नेपाली सेना कंगोमा विकासमा व्यस्त

दीपराज सन्याल बुनिया, कंगो । १९ साउन नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईंलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले एक वर्षको अवधिमा कंगोमा विभिन्न ठूला–साना निर्माण परियोजना सुरु गरेको छ ।

गुल्मले सुरु गरेको तीनवटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । त्यस्तै, १२ वटा प्रमुख परियोजनामध्ये १० वटा पूरा भएका छन् भने दुईवटा निर्माणाधीन छन् । यसैगरी गुल्मले एक वर्षको अवधिमा ६९ वटा साना परियोजना पनि सम्पन्न गरेको छ ।

इन्जिनियर गुल्मको २१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुल्मपति रथी दिव्यराज प्रसाईंले २१औँ टोलीले महत्वपूर्ण परियोजनामध्ये १८ किलोमिटर लामो छावि–काकुका सडक निर्माण सम्पन्न गरेको तथा १८ किमी लामो कामान्गो–सिमिलिकी सडक र ४२ किमी लामो बोगोरो–अभेवा सडकको दोस्रो खण्डको पुनः स्थापना कार्य जारी रहेको बताउनुभयो ।
उहाँका अनुसार २१औँ डफ्फाले सम्पन्न गरेको १० वटा प्रमुख योजनाअन्तर्गत माविवि बोइकेने र माडिवा शिविरमा बाटो र नाला निर्माण २० किमी बुनियाँ–वोगोरा–अभेवा सडकको प्रथम खण्डको निर्माण, १८ किमी लामो कामान्गो–सिमिलिकि सडकको द्रुत मर्मतसम्भार, माविवि विमानस्थलमा ‘एप्रोन’ को विस्तार, सेमिलिकी कामागो स्थलगत प्रतिरक्षा सुधारकार्यमा प्राविधिक सहयोग तथा सुपरीवेक्षण गरिएको छ ।

यसैगरी माविविमा अवस्थित ‘एप्रोन’ को विस्तार कार्य, माविविस्थित माल्बाट सैनिक आधार इलाका स्थानान्तरणको लागि मैदान निर्माण, १७ किलोमिटर लामो एम्बउ–कामान्गो सडकको तीव्र मर्मतसम्भार, बंगलादेशी शान्ति सेना गणको आधार शिविरको विस्तार कार्यमा प्राविधिक सहयोग र बुनियाँको रवाम्पारास्थित ढल निर्माण रहेका छन् ।

परियोजनामा आधार शिविरलाई कमान्गोबाट सेमिलिकिमा स्थानान्तरण र सेमिलिकिमा नयाँ सुरक्षा पूर्वाधार निर्माण तथा माविवि विमानस्थल धावनमार्गको मर्मतसम्भार रहेका छन् । यसका अतिरिक्त टोलीले कंगोमा रहेका विभिन्न मुलुकका शान्ति सेनालाई प्राविधिक सहयोग पनि प्रदान गर्ने गरेको छ। नेपाली शान्ति सेना इन्जिनियर गुल्म डफ्फा–२१ ले स्थानीय समुदायमा समेत ‘नागरिक–सैनिक सहयोग’ क्रियाकलापअन्तर्गत आठवटा विभिन्न सहायता कार्य सम्पन्न गरेको छ ।

यसअन्तर्गत विभिन्न विद्यालयमा खेलकुद मैदान निर्माण, खेलकुद सामग्री वितरण, स्वास्थ्य परीक्षण शिविर सञ्चालन, स्थानीय सडकको निर्माण, खानेपानी वितरण, विद्यालय भवनमा रंगरोगन, चर्पी निर्माण र कापी कलम वितरण रहेका छन् । नेपाली इन्जिनियर गुल्म–२१ ले आफ्नो कार्यदेशबाहेक प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ तैनाथ शान्ति सेनालाई सहायक कार्यमार्फत् विभिन्न सहायता प्रदान गरिरहेको छ ।

यसअन्तर्गत गुल्म–२१ ले लुबेरो–कासुगो सडक मार्गमा पर्ने नौवटा पुलको मर्मत गरेको छ । यी र यस्तै, परोपकारी कार्यका कारण नेपाली इन्जिनियर गुल्म–२१ स्थानीय समुदायमा सकारात्मक सन्देश दिन सफल भएको छ । नेपाली शान्ति सेनाका जवान वा नेपालको राष्ट्रिय झण्डा अंकित सवारीसाधन देख्नासाथ स्थानीय समुदायका बालबालिका मुठ्ठी पारेको हातबाट बुढी औँला देखाएर ‘धम्बस् अप’ का साथ खुसी हुँदै हार्दिकता प्रकट गर्ने गर्दछन् ।

‘हामीबाहिर फिल्डमा काम गर्न जाँदा कहिलेकाहीँ स्थानीय बालबालिकालाई बिस्कुटलगायत खानेकुरा दिन्छौँ । अन्य मुलुकका सैनिकजस्तो रुखो व्यवहार देखाउदैनौँ । बालबालिका हामीलाई देख्नासाथ झ्याम्मिन आइपुग्छन्,’ नेपाली इन्जिनियर गुल्म–२१ मा संलग्न श्रीकाली शक्ति गण (इ) का प्युठ सूर्यबहादुर नेपालीले भन्नुभयो ।

नेपाली शान्ति सेना समुदायस्तरमा सञ्चालित सहायता कार्य तथा परोपकारी भावनाका कारण स्थानीयवासीको मन जित्न सफल भएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति र स्थायीत्व कायम गर्न स्थापित संयुक्त राष्ट्र संघीय निकायअन्तर्गत कार्यरत नेपाली इन्जिनियर गुल्म–२१ ले उसको कार्यदक्षताको कदर स्वरूप सो निकायका सैन्य प्रमुखबाट दुईपटक प्रशंसापत्र प्राप्त गरिसकेको छ ।

कामान्गो–सिमिलिकि सडकमार्ग र बुनियाँ–बोगोरो सडकमार्ग पुनः स्थापना गर्न सफलता प्राप्त गरेकोमा नेपाली इन्जिनियर गुल्म–२१ लाई सो कदरपत्र प्रदान गरिएको हो । यी दुवै महत्वपूर्ण सडक मार्गको पुनः स्थापना कार्यलाई संयुक्त राष्ट्रसंघ मुख्यालयले उच्च प्राथमिकता दिएको थियो । संयुक्त राष्ट्रसंघ शान्ति निकायअन्तर्गत कंगोमा ०७४ साल साउन २ मा नेपाली इन्जिनियर गुल्म–२१ तैनाथ गरिएको हो ।

कंगोमा नेपाली सेना ०६० साल कात्तिक ६ गतेबाट कार्यरत रहेको छ । नेपालीबाहेक इन्डोनेसिया, दक्षिण अफ्रिका, बंगलादेश, उरुग्वे र चीनका सैन्य इन्जिनियर गुल्म कंगोका विभिन्न भागमा कार्यरत छन् । कंगोको उत्तरी भागमा इन्डोनेसिया र नेपाली सेनाका इन्जिनियर गुल्म, मध्यभागमा दक्षिण अफ्रिका र बंगलादेशका सेनाका इन्जिनियर गुल्म तथा दक्षिणी भागमा उरुग्वे र चिनियाँ सेनाका इन्जिनियर गुल्म तैनाथ छन् ।

नेपाली इन्जिनियर गुल्ममा जम्मा १ सय ७५ जना सैनिक कार्यरत छन् । बुनियाँमा मुख्य कार्यालय रहेको नेपाली इन्जिनियर गुल्ममा एक सयजना सैनिक कार्यरत छन् भने बोगोरोमा ३० जना तथा माविविमा ४५ जना कार्यरत छन् ।

गुल्मपति प्रसाईंका अनुसार नेपाली इन्जिनियर गुल्मले आफ्नो कार्यमा सामना गर्नुपरेका प्रमुख चुनौतीमा सुरक्षासम्बन्धी विषय, स्थानीय प्रतिकूल मौसम, ढुंगा÷गिट्टीको खानी टाढा हुनु र निर्माण कार्यस्थल तथा कार्य सञ्चालन आधार शिविरबीचको लामो दूरी रहेका छन् । उहाँले एकाध घटनाबाहेक नेपाली इन्जिनियर गुल्मले कार्यक्षेत्रमा विद्रोही लडाकुद्वारा गरिने आक्रमणको सामना गर्नुपरेको छैन ।

तर, कंगोका दुर्गम र द्वन्द्वग्रस्त क्षेत्रमा कार्यक्षेत्र रहेको नेपाली इन्जिनियर गुल्मलाई सुरक्षालगायत उल्लिखित चुनौती विद्यमान छन् । इन्जिनियर गुल्मका सैनिकमाथि निर्माण कार्यक्षेत्रमा लडाकु समूहबाट आक्रमण भइहालेमा पनि उनीहरूलाई प्रतिरक्षात्मक कारबाही गर्ने अधिकार छैन । उनीहरूलाई छुट्टै सैनिक दस्ताले सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ । बुनियाँस्थित नेपाली इन्जिनियर गुल्मको शिविरमा विभिन्न भवन तथा यन्त्रशाला रहेका छन् ।

मुख्य शिविरमा कार्यालय भवन, सैनिक आवासगृह, भान्छाघर र भोजनालय, व्यायामशाला, यन्त्रशाला तथा डोजर, लोडर, स्काभेटर ग्यारेज तथा पार्टपुर्जा भण्डारगृह रहेका छन् । यहाँस्थित विभिन्न यन्त्रको नियमित मर्मतसम्भार गुल्म आफैँले गर्ने गरेको छ । कंगोमा ८ सय ८९ नेपाली सैनिक कार्यरत छन् । यसमध्ये ७ सय १ जना शान्ति सेना गणअन्तर्गत, १ सय ७५ जना इन्जिनियर गुल्मअन्तर्गत र १३ जना सैन्य अधिकारी तथा अवलोकनकर्ता छन् ।

नेपाली शान्ति सेना ०७० साल कात्तिक ५ गते कंगोमा तैनाथ गरिएको हो । हाल कंगोमा ५० देशका शान्ति सेना कार्यरत रहेका छन् । इन्जिनियर गुल्म–२१ लाई बदली गर्न इन्जिनियर गुल्म–२२ को टोली कंगो प्रस्थान गरिसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो अल्जेरियापछिको अफ्रिका महादेशको ११औँ ठूलो देश हो । यसको जनसंख्या ७ करोड ८० लाख रहेको छ ।

यसको उत्तरतर्फ सेन्ट्रल अफ्रिकन रिपब्लिक र दक्षिणी सुडान, पूर्वतर्फ युगान्डा, रुवान्डा, बुरुन्डी र तान्जानिया, दक्षिणतर्फ जाम्बिया, दक्षिण पश्चिमतर्फ अंगोला तथा पश्चिमतर्फ गणतन्त्र कंगो र आन्ध्र महासागर पर्दछन् । खनिज पदार्थमा सम्पन्न कंगो लामो द्वन्द्व र अस्थिरताबाट गुज्रेको मुलुक हो । सन् १९९४ मा रुवान्डामा भएको आमनरसंहारको प्रभावस्वरूप यो देशको पूर्वी भागमा अस्थिरताको सुरुआत भयो ।

तुत्सी जातिबाट शासित रुवान्डाले सन् १९९६ मा पूर्वी कंगोमा आक्रमण गरी नियन्त्रणमा लिएपछि युद्ध भड्केको थियो । त्यस युद्धलाई प्रथम कंगो युद्ध भनिन्छ । त्यसपछि, कंगोमा भएको युद्धलाई दोस्रो कंगो युद्ध भनिन्छ । अफ्रिकाको विश्वयुद्ध नाम दिइएको यो युद्धमा नौवटा देश कंगोको भूमिमा युद्धरत रहेको मानिन्छ ।

सन् २००२ अप्रिलमा भएको सनसिटी सम्झौता, सन् २००२ जुलाईमा प्रिटोरियामा रुवान्डा र कंगोबीच भएको सम्झौता तथा रुवान्डामा भएको युगान्डा र कंगोबीचको सम्झौतापछि अधिकारिक रूपमा युद्धको अन्त्य भयो र सन् २००३ जुलाईमा त्यहाँ संक्रमणकालीन सरकारले सत्ता सम्हाल्यो । पूर्वी कंगोमा शान्ति प्रक्रिया कमजोर अवस्थामा छ ।

यो क्षेत्रमा विभिन्न हतियारधारी जातिय समूह सक्रिय छन् जसका कारण स्थानीय सर्वसाधारण जनता आतंकित छन् तथा यस क्षेत्रमा दिगो शान्ति स्थापना गर्ने कार्यमा अवरोध आएको छ । दोस्रो कंगो युद्धको समाप्तिपछिको शान्ति प्रक्रियालाई अनुगमन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको सुुरक्षा परिषद् प्रस्ताव नं (१२७९ र १२९१) द्वारा स्थापित निकाय हो । यो निकाय सन् २०१० देखि यहाँ कार्यरत छ ।

गुल्ममा कंगोका ‘गोविन्द’ र ‘साइँला’

गुल्ममा कंगोका दुईजना युवा पनि कार्यरत छन् । उनीहरूमध्ये एकको नाम गोविन्द हो भने अर्काको नाम साइँला । कंगोली गोविन्द र साइँलालाई नेपाली भाषा राम्रोसँग बोल्न आउँछ । तपार्इंको घर कता हो भन्ने प्रश्नमा गोविन्दले ठट्यौउली पारामा ‘पोखरा, गोरखा र हेटौंडा’ भन्ने जवाफ दिए । उनलाई नेपाली गीत पनि गाउन आउँछ । एउटा नेपाली गीत सुनाउन अनुरोध गर्दा गोविन्दले ‘सुन साइँली …’ बोलको गीत हुबहु नेपाली लवज र शैलीमा गाएर सुनाएका थिए ।

नेपाली सैनिक जवानसँग विगत ५÷६ वर्षको नियमित उठबस र संगतले यी दुई कंगोली युवामा प्रशस्त नेपालीपन भरिसकेको छ । यतिसम्म कि, उनीहरूको बोलीचाली र अभिव्यक्ति शैलीमा पनि फौजी लवज भेटिन्छ । नेपाली सैन्य जवानजस्तै गोविन्द र साइँला पनि आफ्नो बोलीचालीमा ‘हजुर’, ‘साप’, ‘हस्’ जस्ता शब्दको प्रयोग गर्न र नेपाली भावभंगीमा पोख्त भइसकेका छन् ।

नेपाली इन्जिनियर गुल्मका लागि उनीहरूले कहिलेकाहीँ दोभाषेको रूपमा पनि काम गर्ने गरेका छन् । गुल्ममा सहयोगीका रूपमा कार्यरत गोविन्द र साइँलालाई खानासहित पारिश्रमिक पनि दिने गरिएको छ । नेपाली सैनिकसँगको साथले उनीहरूमा पनि नेपाल भ्रमण गर्ने लालसा पलाएको छ । नेपाल घुम्न कहिले जाने त भन्ने प्रश्नमा हँसिला गोविन्दले भने, ‘मौका मिले भविष्यमा जान्छु होला ।’ (तस्वीर उपलब्ध छ)

sªuf]sf] ljsf; lgdf{0fdf g]kfnL ;]gf
åGåu|:t clk|msL d’n’s k|hftflGqs u0ftGq sªuf]df ljsf; lgdf{0f sfo{df h’6b} g]kfnL ;]gfsf] Ol~hlgo/ u’Nd . tl:a/ M ;f}hGo–g]kfnL ;]gf, /f;;

प्रतिक्रिया