुवाई गर्दै सर्बोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले मंगलबार यस्तो आदेश गरेको हो । अदालतले सरकारले हालेको भ्याकेटको निवेदनबाट पुरानो अन्तरिम आदेश खारेज नहुने आदेश गरेको छ । सर्बोच्चका प्रवक्ता भद्रकालि पोखरेलका अनुसार मंगलबारको पेशी सर्बोच्चले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्ने विषयमा थियो ।
त्यो सरकारको माग बमोजिम भएन । यता सचिवले मंगलबार अदालतको आदेश आएपछि स्वास्थ्य मन्त्रालयमा गएर हाजिर हुने क्रमलाई निरन्तरता दिएकी छन् ।
सरकारले चौधरीलाई २८ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेपछि चौधरी १५ कात्तिकमा अदालत गएकी थिइन् । सर्बोच्चले १६ कात्तिकमा प्रारम्भिक सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश र निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
यता प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले उनलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो । सोविरुद्ध निर्णय पुनर्विचारका लागि सरकार ५ मंसिरमा भ्याकेटमा गएको थियो । सरकारले भने यसबीचमा स्वास्थ्य सचिवको रुपमा केदारबहादुर अधिकारीलाई सरुवा गरिसकेको छ ।
सर्वोच्चमा मुद्दा चलिरहेकै बेलामा सरकारले स्वास्थ्य सचिवमा अधिकारीलाई नियुक्ति गरेपछि र मंगलबारको सर्वोच्चको आदेशपछि अब स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव हुने भएका छन् ।
प्रतिक्रिया