मोडलजस्ती गायिका

काठमाडौं, २९  जेठ । दुई दर्जनभन्दा बढी फुटकर गीतमा स्वर दिइसकेकी छन् गायिका मुगा श्रेष्ठले । सांगीतिक क्षेत्रमा लागेको पाँच वर्ष भइसक्यो । यही अवधि संगीतमा बिताउनेहरूका एकल एल्बमै प्रशस्तै भइसकेका छन् । तर, मुगाले भने अहिलेसम्म दुइटा एल्बमबाहेक बजारमा ल्याउन सकेकी छैनन् । किन ? भनिन्, ‘हेर्नुस् न, फुर्सदै मिलेन भन्या । समय हुँदा पनि फुटकर गीततिरै व्यस्त भइयो ।
एल्बम निकाल्नेतिर बढी खट्नै पाइएन ।’ यही रिक्ततालाई आत्मसात् गरेर अहिले भने उनले आफ्नो दोस्रो एकल एल्बम बजारमा ल्याएकी छन् ।
करिब दुई वर्षअगाडि आफ्नै नामबाट पहिलो एल्बम मुगा बजारमा ल्याएकी उनले अहिले बजारमा ल्याएको एल्बम हो,
मुगा–२ । ‘आफ्नै नामबाट निकालेको पहिलो एल्बम सफल भयो, त्यसैले दोस्रो एल्बमको नाम पनि त्यसैबाट राखेँ,’ उनले भनिन् । गुरुदेव कामतसँग तीन वर्ष सांगीतिक प्रशिक्षण लिएपछि संगीतको व्यावसायिक मार्गमा छिरेकी मुगाको दोस्रो एल्बममा नरहरि प्रेमी र हीरा श्रेष्ठले संगीत दिएका छन् । सुरुमा रहरैरहरले गीतसंगीत रोजेकी मुगा अब संगीत जीवनकै अंग बनिसकेको सुनाउँछिन्, ‘अब त गीतसंगीतबाट टाढा रहनै सक्दिनँ म ।’
एल्बम, फुटकर गीतका अलावा मानवअधिकार, ट्राफिक तथा प्रहरीका गीतमा समेत स्वर दिएकी मुगा जीविकाका लागि ब्युटिसिएन पेसालाई सँगसँगै बढाइरहेकी छन् । ‘गीतसंगीतलाई व्यवसायका रूपमा अँगालेर जीविकोपार्जन गर्न सकिँदैन त्यसैले ब्युटिसियन पेसा पनि रोजेकी हुँ,’ उनले भनिन् । त्यसो त उनले गाएका सबै गीत आधुनिक विधाका छन् । किन ? भन्छिन्, ‘किनकि, मेरो स्वरलाई आधुनिक गीत नै बढी म्याच गर्छ ।’
त्यसो त स्वर जत्तिकै राम्री छन् मुगा आफैँ पनि । झट्ट हेर्दा गायिकाभन्दा बढी कुनै मोडलजस्ती देखिन्छिन् । मोडलिङप्रति चाहिँ उनको रुचि होला कि नहोला ? प्रश्न झर्न नपाउँदै पन्छिइन्, ‘अहँ, मोडलिङ त मेरो रुचिको विषय नै होइन ।’ भोजपुरमा जन्मिए पनि सानै उमेरदेखि काठमाडौंमै बिताएकी मुगा अहिले संगीत विषय लिएर पद्मकन्या क्याम्पसमा अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् ।

प्रतिक्रिया