वीरेन्द्र रावल
भूपरिवेष्ठित देश नेपालको दक्षिणमा भारत र उत्तरमा चीन रहेका छन् । दुई देशबीचको तरुल बनेर नेपाल र नेपालीले उकुस मुकुसताको जीवन बाँचिरहनु परेको छ । कला, धर्म र संस्कृतिमा हामी नेपाली धनी छौँ । तर, सदियौँदेखिको नेपालीले अपनाउँदै आइरहेको कुसंस्कार, व्यथिति र विसंगतिलाई जरैबाट निर्मूल पार्न नसकेका कारण आज नेपाल र नेपालीले त्यही कुसंस्कारबाट जन्मेको दरिद्रता र गरिबी अनि पछौटेपनको सिकार बन्नु परेको छ ।
हामी नेपाली दिनहुँ कुसंस्कारका सिकार बनिरहनु परेको छ यो एक नियति झैँ बनिसक्यो । त्यही कुसंस्कारको अन्त्यका नाममा नेपालमा दिनहुँ हुने सामाजिक, राजनीतिक, धार्मिक एवं सांस्कृतिक चेतना जनतालाई अधिकार सम्पन्न बनाउने बहानामा दिनहुँ कलह र झगडा उत्पन्न भइरहेको छ ।
नेपाली समाजमा विद्यमान यी र यस्तै गलत धारणा अनि संस्कारले उग्ररूप लिएकै कारण नेपाली सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा निकै पछाडि धकेलिनु परिरहेको अवस्था छ । नेपाल आजसम्म कसैको पनि पराधिन र उपनिवेशमा हुर्केन ।
नेपाल आन्तरिक जहानियाँ १ सय ४ वर्षे राणा शासन र २ सय ४० वर्ष पुरानो राजतन्त्रको आन्तरिक शोषणमा रह्यो । यही सेरोफेरोमा घटनाक्रमलाई हेर्ने हो भने हाम्रो दक्षिणमा रहेको भारत सन् १९४७ मा स्वतन्त्र भयो । उत्तरमा रहेको चीन सन् १९४९ मा स्वतन्त्र भयो । नेपाल राणा शासनबाट ०७ सालमा स्वतन्त्र भयो । चीन र भारत उपनिवेश र पराधिनबाट स्वतन्त्र भए तर नेपाल भने आफैमा पनि पृथ्वी नारायण शाहले एकीकरण गरेको स्वतन्त्र अनि सार्वभौम देशको रूपमा थियो ।
हामीसँगै राजनीतिक प्रणाली कायम गरेका देशहरू विकासको उत्कर्षमा लागिसक्दा पनि हामीले विकास गर्नु त परै जाओस् उनीहरूले के सम्म गर्न भ्याएछन् भन्ने हेक्का राख्न पनि सक्ने अवस्थामा छैनौँ ।
केवल राणा शासनबाट मात्र देशलाई प्रजातान्त्रिकीकरण गरिएको इतिहास सबैका सामु घाम झैँ छर्लङ्ग छ । यस अवधिमा भएका विभिन्न राजनीतिक गतिविधिले नेपाल र नेपालीलाई जसरी विकासको सिँढीमा चढाउनुपर्ने थियो त्यसो हुन सकेन । यस अवधिमा नेपाल र नेपालीहरूले राजतन्त्र, प्रजातन्त्र र समाजवादी शासनको अभ्यासमा रहेका दलहरूको बीचको संघर्ष, शक्ति सञ्चय र जडसूत्रलाई सूत्रबद्ध गराउनेमा उद्धत रहेको शासन व्यवस्थाको भुमरीमा बटारिरहनु पर्यो ।
उपनिवेश र परतन्त्रका तीखा पेचहरू खेपेर राष्ट्रियता र स्वतन्त्रताका लागि प्यासी बनेर स्वतन्त्रता संग्राम थालेका चीन र भारतले पराधिनताबाट स्वतन्त्र हुने वित्तिकै विकासका रेखाहरू कोर्न थाले । उनीहरूले चरणबद्धरूपले देश विकासका योजनाहरू ल्याए ।
ती योजनाहरू प्राय ः देश केन्द्रित थिए । जनसंख्याको सन्तुलन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय भावनासहितका विकास निर्माणका योजनामा नयाँ बनेका सरकारहरूले जनतालाई सहभागिताको सञ्जालमा उनेर अघि बढे । तर, ०७ सालपछि अर्थात् ६८ वर्षसम्म आइपुग्दा नेपालको स्वरूप बदलिनुको त परै जाओस् उल्टै पछाडि फर्केको अवस्थामा परिणत भएको देखियो ।
नेपाली जनताले पटक–पटक प्रजातन्त्र, लोकतन्त्र र जनयुद्धदेखि लिएर गणतन्त्र प्राप्तिको आन्दोलनमा दलहरूलाई साथ समर्थन दिँदै आए । हरेक आन्दोलनमा नेपाली जनताले आफ्नो बलिदानी र संघर्षपूर्ण जीवनहरू व्यतित गरे । चीन र भारतको तुलनामा नेपालको राजनीति र नेपाली जनताले कुवाको भ्यागुतो झैँ ज्यूँका त्यूँ, जस्ताको त्यस्तै, जहाँको त्यहीँ बसिराख्नु पर्दाको अनुभूति कसैका लागि सुखद भने देखिँदैन ।
हामीसँगै राजनीतिक प्रणाली कायम गरेका देशहरू विकासको उत्कर्षमा लागिसक्दा पनि हामीले विकास गर्न त परै जाओस् उनीहरूले के सम्म गर्न भ्याएछन् भन्ने हेक्का राख्न सक्ने अवस्थामा छैनौँ ।
हामीले अँझैसम्म पनि हाम्रा अधिकार क्षेत्र के हुन् । हाम्रो समाजप्रतिको भूमिका के हो रु समाज विकास कसरी हुन्छ । राष्ट्र र राष्ट्रियताको गन्ध केहो भन्नेसम्म पनि विचार गर्न सकिरहेका छैनौँ । केवल दलहरूको निजी स्वार्थका लागि नेपाली जनता सडक संघर्ष गर्ने कर्मीको रूपमा मात्र प्रयोग हुनु परिरहेको छ । नेपालको कला, धर्म, संस्कृतिदेखि लिएर यहाँको राष्ट्रिय भावलाई पश्चिमाहरूले दिन प्रतिदिन चिमोट्दै र निमोठ्दै जान थालेका छन् ।
नेपाली जनता गरिब थिएनन् र छैनन् पनि तर यहाँ शासक, दलका नेता र नेतृत्वको दरिद्रपनको सिकार आज सारा नेपाली जनता हुुनु परेको छ । नेपाली जनतालाई विकास, निर्माण र समृद्धिको बाटोमा नभई आन्दोलन, सडक, चक्काजाम र बन्दुक पट्काउनेबाहेक अरू केही पनि सिकाइएन ।
नेपाली जनताको गरिबी, पछौटेपन र अशिक्षाको फाइदा उठाउँदै नेपाली जनताको चेतना फैलाउने बहानामा आज नेपालीलाई जात, धर्म, संस्कृति र लिंगको आधारमा विभक्त गराउने कार्यहरू भइरहेको छ । नेपाली जनतालाई धार्मिक एवं सांस्कृतिक रूपले एक आपसमा विभक्त गराउनका लागि विगत लामो समयदेखि वैदेशिक शक्ति केन्द्रहरूले व्यापक दौडधुप गरिरहेका छन् ।
नेपालमा भइरहेका र सञ्चालनमा आइरहेका मानव अधिकार, शिक्षा, स्वास्थ्यदेखि लिएर जनचेतनामुखी अभियानमा वैदेशिक शक्ति केन्द्रको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको धर्म, संस्कृतिलाई तहसनहस बनाउने र नेपालीलाई सांस्कृतिक रूपमा पराइको आशीर्वादमा बाँच्ने र दया मायामा जिउन सिकाउनेबाहेक अरू केही पनि देखिँदैन । सरकारसँग जनलक्षित नीति कार्यक्रम नभएका कारण अधिकांश नेपालीहरू पराइका गल्लीगल्लीमा दासत्व अपनाउन विवश छन् ।
नेपालको ठूलो जनशक्ति आज समुद्र पार छ भने कतिपय युवादेखि लिएर महिलाहरू भारतका गल्लीगल्लीमा कामको खोजीमा भौँतारिरहेका छन् । आफ्नो देशमा गाँस, बास, कपास र रोजगारीको उचित व्यवस्था हुन नसकेका कारण पनि ठूलो संख्यामा नेपालीहरू असन्तुष्ट देखिन्छन् ।
तिनै नागरिकहरू आज जुनसुकै सरकार आए पनि त्यसका विरुद्धमा कसैले कुनै अभियान नै थालिहाल्यो भने पनि त्यही हुलमुलमा मिसन र आन्दोलन गर्न पछि पर्दैनन् । अनि विपक्षी वा देशलाई अस्थितरतातर्फ धकेलिरहने तत्वका लागि उनीहरू मसलाको रूपमा क्रियाशील बन्ने गर्दछन्, उनीहरू नै आन्दोलनका हतियार र उत्प्रेरक बनि दिन्छन् ।
यो नेपालका लागि ठूलो समस्या हो । समस्याको सिर्जना कहाँबाट भएको छ । हाम्रा नेता, नेपाली राजनीतिज्ञहरू कहाँ चुकेका छन् भन्ने विषयमा गहिरो अध्ययन नै नभएका कारण पनि नेपाली समाजमा अधिकांश जनताले मूल प्रवाहको विकासको लहरमा गाँसिनबाट विमुख भएका छन् ।
आज नेपालीहरूले प्राकृतिक सन्तुलन बिग्रिरहेको अवस्थाका बारेमा नभई अधिकारको लडाइँ लडिरहनु परिरहेको छ । राजनीतिक चेतनाको स्तर व्यापकरूपले बढेको छ जनतामा । तर, त्यही चेतनालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।
राजनीतिक दलहरूले जनतामा चेतना फैलाउने नाममा धेरै अधिकारमुखी आन्दोलनहरू गरे त्यसको सही व्यवस्थापन नभएकै कारण आज नेपाल एक असफल राष्ट्रको बाटोमा धकेलिँदै जान थालेको छ । दलहरूमा देखिएको स्वार्थ, सत्ता लिप्सा, विदेशीको चाप्लुसी गरी र परनिर्भर राजनीतिक कुलतकै कारण सारा नेपालीले दःुख पाउनु परिरहेको छ ।
जनता केवल राजनीतिक भ¥याङको रूपमा मात्र उपयोगमा ल्याइएका देखिन्छन् । राजनीतिक सिँढीका रूपमा जबसम्म जनतालाई उपयोगमा ल्याउने पुरानो रोग छ, त्यसको विचार नष्ट गर्ने र जनतालाई जबसम्म धार्मिक राजनीतिक, आर्थिक र सांस्कृतिरूपमा एकताबद्ध बनाउने दिशामा राज्यले नयाँ कार्यनीति र योजना ल्याउन सक्दैन तबसम्म नेपालीका सुदिनहरू आउनसक्ने सम्भावना कमै रहन्छन् ।
नेपाली समाज अशिक्षा, गरिबी, पछौटेपन, कुरीति, हत्या, हिंसा बलात्कार, बोक्सी, छुवाछूत, दाइजो जस्ता सामाजिक अपराधको जालोमा जेलिँदै जान थालेको छ । यस्ता गलत संस्कारमा दल र तिनका नेताहरू पनि लपेटिएका छन् ।
कुरीतिका जन्जिरहरूलाई तोड्ने बहानामा जनतालाई भड्काएर होइन शान्तिपूर्ण सामाजिक चेतनाको विकास गर्दै जनतालाई सभ्यताको पाठ सिकाउनका लागि दलहरूमा संस्कारको विकास हुन जरुरी छ ।
हरेक समस्याको निकास राजनीतिक रूपबाटै मात्र सम्भव भएकाले पनि सर्वप्रथम दल, नागरिक समाज र सचेत वर्गमा सकरात्मक सोच, रचनात्मक प्रतिपक्ष र जिम्मेवार सरकार हुनु पहिलो कर्तव्य हुन जान्छ ।
प्रतिक्रिया