नेकपा सचिवालय बैठक बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एकता प्रक्रियालाई टुंगोमा पु¥याउनका लागि मंसिर ६ गते सचिवालय बैठक बोलाएको छ । पार्टीका तल्ला कमिटी, संगठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा तय भएको छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । तल्लोस्तरको कमिटीमा एकता नहुँदा नेता कार्यकर्ताबीच नैराश्यता छाएको भन्दै रोष प्रकट भइरहेका वेला सचिवालय बैठक बोलाइएको छ ।

बैठकमा यसअघि गठन भएको कार्यदलले आप्mनो प्रतिवेदन बुझाउने बताइएको छ । प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । ८ कात्तिकमा गठित कार्यदलले मापदण्ड बनाएर प्रदेश कमिटी सदस्य चयन र केन्द्रीय सदस्यको कार्य विभाजनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहालले नेकपाभित्र कुनै विवाद नरहेको भन्दै नेताहरूको विदेश भ्रमणका कारणले केही ढिलाइ भएको बताए । ‘मंसिर ६ गते सचिवालयको बैठक बस्ने, प्रदेश कमिटी टुंग्याउने, केन्द्रीय कमिटीको कार्यविभाजन टुंग्याउने र जिल्ला कमिटी फाइनल गर्ने सहमति भएको छ ।’

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटका विषयमा बोल्दै दाहालले भने, ‘त्यसलगत्तै स्थायी कमिटी बसेर अनुमोदन गर्ने कुरा भएको छ । त्यो काम हुन्छ । थोरै ढिलाइ भयो, तर विवाद चाहिँ छैन, ढुक्क हुनोस् ।’ उनले प्राय नेताहरू विदेश भ्रमणमा रहेका कारण समय नमिलेको पनि स्पष्ट पारे ।

‘विवाद भएर ढिलो भएको होइन, अन्य कतिपय प्राविधिक कारण परेका छन्, विदेश भ्रमण अलिक धेरै नै यो बीचमा भए । प्रधानमन्त्रीको पनि, मेरो पनि, अन्य नेताको पनि विदेश भ्रमण भयो, माधवजी त अहिले पनि विदेशमै हुनहुन्छ । प्रधानमन्त्रीको स्वास्थ्यको कारण पनि ढिलो भयो’, उनको भनाइ छ ।

सचिवालयले यसअघि प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवलगायत पदाधिकारी तोकेपछि वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका थिए । एकतापछि प्रदेशको नेतृत्व तोक्ने काम मात्र भएको छ । प्रदेश, जिल्ला कमिटी बनाउने, सबै तहको एकीकरणको अन्तिम स्वरूप तयार गर्ने काम अल्झेको छ ।

एकता भएको पाँच महिना कटे पनि संगठनहरू चलायमान नहुँदा पार्टी नै कमजोर बनेको भन्दै नेताहरू नेतृत्वप्रति आक्रोशित हुन थालेका छन् । जम्बो केन्द्रीय सदस्य भए पनि उनीहरू भूमिकाविहीन अवस्थामा छन् । नेकपाले प्रदेश, जिल्लासहित संगठनहरू एकता गरेपछि देशभरी नै सरकारको कामका विषयमा आमसभा गरेर जानकारी गराउने बताएको छ ।

प्रतिक्रिया