तेस्रो मेडिकल एक्स्पो सुरु

काठमाडौं । तेस्रो नेपाल मेडिकल एक्स्पो सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको मेडिकल एक्स्पो उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपालमा मेडिकल क्षेत्रमा जति भएको विकास गुणस्तर र संख्यामा हुन नसकेको बताए ।

डा. यादवले देशको जनसंख्या अनुसार अस्पतालहरुमा बेड, उपकरण, जनशक्ति अपुग रहेको सुनाए । डा. यादवले भने, ‘अहिले प्राइभेट तथा सरकारी गरी २५ हजार बेड छन् जुन ३ करोड जनसंख्याको लागि छ, त्यो अपुग हो ।’ उनले स्थानीय तहमा १०९ वटा नयाँ अस्पताल बनाउने लक्ष्य रहेका पनि सुनाएका थिए ।

उनले औषधीको गुणस्तर नियन्त्रणका लागि जस्तो व्यवस्था छ, त्यस्तै मेडिकल उपकरणका लागि पनि नियमकारी निकाय हुनुपर्नेमा जोड दिए । केमसानका अध्यक्ष सुरेश घिमिरेले यस एक्सपोमा अस्पतालहरुले विभिन्न नयाँ प्रविधिका उपकरण छनोट गरी गर्न सक्ने विश्वास लिएको बताए । यता नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले एक्सपोले आधुनिक चिकित्सा क्षेत्रमा सुधार ल्याउने बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले यस्ता एस्पोले नयाँ प्रविधि तथा उत्पादनको बारेमा जानकारी दिने बताए । तीन दिन चल्ने एक्सपोमा विभिन्न किसिमका मेडिकल उपकरण र सर्जिकल उपकरणका २ सय बढी स्टल राखिएका छन् भने नेपाल, भारत, पाकिस्तान, इजरायल, चीन आदि देशको सहभागिता रहेको छ ।

प्रतिक्रिया