चियामा रातेरोग


झापा, १९ जेठ । चियामा रातेरोग लागेपछि चियाका बोट मर्न थालेका छन् । चियाको बोटमा रातेरोग र अलैंची किरा लागेपछि  बोट मर्न थालेका हुन् । चियामा लाग्ने रातेरोग नियन्त्रणका लागि समयमा औषधि उपलब्ध हुन नसक्दा चियाको डाँठसहित बोटसमेत सखाप हुँदै आएको दमकको हिमालय महालक्ष्मी टी गार्डेनका महाप्रबन्धक कमलकुमार भारतीले बताए ।
समयमै चियाको बोटमा कीटनाशक औषधि, सिंचाइका लागि पानीको सुविधा, मलखाद पर्याप्त नभएपछि चिया उत्पादनमा कमी आउने उनले बताए । उनले भने, आठ महिनासम्म पानी नपर्दा र विद्युत् अनियमित हुँदा उत्पादनमा ह्रास आउने निश्चित छ ।  गार्डेनका  अनुसार पानी पर्न छोडेकाले आठ महिनासम्म सुख्खा भएको, लोडसेडिङ बढेको, इन्धनको मूल्य बढेको, किरा मार्ने केमिकल समयमा उपलब्ध हुन नसक्दा चिया उत्पादनमा समस्या आएको हो ।
पूर्वराजा ज्ञानेन्द्रको स्वामित्वमा रहेको यो चिया बगानमा तीन सय ६४ कामदार छन् । ती कामदारलाई १५ दिनमा मात्र टी गार्डेनले आठ लाख रुपियाँ ज्याला उपलब्ध गराउँदै आएको छ । चियामा वर्षमा दुई पटक मलखादमा मात्र १५ लाख ७४ हजार र विषादीमा २० लाख खर्च हुदै  आएको छ । उत्पादन खर्चको तुलनामा बिक्री मूल्य कम भएको, कर तिर्नुपर्ने र सरकारी सुविधा हुन नसक्दा चिया बगान चलाउन मुस्किल परेको महाप्रबन्धक भारती बताउछन् । ९६ हजार हेक्टर चियाखेती रहेको झापामा बर्सेनि करिब १४ हजार सात सय मेट्रिक टन चियापत्ती उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया