भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ०७५ मंसिर २६ गते राम–जानकी विवाहोत्सवमा जन्ती बनेर जनकपुर आउने टुंगो लागेको छ । रामको जन्मभूमि अयोध्या आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तर प्रदेशकै धार्मिक सहर हो । राजनीतिमा छिर्नुअघि उनी योगी (साधु) नै थिए ।
जनकपुर सीताको जन्मभूमि हो । यी दुवै धार्मिक सहरबीच त्रेतायुगदेखिकै सम्बन्ध छ । सीतालाई भारतका हिन्दूले सती सावित्री ठान्दछन् । उनको जन्मभूमि जनकपुरप्रति भारतीयको अगाध आस्था छ । नेपाल–भारतबीच प्राचीन सम्बन्ध छ । जनकपुर–अयोध्याको आफ्नै खाले भाइचारा छ । पुरानै सम्बन्धलाई नयाँ आयाम दिन भ्रमण हुन लागेकाले त्यसबाट दुवै देशलाई फाइदा हुने उद्देश्यले भाजपाका स्टार प्रचारक उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जनकपुरमा जन्ती आउने गरी भ्रमण तय भएको हो ।
प्रमाणिकरूपमा वि.सं. १७८० मा मकवानपुरका राजा मानिक सेनले श्री गोसाइको नाउँमा राम मन्दिर (जनकपुरपट्टी, बैराही टोल) मा पूजा–अर्चनाका लागि लालमोहर प्रदान गरेको अभिलेख छ । अर्कोतिर वि.सं. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा प्रशस्त विर्ता प्रदान गरे ।
मैथली महाकवि विद्यापतिको प्रथम कृति संस्कृतमा भू–परिक्रमण लेखिएको थियो । भू–परिक्रमणमा गिरिजास्थान, यमुना (नी) नदी, सीता कुण्ड, धनुषग्राम, परशुराम कुण्ड, गौतम कुण्ड, अहिल्यास्थान, कमला नदी आदिको चर्चा गरिएको छ । यसले गर्दा विद्यापतिकालीन मिथिलाले पनि जनकपुरको अस्तित्व रहेको देखाउँछ, अर्थात् तेह्रांै शताब्दीको अन्त्यतिर पनि यसको प्रसिद्धि थियो भन्ने जनाउँछ ।
सन्यासी चतुर्भुजनाथ गिरी आदि संस्थापक रहेको श्रीराम मन्दिर जनकपुरको सबैभन्दा प्राचीन मन्दिर भएको बुझिन्छ र वि.सं. १८३९ मा अमरसिंह थापाले बनाएको प्यागोडा शैलीको यो मन्दिरमा प्राचीन मूर्तिहरू छन् । भारत टिकमगढकी रानी बृषभानु कुमारीले आफ्नो आस्था र विश्वासकै कारण श्री जानकी मन्दिर बनाउने अठोट गरिन् र १८९४ ई. मा यस मन्दिरको शिलान्यास गरिन् । यो पूर्ण हुँदा उनी बितिसकेकी थिइन् ।
यो पूर्ण हुँदा ९११ ई. भएको थियो । मन्दिर बनाउँदा कालिगढहरू भारतबाटै आएकाले मुगल शैलीको प्रभाव यत्रतत्र देख्न सकिन्छ । जानकी मन्दिर स्थापत्यकलाको विलक्षण नमूना रहेको छ । यो टाढाबाट हेर्दा मन्दिरै–मन्दिरको सँगालोजस्तो देखिन्छ । २६ हजार ५१ सय ८० फिट क्षेत्रफलमा अवस्थित मन्दिर तीन तले बनाइएको छ । पश्चिमी भागमा सुनयना मन्दिर छ भने सम्पूर्ण मन्दिर परिसरमा ६० कोठा रहेका छन् । प्रवेशद्वार पूर्वतिर रहेको छ भने सिंहद्वार उत्तरतिर बनाइएको छ । सिंगै प्रस्तरले बनाइएका दुईवटा सिंहको आकृति अद्भूत र आकर्षक छन् ।
पूर्वतिरको प्रवेशद्वारको माथिल्लो भागको दायाँ–बायाँ माछाको आकृति कोरिएका छन् । यसले मिथिलाको विधि–व्यवहारको पनि ख्याल गरिएको छनक पाइन्छ । यसअतिरिक्त लक्ष्मण मन्दिर, जनक मन्दिर, विवाह मण्डप, रामानन्द आश्रम, संकट मोचनजस्ता प्रसिद्ध पीठहरू छन्, जसले जनकपुरधामको आध्यात्मिक चरित्रलाई उत्कर्षमा पु¥याउन निकै मद्दत गरेका छन् ।
जनकपुरका पवित्र पोखरीहरूको उत्पत्ति पनि धार्मिक मान्यता र विश्वासमा आधारित छन् । परासर मुनीले मैत्रेयीलाई भन्नुभएअनुसार ती पोखरीहरूमा स्नान गर्नाले अथवा जलपान गर्नाले मानिसलाई पुनर्जन्म लिनु पर्दैन । जनकपुरमा ५६ जलाशय रहेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ । गंगा सागर, धनुष सागर, राम सागर महत्वपूर्ण पोखरीहरू र पोखरीहरूमा रत्नसागर, विहार कुण्ड, अग्नि कुण्ड, ज्ञानकुप, अंगराज सर, कालमोचन सर, मुरली सर, महाराज सर, जनक सरोवर, प्रादप्रक्षालन सर आदि छन् । कुनै पनि स्थानमा सांस्कृतिक सम्पदाहरू छन् भने त्यसको संरक्षणको दायित्व समाज र राष्ट्रको हुनुपर्छ ।
अनिमात्र अन्य क्षेत्र त्यसपछि आकर्षित हुन्छन् । यस हिसाबले मूल्यांकन ग¥यौँ भने जनकपुर क्षेत्रमा उपलब्ध रहेका सम्पदाहरूलाई न त समाजले, न त राज्यले इमानदारीपूर्वक संरक्षण गर्ने प्रयास गरेको देखिन्छ । राम मन्दिर र जानकी मन्दिरबाट लगिएका गरगहना र अन्य बहुमूल्य सामग्रीको जानकारी नागरिक समाजलाई दिने कुनै प्रयास भएको छैन । ती सामग्री कहाँ छन्, कुन हालतमा छन् र त्यसको प्रदर्शन कतै गर्ने कि नगर्नेजस्ता अन्यौलता कायमै छ । यसतर्फ खोजी गरी सूची प्रकाशित गरेरै राख्नु पर्दछ ।
एउटा स्मरणीय पक्ष के छ भने राज्यपक्षबाट ०२९ भदौ २० गते नेपाल राजपत्र, भाग ४ मा गृह मन्त्रालयले एउटा सूचना प्रकाशित गरी ‘श्री ५ को सरकारको मिति ०२९ साउन २६ को निर्णयअनुसार जनकपुर अञ्चल, धनुषा जिल्ला, जनकपुरधामको परिक्रमा क्षेत्रभित्र माछा–मासु र मदिराहरू बिक्री–वितरण गर्ने र जीवजन्तु वध गर्ने काम निषेध गरिएको छ’ भनिएको छ ।
०६१ वैशाख २४ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले परिक्रमा क्षेत्रभित्र माछा नमार्ने निर्णय गरेको देखिन्छ । जनकपुरका मठ–मन्दिरहरू र पोखरीहरूका लागि आवश्यक संरक्षणको व्यवस्थापन गर्न एउटा उच्चस्तरीय समितिको गठन तत्कालीन अध्यक्ष भोजराज घिमिरेको कार्यकालमा भए पनि अहिलेसम्म लथालिंग छ ।
यसतर्फ सरकार गम्भीर बनी कार्य थालनी गर्नुपर्दछ । भोर नामक संस्थाले ५५ हजार हस्ताक्षर संकलन गरी जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न महत्वपूर्ण अभियान सञ्चालन गरेको थियो, त्यो पूरा हुन सकेको छैन । जनकपुरधामलाई विश्वको पर्यटकीय नक्सामा सामेल गर्न अब धेरै समय पर्खनु पर्दैन, पूर्वाधार तयार हुँदैछ ।
जनकपुरधाममा विवाह पञ्चमीको रमझममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएर नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा बदल्न खोज्नु नै आजको आवश्यकता हो । यसबाट नेपाल–भारत सम्बन्ध अझ मजबुत बन्ने विश्वास गर्दछौँ ।
प्रतिक्रिया