भारतीय र चिनियाँबीच बिहे किन हुँदैन ?

केही समय यता चीनमा इन्टरनेटमार्फत नै महत्वपूर्ण विषयमा बहस सुरु गर्न थालेका छन् । उनीहरू सामाजिक विषयमा इन्टरनेटमार्फत नै जमेर बहस गर्न रुचाउँछन् । अहिले चीनमा एउटा सामाजिक बहसले इन्टरनेटमा महत्वपूर्ण स्थान पाएको छ । त्यो हो, भारतीय युवती चिनियाँ युवासँग किन बिहे गर्न रुचाउँदैनन् ?

यो मुद्दा चर्को बहसको विषय बनेको छ । सबैभन्दा पहिला उक्त विषय चिनियाँ वेबसाइड झिहुँमा एक वर्ष पहिला उठेको थियो । उक्त वेबसाइडमा धेरै मान्छेको प्रश्न आउँथ्यो । त्यसका प्रयोगकर्ताले भने आफ्नै तरिकाले त्यसको जवाफ दिन्थे । पछिल्लो केही दिन यता त्यही कुराको बहस अझ बढेको छ ।

धेरै मान्छेका बीचमा उक्त विषयले बहसको स्थान पाएको छ । अहिलेसम्म उक्त विषयमा १२ लाख मान्छेले प्रश्न गरिसके । कतिले चित्तबुझ्दाे जवाफ पाए त कतिले पाएनन् ।  हुन त चीन र भारतको संस्कृति फरक छ । दुवै देशका आआफ्नै संस्कृति र संस्कारले गर्दा बिहेवारी गरे पनि घरजममा समस्या आउने देखिन्छ ।

भारतीय संस्कारमा बुहारीले निभाउने धर्म र चिनियाँ बुहारीले निभाउने धर्ममा फरक छ । तर, संसार यति साँघुरो भइसकेको छ कि सबै मानिस एकअर्कासँग भिन्न छैनन् । कामको सिलसिलमा मानिस एक देशबाट अर्को देशमा जाने र त्यहीको रीतिरिवाजसँग भिजेर त्यहीँ घरजम गर्ने संस्कार पनि विकास नभएको होइन ।

तर, बिहे गरी घरजम गर्नु भनको एक महत्वपूर्ण मुद्दा हो । त्यसमाथि पनि बिहेपश्चात् विवाहिता महिलाले नयाँ घर, परिवार र त्यो संस्कारमा निभाउनुपर्ने दायित्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चीनको कुल जनसंख्यामा महिलाभन्दा पुरुषको संख्या ३४ लाखले बढी छ ।

यसमा त्यहाँ लामोसमसम्म रहेको एक सन्तान नीति प्रमुख कारण थियो । तीन वर्ष पहिलासम्म चिनियाँ दम्पतीले छोरा वा छोरी जे भए पनि एक मात्र सन्तान जन्माउन पाउँथे । हाल उक्त नीतिमा परिवर्तन गरी दुई सन्तान जन्माउन पाउने व्यवस्था गरिएको छ ।  तर, चिनियाँ नागरिकको चाहनाअनुसार यो नीतिमा पनि परिवर्तन गर्ने सोचमा चीन सरकार देखिएको छ ।

 यस्तै भारतमा महिलाको कुल जनसंख्याभन्दा पुरुषको संख्या ३७ लाखले बढी छ । भारतमा आफूखुसी सन्तान जन्माउन पाउने अधिकार छ । अझ भारतमा गर्भमा छोरी रहेको थाहा हुने बित्तिकै लुकीछिपी भ्रुणहत्या गर्नेको संख्या अधिक भएका कारण पनि भारतमा महिलाभन्दा पुरुषको संख्या बढी भएको बताइन्छ ।

भारतमा बिहे गर्दा तिलक, दाइजो लिन नपाउने भने पनि त्यो कार्यान्वयन भएको छैन। भारतमा बिहेमा दुलहीका परिवारले दुलहा पक्षका परिवारका लागि नगदको साथै सुन चाँदीका गहना र बिलासीका घरायसी समान दिनुपर्ने बाध्यता छ । यसमा कतिले त मागेर नै पनि लिने गरेको समाचार सुन्ने गरिन्छ ।

तर, चीनमा यसको ठीक उल्टो छ । दुलहीको परिवारका सदस्यलाई दुल्हाको परिवारले दुलहीको मूल्य भेटी दिने प्रचलन छ । झिहुँ नामको उक्त वेबसाइडका अनुसार चीनमा सामान्यतया बिहेको छिनोफानो (टीकाटालो) गर्दा एक लाख युआन अर्थात करिब १६ लाख नेपाली रुपैयाँ उपहारस्वरूप केटी पक्षलाई दिने प्रचलन छ ।

त्यहाँ बिहेमा केटी पक्षलाई पैसाको चिन्ता हुँदैन । जति केटा पक्षलाई हुन्छ ।  भारतका सन्त नेता महात्मा गान्धीलाई सम्मान गर्ने एक चिनियाँ युवतीले उक्त वेबसाइडमा एउटा लामो लेखमा बिहेमा चिनीयाँहरूले गर्ने खर्चका बारेमा प्रष्ट पार्दै लेखेकी छन् । ‘हाम्रो देशमा बिहेको वेला केटाले केटीका परिवारलाई दिने एक लाख कुनै पनि भारतीय सामान्य किसानको १० वर्षको कमाइ हो ।

आफ्नो छोरीको बिहेमा धेरै खर्च गर्नको सट्टा छोरीलाई चीनमा बिहे गराएर मोटो रकम कमाउन सकिन्छ ।’ उनले यसका बारेमा सोच्न पनि भारतीयलाई आग्रह गरेकी छन् । उनले उक्त पोस्टमा अगाडि लेखेकी छन्, ‘चीनका ग्रामीण बस्ती भारतको बस्तीभन्दा धेरै गुण राम्रो छ ।

यहाँ धेरै कुराको सुविधा छ, जनताका आधारभूत आवश्यकता पूरा गर्न समस्या छैन । यदि कुनै पनि युवतीको बिहे सहरमा बसोबास गर्ने चिनियाँ युवासँग भयो भने अझ बढ्न सक्छ ।’ भारतीय पुरुष र त्यहाँका मान्छेको ध्यान तान्दै उनले लेखेकी छन् ।

उनले त्यसबारेमा कारण खुलाउँदै भनेकी छन्, ‘यस सवालमा मेरो उत्सुकता बढ्दै जानुको कारण के पनि हो भने, चिनियाँ पुरुष भियतनाम र बर्मा मात्रै होइन युक्रेनको युवतीसँग बिहे गर्दै छन् । चीनमा त्यहाँका धेरै बुहारी भित्रिएका छन् । तर, त्यो बिहेवारी भारतीय युवतीसँगै गर्दै छैनन् ।’

दुई देशका बीचमा सांस्कृतिक सम्बन्ध राम्रो हुँदै गएको छ । तर, भारतीय युवती र चिनियाँ युवाको जोडी अन्य मुलुकका जोडीको तुलनामा निकै कम देखिन्छ । चिनियाँ सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चीनको सन्देश दिने एक एप्समा दुई सय अन्य मुलुकको जोडीमा एक जोडी मात्र यस्ता छन् जो भारतीय केटी चिनियाँ केटा छन् ।

झिहुको (कमेन्ट बक्स) सुझावमा दाइजोका बारेमा चर्को बहस हुने गरेको छ । मान्छेहरू आफ्नो टिप्पणीमा लेख्छन् । दाइजोको रूपमा दिने मोटो रकमका कारण भारतमा कैयाैँ युवतीले ज्यान गुमाउनु परेको छ । भारतमा दाइजोका कारण जिउँदै जल्ने र मर्न बाध्य भएकाहरूप्रति सहानुभूतिपूर्वक सचेत हुन सम्झाइएको छ ।

बेजिङ विश्वविद्यालमा अध्ययनरत युवा हे वेईले झिहुमा चलिरहेको बहसको भाषा र शब्दप्रति आपत्ति प्रकट गरेका छन् । गएको मंगलबार पनि हेले लेखेका छन् कि भारतमा बिहे पैसाको लागि मात्रै हुँदैन । उनले भारतमा केही विकृति भए पनि सबैमा त्यस्तो स्वार्थ नभएको बताएका छन् ।

उनले केही लोभिपापीका कारण पूरा भारत दाइजो तिलकको नाममा बदनाम भएको उल्लेख गरेका छन् । भारतका चर्चित नायक आमिर खानको सिनेमा दंगलको कथालाई उठाउँदै उनले लेखेका छन् । ‘भारत र चीनको सहरी मध्यमवर्गमा खास केही फरक छैन । यो दुवै देशका वर्ग बिन्दास छन् ।

उनीहरूको जीवनशैली आरामको छ । अर्को कुरा यो वर्गमा कोही पनि कुनै विदेशी नागरिकसँग बिहे गर्न सहजै तयार हुन्छन् ।’ उनीहरू दायाँ बायाँ हेर्दैनन् र समस्या पनि देख्दैनन् । त्यस्तै एक प्रयोगकर्ताले लेखेका छन्, कि भारतीय युवतीको चिनियाँ युवासँग बिहे न गर्नाका कारण मध्ये एक हो । सुखी जीवनमा यो दुईको भेट नै हुँदैन ।

उनले लेखेका छन्, ‘कैयाैँ भारतीय पुरुष चीन र हङकङमा काम गर्छन् । उनीहरू लामो समयदेखि यहाँ बसोबास पनि गरेका छन् । तर, यहाँ भारतीय महिलाको संख्या शून्यजस्तै छ । मुस्किलले भेटिन्छ भारतीय महिला । यसको विपरीत अफ्रिकामा कयाैँ चिनियाँ पुरुष काम गर्छन् ।

जसको कारणले यसमा कैयौँ अफ्रिकी केटीहरूसँग बिहे गरिरहेका छन् । उनीहरू चिनियाँ युवतीभन्दा अफ्रिकी युवतीसँग बिहे गर्न रुचाउँछन् । त्यसलाई सहज रूपमा स्वीकार गर्छन् ।  यस्तै गरी एक फेंग नामका प्रयोगकर्ताले सो वेबसाइडमा आफ्नो धारण यसरी राखेका छन् ।

‘भारतीय महिलामाथि पारिवारिक सम्बन्धलाई राम्रो बनाउने भन्ने चर्को बोझ पनि रहनेछ, यसको साथै भारतीय पुरुष हेर्दा आकर्षक पनि देखिन्छन् । उनीहरूका अघि चिनियाँ पुरुष त्यति आकर्षक देखिँदैनन् । मान्छेले आफ्ना लागि रोजेको साथी हेर्दा पनि राम्रो होस् भन्ने चाहन्छ ।’

यही विषयमा चर्को बहस चलिरहेको वेला केही मान्छे केसम्म भन्छन् भने, ‘भारतीय अभिभावक आफ्नो छोरीको बिहे चिनियाँ पुरुषको तुलनामा गोराहरू वा युरोपियनहरूसँग होस् भन्ने चाहन्छन् । छोरीहरूप्रति उनीहरूको त्यसै अनुसारको दबाब हुन्छ र स्वयं बिहे गर्ने मान्छेको रोजाइ पनि चिनियाँभन्दा ती मुलुकहरूमा बढी हुने गरेको छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया