दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत सुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख चिकित्सक गोकर्ण दाहालले दिएको जानकारीअनुसार सो सुविधा प्राप्त गर्नका लागि उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चारपटक अस्पतालमा गई गर्भ जाँच गराउनुपर्ने, सरकारी अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्नेलगायतका प्रावधान रहेका छन् ।
उनले ती सबै प्रक्रिया पुगेर आएका सुत्केरीलाई सरकारबाट प्रदान गरिने १ हजार ८ सयमा उपमहानगरपालिकाले ३ हजार २ सय थप गरेर प्रति सुत्केरीलाई पाँच हजार भत्ता प्रदान गर्ने गरेको बताए । उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने संख्या बढेको पनि डा. दाहालले बताए ।
उनले सुत्केरी भत्ताका कारणले पनि महिला नियमित स्वास्थ्य जाँच गराउन जाने गरेको पनि बताए । गत आवमा उपमहानगरपालिकाबाट १ हजार ५ सय ५ महिलाले सुत्केरी प्रोत्साहन भत्ता प्राप्त गरेका थिए । डा. दाहालले गत वर्ष १ हजार ५ सय ५ सुत्केरीलाई सरकारले प्रदान गर्दै आएको प्रतिसुत्केरी नौ सयमा ४ हजार १ सय उपमहानगरपालिकाले थप गरेर ५६ लाख सुत्केरी प्रोत्साहन भत्ता वितरण गरेको बताए ।
उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गत सालबाट नै मातृशिशु मृत्युदरमा कमी आएको डा. दाहालको भनाइ छ । उनका अनुसार आव ०७४÷७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख २ सय ३९ रहेकोमा उपमहानगरपालिकाको मातृशिशु मृत्युदर प्रतिलाख ४५ रहेको छ । ‘यो वर्ष अझै पनि कम हुने हाम्रो अपेक्षा रहेको छ,’ दाहालले भने ।
उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्न सुत्केरी प्रोत्साहन भत्ता दिने कार्यक्रम अगाडि सारेको नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले कार्यक्रम फलदायी भएको बताउँदै निम्नवर्गका परिवारका लागि पोषिले खानेकुरा खाने र न्यानो लुगा लगाउने काममा पैसा खर्च हुने गरेको समेत बताए । ‘सरकारले प्रदान गर्ने भत्तामा हामीले थप गरेर एकमुष्ठ पाँच हजार दिने गरेका छौँ’, पाण्डेले भने, ‘आमा र बच्चाको स्वास्थ्य ठीक होस् भनेर हामीले यस्तो गरेका हौँ ।’
प्रतिक्रिया