नयाँ शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम

-किरण बुढाथोकी   भक्तपुर । नयाँ शैक्षिक सत्रदेखि भक्तपुरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी सुरु भएको छ । स्थानीय तहलाई प्राप्त अधिकारको प्रत्यायोजन गर्न जनप्रतिनिधिले गृहकार्यलाई तीव्र पारेका छन् । पाठ्यक्रममा भक्तपुरको ऐतिहासिक कला, संस्कृति र परम्परा तथा संस्कार झल्किने सामग्री समेटिनेछ । नगरका विद्यालयमा नयाँ पाठ्यक्रम बनाउँन भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रका जानकार तथा विज्ञसँग छलफललाई तीव्र पारेको छ । अहिले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकबीचको छलफललाई बढी जोड दिइएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

जनताबाट सिकेर जनताकै सेवा गर्ने नीतिअनुरुप नगरपालिकाका जनप्रतिनिधि स्थानीय पाठ्यक्रम निर्माणमा लागिपरेको प्रजापतिले बताए । स्थानीय सरकार सञ्चालन ऐन ०७४ लागू भएदेखि नै भक्तपुरको स्थानीय इतिहास, कला संस्कृति, सम्पदा र यहाँका मौलिक उत्पादनहरूको विषयमा नयाँ पुस्तालाई प्राज्ञिक जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । सरोकारवाला निकायसँगको छलफलपछि पाठ्यक्रम बनाउन पाँच सदस्यीय कार्यदल बनाएर काम अघि बढाइएको प्रजापतिले बताए । नगरपालिकाले ७ वटा शैक्षिक संस्था तथा ३ वटा जनस्वास्थ्य केन्द्रहरू संचालन गरेर देशकै लागि दिशानिर्देश गरिरहेको भन्दै प्रजापतिले सबैको सामूहिक प्रयास र प्रतिवद्धताबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरेर सबै नगरपालिकाको लागि भक्तपुर उदाहरणीय बन्न लागिपरेको बताए ।

पाठ्यक्रम निर्माण गर्न गठित कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले संघीय सरकारले तय गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यविधि र निर्देशिकाअनुसार आवश्यकता पहिचान, नीतिगत निर्णयअनुसार पाठ्यक्रम बनाइने बताए । पाठ्यक्रमका लागि समितिले पनि सरोकारवाला सबै निकायसँग छलफल गर्ने उनले सुुनाए । भक्तपुर नगरपालिकाले विद्यमान व्यवस्थाअनुसार कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्न सक्ने भएपनि अहिले कक्षा १ देखि ६ सम्ममात्र लागू गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया