राम र जानकीको विवाहको पर्व मनाउन जनकपुरमा विवाह पञ्चमी महोत्सव धुमधामका साथ मनाइँदै छ । यसलाई नेपाल र भारतका श्रद्धालुहरूले श्रद्धापूर्वक मनाउँछन् । तर, यसपटक सीताको मन्दिर नजिकै रहेको राम मन्दिरमा भने पहिलाको तुलनामा खासै चहलपहल देखिएको छैन । यसबारेमा राम मन्दिरस्थित महन्त भन्छन्, ‘गुठी संस्थानले विवाह महोत्सव पर्वका लागि भनेर खर्च दिँदैन त्यही भएर यस्तो ठूलो पर्वका वेलामा पनि धुमधामसँग व्यवस्था गर्न सकिँदैन ।’
हिन्दू धार्मिक विश्वासमा त्रेतायुगमा राम र जानकी भनेर पनि चिनिने सीताको विवाह भएको उत्सव मनाउने पर्वका वेला राम मन्दिरमा चहलपहल नदेखिनुलाई स्थानीय श्रद्धालुहरू ‘ससुरालीमा भगवान् रामको उपेक्षा’ त भइरहेको छैन भनेर टीप्पणी गरेको सुनिन थालेको छ ।
यो वर्षको विवाह पञ्चमीका लागि रामको जन्मस्थान मानिएको भारत उत्तर प्रदेशको अयोध्याबाट साधुसन्तहरूको टोली सहितको जन्ती जनकपुर आइसकेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपालि विवाह महोत्सवमा रामको जन्तीको नेतृत्व गर्दै आएका छन् । भारतका विशिष्ट पाहुनाको संलग्नतामा हुन लागेको महोत्सव आयोजनाका लागि आर्थिक अभाव हुनु दुःखद् भएको गुनासो गर्छन्, राम मन्दिरका महन्त राम गिरी ।
‘जानकी मन्दिर जस्तै राम मन्दिरलाई पनि झिलिमिली बनाउन नचाहेको होइन’ महन्त गिरीले भने, ‘तर गुठी संस्थानले यहाँबाट लिएर जाने मात्र गर्छ, महत्वपूर्ण पर्व महोत्सवका लागि आवश्यक बजेट भने दिँदैन ।’ उनले गुनासो गर्दै भने । राम मन्दिर १२ सय वर्ष पुरानो रहेको बताइन्छ भने जानकी मन्दिर स्थापनाको ५ सय वर्ष भएको छ । राम मन्दिर राजगुठीअन्तर्गत रहेकोले त्यसको खर्चको व्यवस्थापन गर्ने र आम्दानीको हिसाब उसैले राख्ने गरेको छ ।
स्थानीयका अनुसार अत्यन्त महत्वपूर्ण सयौँ बिघा जग्गा गुठी तालुकको छ । तर, भगवान् राम मन्दिरमा भने वर्षको एकपटक हुने विवाह उत्सवको तयारीसमेत केही गरिएको छैन । भारतबाट आएका जन्ती र सन्तमहन्तहरूलाई मन्दिर परिसरमा उचित बस्ने व्यवस्था नभएको गुनासो पनि सुनिएको छ ।
विवाह पञ्चमीका अवसरमा अयोध्या र जनकपुरका सयौँ श्रद्धालुहरू त्यसमा सहभागी हुँदै छन् । विवाह पञ्चमीको दिन राम मन्दिरबाट जानकी मन्दिरमा जन्ती जानेछन् । तिलकोत्सव समारोहमा जानकी मन्दिरबाट १ सय ८ भार राम मन्दिर गएको थियो । तर, त्यहाँ उनीहरूले अपेक्षा गरे अनुसारको तयारी नभएको गुनासो छ । मन्दिरसँग राम्रो तयारीका लागि बजेट छैन । राम र महावीर युवा कमिटीले मन्दिरका अन्य आयस्रोतमाथि कब्जा जमाएका छन् ।
निकै उत्साही भएर आएका जन्तीहरू निराश भएको स्थानीयले बताए । साधुसन्तहरू राम मन्दिरमा आयोजित तिलकोत्सवमा सहभागी हुँदा उति साह्रो उत्साही देखिएनन् । उनीहरूले अपेक्षा गरे अनुरूपको तयारी नदेखेपछि खल्लो महसुस गरेको सन्तहरूले बताए । राम मन्दिरमा पहिलाजस्तो विवाह उत्सवको माहोल नदेखिएको श्रद्धालुहरू बताउँछन् । ‘राम मन्दिरमा शोभा सुन्दर केही देखिएन, एक श्रद्धालु गीता क्षेत्रीले भनिन्, ‘विवाह जानकीको मात्र होइन, रामको पनि हो । जनक दरबारमा उत्साह जस्तै दशरथ दरबारमा पनि उत्साह हुनुपथ्र्यो ।’
राम मन्दिरको सञ्चालन गुठीले गर्दै आएको छ । गुठी संस्थानले महन्तलाई जागिरेको रूपमा राखेर तलब, सुविधा उपलब्ध गराउँछ । ‘राम मन्दिरका महन्त गुठीको तलबी कर्मचारी मात्र हुन, मन्दिरका एक साधुले भने, ‘उनले आफ्नो चाहनाअनुसार मन्दिरलाई साजसजावट लगायतका कार्यहरू गर्न सक्दैनन् ।’
गुठी संस्थानको कार्यालयसमेत रहेको राम मन्दिरको फूलबारीलाई समाप्त गरिएको छ । केही युवा कमिटीहरूले त्यहाँ मेलाको आयोजना गरी अवैध असुली गरे पनि गुठी मौन देखिन्छ । राम मन्दिर क्षेत्रको पवित्रता समाप्त गरिएको छ । पवित्र पोखरी ढल बनेको छ । राम मन्दिरमा विवाह महोत्सवको आयोजना खल्लो रहेको भन्दै आलोचना भइरहेका वेला गुठी संस्थान धनुषाका प्रमुख मनोज शर्माले विधिविधानमा कुनै कमी नरहेको दाबी गरे ।
‘जानकी मन्दिर गुठीअन्तर्गत रहेकाले त्यहाँका महन्त नै सर्वेसर्वा हुन्, शर्माले भने, ‘जानकी मन्दिरलाई प्रदेश, उपमहानगरलगायत विभिन्न निकायहरूबाट सहयोग प्राप्त हुन्छ ।’ राम मन्दिरलाई गुठी संस्थानले कानुनी परिधिभित्र रहेर मात्र सहयोग उपलब्ध गराउने भएकाले कमी हुनु अस्वाभाविक नभएको शर्माले बताए ।
मिथिला संस्कृतिमा ज्वाइँ विशिष्ट पाहुना मानिन्छन् । तर, अहिले भगवान् राम ससुरालीमा उपेक्षित देखिएको केहीको गुनासो छ । विवाह महोत्सवमा सहभागी हुन अयोध्याबाट ठूलो संख्यामा सन्तमहन्तलगायत विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरू आएका छन् । त्यस्तो अवस्थामा राम मन्दिरलाई सुन्दरता प्रदान गर्न सकिएको छैन । राम मन्दिर अन्तर्गतको अधिकांश जमिनहरू गुठीको मिलेमतोमा बिक्री भइसकेको छ ।
गुठी मातहतका अधिकांश मठमन्दिरहरूको अवस्था जीर्ण छ । जानकी मन्दिरलाई प्रदेश सरकारले साजसज्जाका लागि रकम उपलब्ध गराएको दाबी गरेको छ । (बिबिसीको सहयोगमा)
प्रतिक्रिया