वसिंगटन । एउटा रुसी लडाकु विमान ‘ब्ल्याक सी’ अमेरिकी जासुसी विमानदेखि अति नजिकबाट उँडेको छ । एसयु–२७ लडाकु विमान र इपी–३ जासुसी विमान मात्र डेढ मिटरको दुरीमा उँडेका हुन् । अमेरिकी नौसेनाका अनुसार रुसी विमानले अमेरिकी विमानलाई दुई घण्टासम्म पछ्याएको थियो । अन्तर्राष्ट्रिय आकाशमा उक्त घटना भएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आकाशको प्रयोगसम्बन्धी नीतिअनुसार नै आफ्ना गतिविधि भएको जनाएको छ ।
रुसी र उत्तर–एट्लान्टिक सन्धि संगठन (नेटो) गठबन्धन दुवैले साझा आकाशको प्रयोग गर्दै आएका छन् । यद्यपि, सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि तनाव बढेको छ । अमेरिकी नौसेनाले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो देशको जासुसी विमानको मार्गमा रुसी लडाकु विमान प्रवेश गरेको जनाएको छ । उसले ‘रुसी सेनालाई अन्तर्राष्ट्रिय आकाशमा गतिविधि सञ्चालन गर्ने अधिकार भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुरक्षा सुनिश्चितता र दुर्घटना हुन नदिने काम गर्नुपर्ने भन्दै सचेत गराएको छ ।
अर्कोतर्फ रुसी रक्षा मन्त्रालयले ‘आफ्नो विमानको उडान मार्ग आकाश प्रयोग गर्न पाइने अन्तर्राष्ट्रिय नीतिअनुरूप भएको’ जनाएको छ । उसले आफ्ना पाइलटहरूको व्यवहार कुनै तरिकाले पनि ‘मापदण्डविपरीत’ नभएको र उनीहरूका गतिविधि ‘रुसी आकाशमा प्रवेश गर्ने अमेरिकी प्रयासलाई रोक्ने भएको’ जनाएको छ । रुसी सरकारले भनेको छ, अमेरिकी विमान रुसको सिमानादेखि टाढा गएपछि आफ्नो लडाकु विमान फर्केको थियो ।
प्रतिक्रिया