साउनमा पनि सिडिएस सञ्चालन नहुने

काठमाडौं, २२ जेठ । सूचीकृत कम्पनीका कारण साउनदेखि केन्द्रीय निक्षेप प्रणाली (सिडिएस) सञ्चालनमा नआउने संकेत देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी सिडिएसमा आउन ढिलाइ गरेका कारण तोकिएको समयमा सिडिएस सञ्चालन हुन नसक्ने भएको हो । नेप्सेमा दुई सय १५ कम्पनी भए पनि हालसम्म कुनै पनि कम्पनी सिडिएसमा सूचीकृत भएका छैनन् ।
हालै अर्थ मन्त्रालयले आन्दोलनरत तीनवटा लगानीकर्ता संघसँगको नौ बुँदे सम्झौतामा १ साउनदेखि पूर्णरूपमा सिडिएस सञ्चालनमा ल्याउने सम्झौता गरेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले प्राविधिक रूपमा सिडिएस पूर्ण सञ्चालन हुने तयारी रहे पनि अन्य सरोकारवाला पक्षको असहयोगका कारण तोकिएको समयमा सञ्चालन हुन कठिनाइ भइरहेको बताए ।
गत बिहीबार तीनवटा लगानीकर्ता संघसँग नौ बुँदे सम्झौता गरेपछि करिब २५ सूचीकृत कम्पनीले सिडिएसमा सूचीकृत गर्ने प्रक्रियाबारे सोधपुछ गरेको सिग्देलले बताए । केन्द्रीय निक्षेप सेवा नियमावली ०६८ माघबाट लागू गरिएको हो । यसअघि धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियवमाली, ०६७ मा सञ्चालनमा आएको एक वर्षभित्र नेप्सेमा सूचीकृत कम्पनी अनिवार्य रूपमा सिडिएस कम्पनीमा दर्ता हुनुपर्ने प्रावधान तोकिएको थियो ।
सिडिएससीले सूचीकृत सबै कम्पनीलाई सिडिएससीमा सूचीकृत हुन आउन पत्राचार गरे पनि सिडिएससी अस्तित्वमा आएको पाँच महिना बितिसक्दा पनि कुनै पनि कम्पनी सूचीकृत भएका छैनन् । शिखर इन्स्योरेन्स कम्पनीले सूचीकृत हुन निवेदन दिए पनि अझै सम्पूर्ण प्रक्रिया पूरा नभएको उनले बताए ।
लगानीकर्ता संघसँगको सम्झौतापछि सिडिएस कम्पनी आफैंले पनि सूचीकृत कम्पनीसँग थप छलफल अगाडि बढाएको छ तर सूचीकृत कम्पनीले चालु आर्थिक वर्षमा सिडिएसमा सूचीकृत हुन बजेट अभाव रहेको बताउने गरेको प्रमुख कार्यकारी अधिकृत सिग्देलले बताए । अर्थ मन्त्रालयको सम्झौताअनुसार सिडिएस सञ्चालन गर्नको लागि एक महिना मात्र समय सीमा बाँकी छ । सिडिएस पूर्णरूपमा सञ्चालनमा आउनका लगानीकर्ताले सेयर बेचेको तीन दिनभित्र रकम आफ्नो खातामा पाइसक्नुपर्छ । त्यसको लागि नेप्सेमा सूचीकृत कम्पनी सिडिएसमा पनि सूचीकृत हुनुपर्छ । सिडिएसले निक्षेप सदस्य बनाएका कम्पनीहरूमा गएर सम्बन्धित सेयरधनीले डिम्याट खाता खोल्नुपर्छ तर हालसम्मको विकासक्रम हेर्दा यो असम्भव देखिएको छ ।
सिडिएस कम्पनीले हालसम्म सिभिल क्यापिटल र एस क्यापिटल दुई कम्पनीसँग मात्र निक्षेप सदस्यको सम्झौता गरेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गर्ने निक्षेप सदस्य योभन्दा बढी रहे पनि तिनीहरूले सिडिएस कम्पनीसँग थप सम्झौता गरिसकेका छैनन् । धितोपत्र केन्द्रीय निक्षेप सेवा नियवमाली, ०६७ मा धितोपत्र बोर्डबाट निक्षेप सदस्यको अनुमति प्राप्त गरेका कम्पनीले पुन: सिडिएस कम्पनीमा छुट्टै सम्झौता गर्नुपर्ने उल्लेख छ । सिडिएस कम्पनीबाट अनुमति प्राप्त गरेका दुई कम्पनीले पनि लगानीकर्ताको डिम्याट खाता खोल्ने प्रक्रिया सुरु गरिसकेका छैनन् ।
सिडिएस कम्पनी पूर्णरूपमा सेवा दिन तयार रहे पनि सेवा लिने कम्पनी नै सेवा लिन नआएका कारण सिडिएस कम्पनी समयमा सञ्चालनमा नआउने भएको प्रमुख कार्यकारी अधिकृत सिग्देलले बताए । आगामी एक महिनाभित्र केही कम्पनी सूचीकृत हुन आएमा आंशिक भए पनि श्रावणसम्म सिडिएस सञ्चालनमा ल्याउन सकिने आशा उनले व्यक्त गरे ।
नेपाल धितोपत्र बोर्डले पनि सिडिएस सञ्चालनमा ल्याउन सकारात्मक पहल गरेको उनले बताए । उनले भने, ‘बोर्डले पनि सम्पूर्ण सूचीकृत कम्पनीलाई सिडिएसमा सूचीकृत हुन आउन अनुरोध गरेको छ ।’ नियवमालीमा नै एक वर्षभित्र सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था रहेका कारण कम्पनी ढुक्क भएर सूचीकृत नगरीकन बसेको उनले आरोप लगाए । सूचना प्रविधिको आवश्यकता बुझ्ने कम्पनीहरू सिडिएसमा चाँडो सूचीकृत हुन आउने आशा उनले व्यक्त गरे । सिडिएसमा सूचीकृत भइसकेपछि सूचीकृत कम्पनीका लगानीकर्ताले नै छिटो छरितो सेवा पाउने हुँदा कम्पनीको विश्वसनीयतामा समेत वृद्धि हुने उनले दाबी गरे ।
धितोपत्र बोर्डले सिडिएस कम्पनीलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन क्लियरिङ एन्ड सेटलमेन्ट विनियमावली पनि स्वीकृत गर्न बाँकी छ । प्रमुख कार्यकारी अधिकृत सिग्देलका अनुसार सिडिएस कम्पनीले त्यसको मस्यौदा तयार पारेर चाँडै नै बोर्डमा बुझाउने बताए । यसअघि नेप्सेले विनियमावलीविना नै कारोबारको राफसाफ गरिरहेको हुँदा यो विनियमावली आउन ढिला भए पनि सिडिएस सञ्चालनमा भने कुनै बाधा नपर्ने उनले बताए । यो विनियमावली आइसकेपछि भने काममा थप सहजता मात्र थपिने उनको धारणा छ ।

 

 

प्रतिक्रिया