आयातीत बिउवीजनको प्रयोग कायमै

विराटनगर, २१ जेठ । बालीनाली राम्रो फलाउन उन्नत बिउको प्रयोग महत्त्वपूर्ण भए पनि पूर्वमा झन्डै शतप्रतिशत आयतीत (हाइब्रिड र कमसल) बिउवीजन प्रयोग हँदै आएको छ । धान र गहुँबाहेक अन्य बालीमा किसानले विदेशबाट आयात गरिएका कमसल बिउवीजन नै प्रयोग गर्ने गरेका छन् ।

‘तरकारीमा ९९ प्रतिशत र मकैमा ७० प्रतिशत कमसल बिउ प्रयोग हुन्छ,’ जिल्ला कृषि विकास कार्यालय मोरङका बालीविकास अधिकृत अब्दुल सत्तार अन्सारी भन्छन् । उनका अनुसार मोरङमा धानमा २१ र गहुँमा २८ प्रतिशत मात्र कृषकले उन्नत बिउ प्रयोग गर्छन् । कृषि प्राविधिकका अनुसार नेपालमा बिउवीजनको उत्पादन र भण्डारण कार्यक्रमको विकास हुन नसक्दा किसानले भारत, चीनलगायतका देशबाट आयात गरिएका कमसल बिउवीजन प्रयोग गर्ने गरेका हुन् ।
एकातिर आवश्यक उन्नत बिउवीजन उपलब्ध नभएको र अर्कोतिर कृषकको माग हाइब्रिड बिउवीजनको प्रयोगमै रहेको पाइन्छ तर नेपालमा हाइब्रिड बिउवीजन उत्पादनका लागि कुनै कार्यक्रम संचालन छैनन् । मकै, तरकारी आदि बालीमा किसानले हाइब्रिड बिउ नै प्रयोग गर्ने गरेका छन् । कृषकले मकैमा ७० प्रतिशत किसानले हाइब्रिड बिउ नै प्रयोग गर्ने गर्दछन् । यसले पनि किसानले उन्नत बिउवीजन उत्पादनमा आवश्यक चासो दिइरहेको मोरङ हात्तीमुढाका किसान विष्णु पौडेल बताउँछन् । उनले भने, ‘कछुवा गतिमा संचालन गरिएको बिउवीजन कार्यक्रमले लक्ष्य पूरा गर्न गाह्रो छ ।’
राष्ट्रिय बिउवीजन ऐन ०४५ र नियमावली ०५४ अनुसार सूचीकृत भएबाहेकका बिउवीजन बेचबिखन गर्न पाइँदैन तर भारतीय र चीनबाट आयात गरिएका दर्जनाँै कम्पनीका हाइब्रिड बिउवीजन खुलेआम बजारमा बिक्री गरिन्छन् । यसैले किसान कैयाँैचोटि बालीमा दाना नलाग्ने, नउम्रनेलगायत समस्याबाट पीडित छन् ।
सरकारले सन् ०२० सम्म सबै किसिमका उन्नत जातको बिउ उत्पादन गराएर कृषकलाई बिउवीजनको प्रयोगमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । सोहीअनुसार जिल्लामा कृषक समूह बनाएर बिउ उत्पादन गर्न कृषि विकास कार्यालयमार्फत कार्यक्रम संचालन पनि गरिरहेको छ । तर कृषकको चेतनास्तर र लगानीमा कमी तथा भण्डारण प्रविधियुक्त गोदाम अभावले बिउवीजन कार्यक्रम उस्तो प्रभावकारी भइरहेको पाइंदैन । क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार जिल्लामा कृषि विकास कार्यालयले कृषकलाई पाँचदेखि ६० हजारसम्म हितकोष बनाउन लगाएर बिउवीजन कार्यक्रम संचालन गराउने गरेको छ । जसमा कृषकले स्रोत बिउ उत्पादन गर्ने र प्रविधि हस्तान्तरणबारे कृषकलाई अनुशिक्षण गराउन गरिन्छ ।
किसानले धानमा राधा १२, मिथिला, हर्दीनाथ, कान्छी मुसुली, मन्सुलीजस्ता विभिन्न जातका उन्नत बिउ उत्पादन गरी प्रयोग गर्ने गरेका छन् । यसैगरी गहँुमा पनि उन्नतजातकै प्रयोग गर्न थालेका छन् । राष्ट्रिय बिउवीजन उत्पादन कार्यक्रम संचालन भएपछि जिल्लामा उन्नत जातको बिउ उत्पादन गर्ने क्रम हरेक वर्ष बढेर गएको तर अझै माग धान्नसक्ने अवस्था भने आइपुगेको छैन ।

प्रतिक्रिया