समस्या झेल्दै सेती अञ्चल अस्पताल

-कैलाश जोशी   सुदूरपश्चिमको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले लामो समयदेखि समस्या झेल्दै आएको छ । प्रदेश–७ अर्थात सुदूरपश्चिमको एक प्रमुख अस्पतालका रूपमा रहेको अस्पतालमा समस्या हुँदा यसमा न त सरकारको ध्यान गएको छ न त कुनै जनप्रतिनिधिको नै । बिडम्बना नै भन्नुपर्छ बिरामी उपचार गर्ने अस्पताल आफैँ बिरामी छ । किनभने न त अस्पतालमा उत्पादन हुने फोहोर व्यवस्थापन गर्न सकेको छ न त कर्मचारी नै । प्रदेश–७ का नौ जिल्लाका मानिसको औषधिउपचार गर्न आउने अस्पतालमा पुगेका बिरामीहरूले उपचार नपाउँदा दुःखभोग्न परेको तीतो यथार्थ पटकपटक बाहिर आउने गरेको छ ।

अस्पतालका समस्या लिएर विभिन्न सञ्चार माध्यममा दैनिकजसो समाचार आउने गरेका छन् । आज ती समस्या केबल समाचार मात्रै बन्ने गरेका छन् । अस्पतालमा कार्यरत हरेक डाक्टहरूका आफ्ना निजी क्लिनिक सञ्चालन गरेका छन् । डाक्टरहरू अस्पतालभन्दा पनि आफ्ना निजी क्लिनिकमा बढी समय दिने गरेका छन् । डाक्टरहरूले सेवामुखी पेसालाई पैसा कमाउने थलो बनाएका छन् । बिहान १० बजे अस्पतालमा पुग्नुपर्ने कर्मचारी १२ बजेसम्म पनि पुगेका हुँदैनन् ।

निजी क्लिनिकहरूले घिरिएको अस्पतालका चिकित्सक बिरामीका समस्या सल्टाउनभन्दा पनि आफ्नो गोजी भर्नमा बढी समय दिने गरेका छन् । निजी क्लिनिकमा उपचार गर्ने नाममा चर्को शुल्क लिएर उपचार गर्ने चिकित्सकको बानी परेको छ । अझ कतिपय ती क्लिनिकहरू त कानुनी रूपमा अक्षम छन् । अस्पताल वरिपरि रहेका धेरैजसो क्लिनिकहरूमा नाम एउटाको तर सञ्चालन अर्को व्यक्तिले गर्दै आएका छन् । यस्ता समस्यालाई समाधान गर्ने निकायलाई पटकपटक सञ्चार माध्यममा प्रकाशित तथा प्रसारण भए पनि सरोकारवाला निकायको बेवास्ता हुने गरेको छ ।
सरकारको प्रयासमा सञ्चालन आएको फार्मेसी सेवामा सबै प्रकारका औषधि पाइँदैनन् । दैनिकजसो उपचार गर्ने आउने बिरामी अस्पतालको उपचार शैलीमा सन्तुष्ट देखिँदैनन् । राजनीति खिचातानीले गर्दा अस्पतालको नेतृत्व लिने व्यक्तिहरू पटकपटक परिर्वतन भए । तर, समस्या जस्ताका त्यस्तै । यसले गर्दा अस्पताल धेरैजना व्यक्तिहरूको जागिर गर्ने थलोबाहेक अरू केही बन्न सकेको छैन । भनिन्छ नि अस्पतालमा पुगेपछि चिकित्सकको बोली बेहोराले गर्दा नै बिरामीको समस्या ८० प्रतिशत आफैँ ठीक हुन्छ ।

तर, सेती अञ्चल अस्पतालमा त्यस्तो हुन सकेको छैन । अस्पतालमा आउने बिरामी आफैँ अलमलमा पर्ने अवस्था सिर्जना हुन्छ । अस्पतालले एउटा व्यवस्थित सोधपुछ गर्ने कक्षको पनि व्यवस्थापन गर्न सकेको छैन । उपचार गर्न आएका बिरामीहरूले के गर्ने भन्ने पुग्ने बित्तिकै समस्या झेल्नुपर्ने बाध्यता रहेको छ । यस्ता ससाना समस्याहरू पनि अस्पताल प्रशासनले सल्टाउन सकेको पाइँदैन । सबैभन्दा समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन कार्यलाई अस्पताल प्रशासनले अस्पताल परिसरभित्रै थन्क्याउने गरेको छ ।

यसले गर्दा एकतर्फ अस्पतालको शोभा बिग्रिएको छ भने अर्कोतर्फ रोगहरूको संक्रमण फैलिरहेको छ । जसले गर्दा स्वस्थ रूपमा आएका व्यक्ति पनि अस्पताल पुगेपछि बिरामी भएर जाने अवस्था सिर्जना भएको छ । सबैभन्दा खतारायुक्त फोहोर उत्पादन हुने अस्पतालमा फोहोर व्यवस्थापन गर्न नसक्नु आफैँमा लज्जास्पद कुरा भएको छ । यसका लागि प्रशासनले न त आफैँ पहल गरेको देखिन्छ न त कुनै निकायसँग समन्वय गरेको पाइन्छ । अस्पतालभित्र छिर्दा नाक थुन्ने अवस्था सिर्जना हुँदा पनि कसैको ध्यान त्यहाँसम्म पुग्दैन ।

अस्पताल सरसफाइका लागि आवश्यक पर्ने सामग्रीसमेत उपलब्ध नगराउने गुनासो अस्पतालका तल्लोतहका कर्मचारी नै गर्छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको दरबन्दी पूरा गर्न त परको कुरा हो केवल अस्पताल प्रशासनको प्रयासले हुने प्रक्रिया नै अगाडि सारेको पाइँदैन । अस्पतामा उपचार गर्न पुग्ने कर्मचारीहरू आफ्नो परिचय दिन नै हिचकिचाउँछन । चिकित्सकजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिले आफ्नो परिचय सबैले देख्ने गरी लगाउनुपर्ने हो ।

तर, यसमा कसैको ध्यान पुगेको पाइँदैन । विकसित सहरमा चिकित्सकहरू आफ्नो पोसाकमा सजिएर रहेका हुन्छन् । तर, सेती अञ्चल अस्पतालमा चिकित्सक चिन्नका लागि सोध्दै जानुपर्ने बाध्यता रहेका छ । यस्ता ससाना समस्याहरूमा पनि प्रशासनको ध्यान कहिले पुग्ने होला । आफूलाई समस्या पर्दा आन्दोलन गर्न पछि नपर्ने चिकित्सकहरू बिरामीहरूका पक्षमा कहिले पनि गम्भीर भएनन् ।

सरकारले अनुभवी चिकित्सहरू पठाए पनि अस्पतालमा विभिन्न शैक्षिक संस्थाबाट प्राक्टिकल (अभ्यास) गर्न आउने विद्यार्थीहरूको जिम्मामा लगाएर जान्छन् । जसले गर्दा अस्पताल प्राक्टिकल गर्ने स्थल भएको छ । यसले गर्दा बिरामीहरूले थप समस्या भोग्नुपरेको छ । यस्ता समस्यामा अस्पताल प्रशासन गम्भीर बन्न जरुरी भएको छ । चिनजानको व्यक्ति भएमा छिटोछरितो तरिकाले उपचार हुने, तर छैन भने बिरामीलाई वास्ता हुँदैन । स्वास्थ्य उपचार गर्न पहुँच भए बिरामीहरूको रेखदेख सबै हुने तर कोही नभए बिरामीले समस्या झेल्नुपर्ने परिपाटीको अब अन्त्य हुन आवश्यक छ ।

अञ्चल अस्पतालमा १०औँ तहका कार्डियोलोजिस्टको दरबन्दी रिक्त छन् । त्यसबाहेक अरू १२ जना विषेशज्ञ चिकित्कसको दरबन्दी पनि खाली छन् । ११औँ तहका वरिष्ठ फिजिसियनदेखि बालरोग, वरिष्ठ गाइनोक्लोजिस्ट, वरिष्ठ प्याथोलोजिस्ट, इएनटी, सायक्याट्रिक्ट (मानसिक रोग विषेशज्ञ), मुटुरोग विषेशज्ञ र डेन्टल सर्जनलगायत नवौँ र १०औँ तहका १३ जना चिकित्सकको दरबन्दी खाली छ । अझ तीन जना मेडिकल अधिकृतको दरबन्दी पनि खाली छ । मेडिकल अधिकृत गरी ३१ जनाको दरबन्दीमा १६ जनाको दरबन्दी रिक्त छ ।

सुदूरपश्चिमको २८ लाख जनसंख्याका लागि भरोसा मानिएको सेती अञ्चल अस्पताल ४० वर्ष अघिको दरबन्दीमै पनि चिकित्सकहरू नहुँदा समस्या हुने गरेको छ’ । सेती अञ्चल अस्पताल स्थापना भएको २०३३ सालमा हो । अहिले पनि सेती अञ्चल अस्पतालको शय्या संख्या ५० हो । व्यवस्थापन समितिले ७५ शय्या थपेर अहिले त्यो अस्पताल १ सय २५ शय्यामा चलिरहेको छ । सेती अञ्चल अस्पतालमा चार वटा डायलासिस मेसिन छन् भने चार शय्याको सघन उपचार कक्ष (आइसियु) पनि छ ।

सुदूरपश्चिमको प्रमुख सहर मानिएको धनगढीमा जनसंख्या बढ्दै गए पनि त्यो अनुसारको स्वास्थ्य सुविधा नहुँदा जनताले नराम्रो गरी समस्या पाउने गरेका छन् । यहाँ नजिक गतिलो अस्पताल नहुँदा बिरामीहरूले भारत गएर महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । यस क्षेत्रबाट धेरै व्यक्तिहरू मुलुका मन्त्री, प्रधानमन्त्री पदसम्म पुगे । तर, सेती अञ्चल अस्पतालका समस्या कहिले टरेनन् । समस्या केवल नेताका भाषण र सञ्चार माध्यमका लागि समाचार मात्रै भन्ने गरेका छन् ।
राज्यका उच्च निकायमा बसेका व्यक्तिहरू पटकपटक अस्पतालको स्तरोन्नति गर्ने आश्वासन दिए पनि ती आश्वासन केवल आश्वासनमा नै सीमित हुने गरेका छन् । अझ रमाइलो कुरा त के छ भने गएको मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका वेला अस्पताल स्तरोन्नति गर्न मुद्दा सबैजसो उम्मेदवारले उठाए । यसरी निर्वाचनका वेला सक्ने नसक्ने विकासे आश्वासन दिने नेताहरू आफ्नो स्वार्थ पूरा भएपछि त्यहाँको समस्यालाई सोच्नसम्म फुर्सद पाउँदैनन् । मुलुक संघीयतामा गएको छ । विकास बजेट स्थानीय तहमा गएको छ । यसलाई परिचालन गर्ने निकाय अब बलियो हुन आवश्यक छ ।

अञ्चल अस्पतालसँग सरोकार राख्ने निकाय जहिले पनि मौन बस्ने गरेका छन् । अञ्चल अस्पतालका समस्या बारेमा कहिले ती निकायलाई बोल्न फुर्सद मिलेन । मानवलाई यसअघिका १० वर्ष मुलुकमा स्थानीय जनप्रतिनिधिहरू नहुँदा समस्या भएको भनेर सबै पञ्छिए । तर, पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरू आएका सात महिना पुग्दासमेत यस्ता गम्भीर समस्यामा सोच्न जनप्रतिनिधिलाई अहिलेसम्म फुर्सद पाएका छैनन् ।
राज्यले पछाडि पारिएको भनिएको सुदूरपश्चिम जहिले पनि स्वास्थ्य उपचार गर्न जनताले ठूलो रकम तिरेर उपचार गर्नुपर्ने बाध्यता भएको छ । सम्पन्न परिवारले अन्य ठाउँमा पुगेर उपचार गरे पनि विपन्न परिवारले समयमा उपचार नपाउँदा धेरैले अकालमा नै ज्यान गुमाउनुपर्ने यहाँका नियतजस्तै भएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा रहेका अस्पताल, स्वास्थ्यचौकीले सेती अञ्चल अस्पतालमा रिफर गर्ने अनि सेतीले यहाँ विशेषज्ञ डाक्टर र मेसिन छैन भन्दै अन्य ठाउँमा रिफर गर्ने गरेको छ । राज्यले स्वास्थ्य क्षेत्रमा बर्सेनि करोडौँ रुपैयाँ लगानी गरे पनि यहाँका जनताले अझै सहज रूपमा उपचार पाउन सकेका छैनन् ।
समस्या हरेक कार्यालय निकायमा हुन्छ तर ती समस्या कति समाधान गर्न सकिने हुन्छन् त कति नसकिने । समस्या सल्टाउने प्रयास भएमा त्यसले एक दिन सार्थकता पनि अवश्य पाउँछ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा किन गम्भीर भएन भन्ने प्रश्न हो ? यसरी सेती अञ्चल अस्पतालको व्यवस्थापन पक्ष परिर्वतन गर्ने तर समस्या सल्टाउन नसोच्ने हो भने समस्याले कहिले अन्त्य हुने छैन । यस्ता समस्या सल्टाउन सम्पूर्ण निकायको ध्यान पुगोस् ।

 

प्रतिक्रिया