जोखिममा बालबालिका: कहाँ छ राज्य ?

लेखक: लोग्शरी कुँवर

घटना–१: भक्तपुरको अग्नी इँटाभट्टामा सुस्त मनस्थिति भएकी एक किशोरी आठ दिनको अवधिमा फरकफरक व्यक्तिबाट दुईपटक बलात्कृत भइन् । १६ वर्षीया बालिका ०७४ माघ १४ मा दाङको राजपुर गाउँपालिका–२ घर भई सोही भट्टामा काम गर्ने २२ वर्षीय वसन्त नेपालीबाट पहिलोपटक बलात्कृत भइन् ।

घटनाको आठौँ दिनमा अर्थात् २१ माघमा इँटाभट्टामै काम गर्ने सल्यानको कालिमाटी गाउँपालिका–२ का ४२ वर्षीय लालबहादुर विकले दिउँसो कोही नभएको मौका छोपी आफ्नो कोठामा बोलाएर बलात्कार गरे । बलात्कारी तत्काल पक्राउ परे । मुद्दा अदालतमा पुग्यो ।

पीडकलाई १०–१० वर्ष जेल र १०–१० हजार जरिवाना तिराउने फैसला पनि भयो । तर, बलात्कृत किशोरी अझै जोखिममुक्त हुन सकेकी छैनन् । बलात्कृत बालिका दिसापिसाबसमेत कहाँ गर्नुपर्छ भन्ने थाहा पाउँदिनन् । उनी जन्मजात सुस्तः मनस्थितिकी हुन् । उनकी आमा गुजाराका लागि तीन छोराछोरी बोकेर ६ महिना पहिले सल्यानबाट उक्त इँटाभट्टामा पुगेकी थिइन् ।

मजदुरी गरेर गुजारा गर्ने बालिकाकी आमाले छोरीले आगोले पोल्छ र पानीले भिजाउँछ भन्ने कुरासमेत थाहा नपाउने बताइन् । आफू उनको गोठालो बसिरहे हातमुख जोर्न नसकिने हुँदा छोरीलाई एक्लै टहरोमा छोडेका बेला बलात्कृत भएकाले, उनको उद्धार र उपचारमा सहयोग गरिदिने दाताको खोजीमा छिन् ।

घटना–२
६ जना छोराछोरी पाल्न मुस्किल भएपछि ओखलढुंगाका एक दम्पतीले आठ वर्षकी छोरीलाई ओखलढुंगाकै मानेभञ्ज्याङका डगेबहादुर श्रेष्ठको घरमा काम गर्न पठाए । बालिकालाई खान लगाउन दिने, विद्यालय पढाइदिने सर्तमा डगेले जिम्मा लिए । उनले होटलमा खाना पकाउने, खाना खुवाउने, भाँडा धुने, सरसफाइ गर्ने काममा खटाए । तर, बालिका भने विद्यालय पढ्न पाउनु त परैको कुरा पेटभर खाना पनि पाउँदिनथिन् ।

बालिकाले तीन वर्षसम्म होटलमा काम गरिन् । तीन वर्षपछि होटल बन्द भयो । डगेले फेरि घरको काममा लगाए । घरमा पनि घरको सरसफाइ गर्ने, लुगा कपडा, जुठा भाँडा माझ्ने काम गरिन् । १४ वर्षको उमेरमा डगेको घरमा गाडी चलाउने ड्राइभरले एक दिन राती नौ बजेको समयमा भान्छामा खाना पस्केर दिने क्रममा बालिकालाई बलात्कार गर्यो । चिच्याएको खण्डमा र अरूलाई भनेको खण्डमा मारिदिने धम्की दियो ।

उनले ज्यान जाने डरले कसैसँग मुख खोलिनन् । बलात्कारका कारण गर्भ बस्यो । उनले त्यो कुराको हेक्कासमेत पाइनन् । महिनावारी रोकिएर पेट बढ्दै जाँदा आफैँ अचम्ममा परिन् । नौ महिनामा पेट ठूलो देखिएपछि सबैले थाहा पाए । बल्ल उनले घटनाबारे मुख खोलिन् । डगेले आफ्नो संरक्षणमा रहेकी बालिकालाई ड्राइभरको घरमा लगेर छोडिदिए ।

उनको घरमा पनि पत्नी छोराछोरी रहेछन् । गाउँका मान्छे जम्मा भएर उसैको जिम्मा लगाइदिने निर्णय गरे । तर, बालिकालाई त्यो कुरा मञ्जुर थिएन । उनी भोलिपल्टै त्यहाँबाट भागिन् । अहिले उनी १६ वर्षकी भइन् । राजधानीकै एक पुनःस्थापना गृहमा १५ महिनाको छोराको साथमा आश्रय लिइरहेकी छिन् । बलात्कारी भने अझैँ पक्राउ पर्न सकेको छैन ।

घटना–३
धादिङका एक बालकले १० वर्षकै उमेरमा घर छोडेर बसमा खलासीको काम गर्न थाले । पढाइमा दख्खल उनी काठमाडौंकै एक निजी विद्यालयमा छात्रवृत्तिमा पढ्थे । ७ कक्षामा घर छोडेका उनलाई बुबाआमाले घर फर्काउन निकै कसरत गरे । उनकै लागि गाउँमा पसल थापिदिए । उनले भनेका सबै कुरा माने । अथाह माया गरे ।

तैपनि उनी घरमा बसेनन् । जतिपटक घर फर्काए पनि उनी भागेर हिँड्न थाले । परीक्षाको बेला बालकका अभिभावकले ठाउँठाउँ पुगेर उनलाई घर फर्काएर ल्याउँथे । यसपटकको एसइई परीक्षामा त बालककी आमाले परीक्षा हलको ढोकामै पहरा दिएर सबै विषयको परीक्षा दिन लगाइन् । बालक यतिवेला पनि घरमा बस्दैनन् ।

उनी १६ वर्ष पनि पुगेका छैनन् । चुरोट, मदिरालगायत नशालु पदार्थ सेवन गर्छन् । जीवन मोजमस्ती त हो, भन्दै आफूलाई घरमा बस्न मन नलाग्ने बताउँछन् । अभिभावकले जति करकाप र माया देखाए पनि उनी अभिभावकको कुरा मान्न तयार छैनन् । घर फर्किन र लेखपढ गर्न तयार छैनन् ।

घटना–४
पाँच वर्षअघि धनगढीका ११ र १२ वर्षका दुई बालक भागेर भारत पुगे । मामा फुपूका छोरा उनीहरू भारतमै मजदुरी गर्ने र पैसा कमाउने चाहनामा आफूसँग भएको साइकल र अभिभावकको पैसा चोरेर भारत पुगेका थिए । तर, भारत पुगेर आफ्नै दाइको सम्पर्कमा पुगेका उनीहरूलाई घर छोडेको हप्ता दिनमै अभिभावकले नेपाल फर्काए ।

पढ्न मन नलाग्ने भएपछि पैसा कमाएर जीवन बिताउने सोचले घर छोडेका उनीहरू नेपाल आएको धेरै दिनसम्म त लाजका कारण विद्यालय नै जान मानेनन् । तर, उनीहरूले घर छोडेको कुरा कसैलाई पनि थाहा नभएको अभिभावकले आश्वासन दिएपछि मात्रै उनीहरू विद्यालय गए । अहिले उनीहरू ११ र १२ कक्षामा पढ्दै छन् ।

जोखिममा बालबालिका
रहर, बाध्यता वा सिको गरेर बालबालिका एक ठाउँबाट अर्को ठाउँमा किन जान्छन् ? भन्ने प्रश्नको ठ्याक्कै उत्तर छैन । नेपालमा आर्थिक उपार्जनको उद्देश्यले एक्लै वा अभिभावकसँग एक ठाउँबाट अर्को ठाउँमा जाने बालबालिका निकै जोखिममा छन्।

बढ्दो सहरीकरण, गाउँका बालबालिकाको सहर जाने र सहरका बालबालिकाको राजधानी जाने रहर, बालबालिकाहरूप्रति समाज र परिवारको संवेदनशीलताको कमी तथा शैक्षिक एवं आर्थिक अवसरको कमीका कारण बालबालिकाको आवागमन र स्थानान्तरण बढ्दो क्रममा रहेको बताउँछिन्, बालबालिकाको अधिकारका लागि क्रियाशील संस्था साथसाथकी कविता शाह ।

एक्लै वा अभिभावकसँग यात्रामा रहेका बालबालिकाहरूको अधिकार संरक्षणका लागि सन् २०१५ मा सुरु अभियान (DU COM Campaign) का अध्यक्ष मिलन धरेलका अनुसार नेपालमा करिब ११ लाख बालबालिका घर परिवारभन्दा बाहिर छन् । गाउँबाट सहर पस्ने बालबालिका फर्केर गाउँ जाने र अन्य साथीहरूलाई पनि सहरमा भोगेको पीडा भन्दा मोज मस्तीको जीवनशैली बारे प्रशंसा गर्नाले अन्य बालबालिका पनि घर छोड्न हौसिन्छन् ।

नेपालमा ६२ प्रतिशत नागरिकले बसाइँसराइ गर्ने गरेको बताउँदै धरेल भन्छन्, ‘बसाइँसराइलाई रोक्न सकिँदैन। तर, व्यवस्थित पनि गर्न सकिएन भने जोखिममा पर्ने बालबालिकाको संख्या दिनानुदिन बढ्नेछ ।’ अधिकांश बालबालिकाहरू आफ्नै रहर वा अरूको उक्साहटमा यात्रा तय गर्ने हुनाले यात्रामा आइपर्ने समस्या समाधानका लागि सहायता केन्द्रको व्यवस्था हुन जरुरी रहेको पनि धरेल बताउँछन् ।

राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०११ का अनुसार १५ वर्ष भन्दा कम उमेरका झन्डै ११ प्रतिशत बालबालिका (बालक १३ दशमलव ८ प्रतिशत र बालिका ८ दशमलव ३ प्रतिशत) परिवारभन्दा बाहिर छन् । ५८ प्रतिशत बालबालिका पारिवारिक कारण र ३० प्रतिशत अध्ययनका कारण एक स्थानबाट अर्को स्थानमा जान्छन् । यस्तै गरिबभन्दा धनी बालबालिकामा आप्रवासनको समस्या बढी छ ।

३ दशमलव २ प्रतिशत गरिब बालबालिका र २८ प्रतिशत धनी बालबालिका आप्रवासनमा देखिएकोले गरिबीले मात्रै घर छोड्ने कारण होइन भन्ने प्रष्ट्याउँछ । सहरी वातावरण तथा व्यवस्थापन समाजका फिल्ड संयोजक निर्मला केसी नेपालका १ हजार २ सय ९४ इँटाभट्टामा कार्यरत दुई लाख कामदारमध्ये ३२ हजार बाल मजदुर रहेको बताउँछिन् ।

विशेष गरेर राजधानी नजिकका जिल्लाबाट बालबालिका राजधानीका इँटाभट्टामा आउने र त्यहाँबाट वैदेशिक रोजगारीमा जाने गरेको केसीको भनाइ छ । यसरी वैदेशिक रोजगारीमा जाने बालबालिकाहरूले उमेर बढाएर नागरिकता र पासपोर्ट बनाउने गरेको पनि केसी बताउँछिन् ।

‘जसको कोही हुँदैन, उसको राज्य हुनुपर्छ’, केसी भन्छिन्, ‘आफ्नै वा अरूको कारण घर छोड्ने र घर नहुने बालबालिकाले कानुनी पहिचान, स्वास्थ्य, शिक्षा तथा खेलकुद र अन्य कानुनी संरक्षण मात्र नभएर राज्यको तहबाट पाउनुपर्ने अति आवश्यक सेवा सुविधा पाउनुपर्छ ।’

साथसाथकी कविता शाह भन्छिन्, ‘यात्रामा रहेका बालबालिकाहरू किन, कोसँग, के का लागि र कसरी यात्रा गरिरहेका छन् ? भन्ने विषयमा राज्यको अनुगमन, निरीक्षण र सूचना प्रदान गर्ने संयन्त्रगत र नीतिगत व्यवस्थाहरू हुनुपर्छ ।’ अन्यथा यात्रामा रहेका बालबालिकाको भविष्यमाथि सरकार र अन्य सरोकारवालाले बेवास्ता गरेको सावित प्रायःजस्तै हुनेमा कसैको दुई मत नहोला ।

प्रतिक्रिया