स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रूपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चानल भइरहेका छन् । स्याङ्जामा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सिरुबारीबाट सुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका अन्य स्थानहरूमा पनि घरबास कार्यक्रमलाई अभियानकै रूपमा विकास गर्दै लगिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
देशभर एक सय गन्तव्यको सूचीमा पर्न सफल मध्येको एक गन्तव्य हो सिरुबारी । दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ मा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ ।
सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै सिरुबारी पुग्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई गरिने स्वागत तथा अन्य व्यवस्थापन अरू होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका संयोजक जुमबहादुर गुरुङले बताए । गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा २ हजार ३ सयभन्दा बढी नेपाली र ५ सयभन्दा बढी विदेशी पर्यटक आएको अभिलेख छ ।
‘सिरुबारी दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारण पनि कतिपय पाहुनाहरू यहाँको व्यवस्थापन पक्ष बुझ्न आउने गर्छन्’ संयोजक गुरुङले भने, ‘कतिपय पर्यटकहरू यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरूमा रमाउन आउने गर्छन् ।’ ३९ घरबाट सुरु भएको घरबास हाल २२ घरमा सञ्चालित छ र त्यहाँ एक सयको हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ ।
स्याङ्जा जिल्लामा तुलनात्मक रूपमा गुरुङ समुदायमा आधारित घरबास धेरै छन् । त्यस्तै, गुरुङ समुदायमै आधारित सुन्तलाबारी सामुदायिक घरबास वालिङ नगरपालिका–४ मा पर्छ । ३२ घरधुरी रहेको सुन्तलाबारीमा ३० घर गुरुङ समुदायका र दुई घर ब्राह्मण समुदायका छन् । सुन्तलाबारी सामुदायिक घरबासका अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङका अनुसार यहाँ १२ घरमा घरबास सञ्चालित छ र कुल श्यया क्षमता ४० छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ नगरपालिका–१ को त्रियाशीबाट करिब सात किलोमिटरको दूरी पार गरेपछि यस स्थानमा पुग्न सकिन्छ ।
सुन्तलाबारी सामुदायिक घरबास विशेषगरी सुन्तलाको हाइटेक नर्सरीका लागि प्रख्यात छ । यस ठाउँमा कात्तिकदेखि माघसम्म निकै आनन्ददायी वातावरण हुन्छ । बारीभरि ढकमक्क सुन्तला पहेँलै देखिँदा पाहुनाको मन आनन्दित हन्छ भने यहाँका स्थानीय बासिन्दाले गर्ने स्वागतले झनै सुनमाथि सुगन्ध थपिदिन्छ ।
यस ठाउँमा दुइवटा झरनाहरू छन् जहाँ आन्तरिक र बाह्य पाहुनाहरू छाँगावरोहण हेर्न (क्यानोनिङ) का लागि आउने गरेका छन् । स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रूपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताए ।
खाल्टेखोला झरना तीन तहमा करिब ६० मिटर र वसन्ती रह झरनाको उचाइ २८ मिटर रहेको छ । बच्चाका लागि पनि लक्ष्य गरी सोही ठाउँमा छाँगावरोहण गर्ने व्यवस्था समितिले मिलाउँदै छ ।
वालिङ नगरपालिका–५ मा रहेको पित्लेक देउराली घरबास विशेषगरी स्थानीय जातका कुखुराका परिकारहरूका साथै स्थानीय जातका कुखुराहरूको संरक्षणका लागि प्रख्यात छ । यहाँ आउने पाहुनालाई ७ घरमा ३० जनासम्म राख्न सकिने पित्लेक देउराली घरबासका अध्यक्ष महेश गुरुङले बताए ।
पित्लेकमा सामूहिक कफी खेती, सामूहिक रूपमा अर्गानिक तरकारी उत्पादन, स्थानीय ठाउँमा उत्पादित परिकारद्वारा पर्यटकहरूलाई स्वागत गर्ने गरिन्छ । यहाँ प्रत्येक घरमा आधुनिक तरिकाले मौरीपालन गरिएको छ भने पाहुनाले मह सिकार गर्न चाहेको खण्डमा त्यो व्यवस्था पनि मिलाइदिने गरिएको छ ।
पित्लेक अग्लो स्थानमा रहेकाले पनि यहाँबाट हिमशृंलासहित अन्य भागहरू राम्रोसँग अवलोकन गर्न सकिन्छ । वालिङ बजारदेखि झण्डै आधा घण्टाको समयमा गाडीबाट पित्लेक पुग्न सकिन्छ ।
त्यस्तै, वालिङ नगरपालिका–१२ मा सिर्सेकोट मैदान घुरुंखा घरबास सञ्चालनमा छ । सिर्सेकोट पर्यटन तथा व्यवस्थापन मैदान घुरुंखा समितिमार्फत यहाँ सञ्चालित घरबास १० घरबाट सुरु भएको हो । हाल यहाँ २५ घरमा घरबासको व्यवस्था गरिएको छ भने ५० जनाभन्दा बढी पाहुनाहरू राख्न सकिन्छ ।
‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि हामीले गाउँ प्रवेश हुने ठाउँमा प्रवेशद्वार निर्माण गरेका छौँ,’ समितिका सदस्य सीता गुरुङले भनिन्, ‘गुरुङ समुदायको वेशभूषा झल्किने गरी हामीले पर्यटकलाई फूलमालाले स्वागत गर्छौं र सबैलाई सामुदायिक भवनमा ल्याएर चियापानी र स्थानीय गुन्द्रुक रोटी नास्ताका रूपमा खान दिन्छौँ ।’
पाहुनाको मागअनुसार यहाँ स्थानीय खानाका परिकारहरू पाक्ने गर्दछन् । यहाँको विशेषतामा शख्खरको खीर, ढिँडो, सिस्नोको अचार, स्थानीय कुखुराको मासु, अण्डा लगायतका परिकारद्वारा पाहुनालाई स्थानीय स्वाद पस्किन्छ । गुरुङ समुदायमा आधारित घरबास भएकाले पनि यहाँ बाबा समूहले रामायणमा आधारित पुराना नाच, आमा समूहले पुरानो सालैजो गीत र भाउजू समूहले ढिलो र छड्के भाकाहरूमार्फत पाहुनाहरूलाई छमछमी नचाउने गर्छन् ।
त्यस्तै, स्याङ्जाको भीरकोट नगरपालिका–७ खिलुङमा खिलुङ कालिका पर्यटन तथा व्यवस्थापन समितिमार्फत सञ्चालित खिलुङ हनिबल घरबास १२ घरमा सञ्चालित छ । सबैमा गरी २६ जना राख्न सकिने खिलुङ हनिबल घरबासका उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।
यहाँ विषादीरहित अर्गानिक उत्पादनहरूबाट बनाइएका परिकारद्वारा पाहुनालाई स्वागत गरिन्छ । यहाँका ७५ प्रतिशत घरमा आधुनिक तरिकाबाट मौरीपालन गर्ने गरिएको छ । यहाँ आउने पाहुनालाई प्रत्येक दिन बिहानको नास्तामा अनिवार्य मह सेवन गराउने परम्परा रहेको छ । हरेक घरमा २ देखि २२ वटासम्म मौरीका आधुनिक घारहरू छन् । पाहुनाले इच्छा देखाएमा मह काढ्ने तरिकाका बारेमा पनि जानकारी गराउने गरिन्छ । हेलुबाट गाडीमा आधा घण्टा र पैदल डेढ घण्टामा यस ठाउँमा पुग्न सकिन्छ ।
स्याङ्जाको फेदिखोला–५ मा रहेको छ बौद्ध तमु सामुदायिक घरबास । सिद्धार्थ राजमार्गको खड्केटारीबाट ७ किलोमिटर कच्ची बाटो पार गरेपछि यहाँ पुग्न सकिन्छ । १५ घरमा ९० जना राख्न सकिने यो घरबास आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो ।
हुनिकोट घरबास पुतलीबजार नगरपालिका–२ मा पर्दछ । स्याङ्जा सदरमुकामबाट ३ किलोमिटर दूरी पार गरेपछि यहाँ पुगिन्छ । दृश्यावलोकन तथा स्थानीय खानाका लागि हुनिकोट राम्रो छ । विशेषगरी हुनिकोट साप्ताहिक विदा मनाउन आउने पर्यटकको रोजाइँको स्थल बन्दै गएको छ भने यहाँ साहसिक खेल प्याराग्लाइडिङ्मा पनि रमाउन सकिन्छ । यसलाई पछिल्लो समय पदमार्गको रूपमा पनि विकास गर्दै लगिएको छ । गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा ५० जना पाहुना राख्न सकिन्छ ।
स्याङ्जाको पुतलीबजार–१४ मा पर्ने खर्सुको लेक घरबास सदरमुकामदेखि १० किलोमिटरको दूरीमा पर्छ । लेक घरबास १ हजार ८ सय ५० मिटरको उचाइमा रहेको गुरुङ समुदायको बस्ती हो । यो ठाउँ सूर्योदय अवलोकनका लागि उपयुक्त स्थान हो । आदिकालमा ऋषिहरूले तपस्या गरेको स्थल मानिने यो ठाउँमा अझै भग्नावशेषहरू देख्न सकिन्छ । यहाँ २५ जनासम्म पाहुनालाई राख्न सकिन्छ ।
अहिले स्थानीय तहहरूले यसको दर्ता प्रक्रिया थालेसँगै घरबासहरू थपिने क्रम जारी छ । स्याङ्जामा हालसम्म पञ्चासे देउराली घरबास, बौद्ध तमु सामुदायिक घरबास, बझाकोट घरबास, खैरीकोट अर्गानिक घरबास, रामकोट घरबास, खोरियाघाट कालीगण्डकी घरबास, माझी गाउँ घरबास, आलमदेवी घरबास, करेन्डाँडा घरबास, टोड्के घरबास, साँदीखोला घरबास, कालखु घरबास र पोखरीछाप घरबास सक्रिय छन् ।
‘आन्तरिक तथा बाह्य गरेर जिल्लामा ५० हजारभन्दा बढी पर्यटकहरू बर्सेनि आउँछन,’ जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले भने, ‘यहाँ आउने पर्यटकलाई अझै धेरै दिन जिल्लाभित्र रहने वातावरण मिलाउन आवश्यक छ ।’
घरबास सञ्चालन भएका स्थानहरूका सञ्चालकहरूलाई प्रोत्साहन हुने कार्यक्रमहरू सञ्चालन गनुपर्ने खाँचो एकातिर छ भने घरबास प्रारम्भ भएको जिल्लाका रूपमा परिचित स्याङ्जालाई होमस्टेको राजधानीका रूपमा विकास गर्न थप पूर्वाधार निर्माण गर्न जरुरी छ ।
प्रतिक्रिया